• २५ असार २०८२, बुधबार

मधेशमा २५ प्रतिशत मात्रै रोपाइँ

blog

गौशाला ९ भरतपुरमा सुक्दै गएको धान । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असार २५ गते । वर्षा नहुँदा मधेश प्रदेशमा खडेरीको समस्या बढ्दै गएको छ । मौसम विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने जनाएको थियो । तथापि असार तेश्रो साता बित्न लाग्दासमेत मधेशमा मनसुनको प्रवेश भएको छैन । खुला आकाश, चर्को घाम र उखरमाउलो गर्मीले तत्कालै पानी पर्र्ने सम्भावना पनि देखिँदैन । 

वर्षा अभावले मधेशका ७५ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । बोरिङको सिँचाइले रोपिएका धान पनि चिस्यान अभावले पिल्सिदै गएका छन् । धानका ब्याड पहेँलिएका छन् । 

खडेरीले मधेशको उत्तरी भेगदेखि दक्षिणी मैदानसम्म आक्रान्त पारेको छ । सिमावर्ती गाउँपालिका समसी १ पर्सादेवाडका वडाध्यक्ष विपिन यादवले आफ्नो क्षेत्रमा ५ प्रतिशत पनि रोपाइँ नभएको बताउनुभयो । जसले बोरिङबाट रोपेका छन् तीे पनि मर्न लागेका छन् । उहाँले भन्नुभयो, ‘गत वर्ष मैले यो बेलासम्म आफनो २ विग्हा खेतमा रोपाइँ सकेको थिएँ । यसपाला साउन आउन लागिसक्दा पनि खेत वाँझै छन् ।’

मधेश प्रदेश कृषि निर्देशनालयका अनुसार मधेशमा अहिलेसम्म ५० प्रतिसतजति रोपाइँ भइसक्नु पर्ने थियो । निर्देशनालयका बालि संरक्षण अधिकृत सुदीप चौधरीले असार तेश्रो सतासम्म रोपाइँ भने २५ प्रतिशत मात्र भएको जनाउनुभयो । 

सबैभन्दा बढी पर्सा जिल्लामा ६२ प्रतिसत र सबैभन्दा कम महोत्तरीमा ९.४१ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै रौतहटमा ४०, सर्लाहीमा ३०, सिरहामा २५, बारामा २१.७ र सप्तरीमा १० प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो । 

चौधरीले भन्नुभयो, ‘मधेश प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टर धान खेत छन् । समयमै पानी परेको भए अहिलेसम्म ५० प्रतिशत बढी रोपाइँ भइसक्नु पर्ने थियो । समग्रमा २५ प्रतिशत अर्थात त्रियान्नवे हजार १६१.२५ हेक्टरमा मात्र रोपाइँ भएको छ ।’

गौशाला १० भरतपुरखोरका किसान दिनेश महतोका अनुसार मनसुन आउने आसमा पम्प, बोरिङबाट रोपेको रोपो पनि पानी नपर्दा मर्ने अवस्थामा पुगेका छन् । 

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले पानी नपर्दा नदीनालासमेत सुक्ने अवस्थामा पगेका छन् । नहर कुलोमा प्रयाप्त पानी बग्न छाडेको छ । भू–जल स्तर तल झरेको छ । बोरिङबाट पनि प्रयाप्त पानी नआउदा महोत्तरीमा धान रोपाइँले गति लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धान खेतीको प्रमुख आधार नै मनसुन हो । मनुसुन अनुकूल नभएसम्म यो समस्या समाधानको अर्को विकल्प देखिएको छैन ।’