काठमाडौँ, माघ १२ गते। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश सभाका संस्थापक सभामुख एवम् रुकुम पूर्वका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले संघीयता अहिलेको आवश्यकता भएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्दै उहाँले प्रदेशसभामा प्रतिनिधित्व नगरेका केही दलले यसको विरोध गरे पनि संघीयता अहिलेको आवश्यकता भएको बताउनुभएको हो।
पूर्णबहादुर घर्तीको जन्म २०२४ साल माघ ६ गते रुकुम जिल्लाको साविक चुन्वांग गाविस ६ लखरखोलामा भएको हो। हाल उक्त क्षेत्र रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर ९ मा पर्छ। आमा जयकली घर्ती र बुवा वीरबहादुका छोरा पूर्णबहादुरको घर नै राजनीतिको एउटा पाठशाला थियो। उहाँका बुवा वीरबहादुरले ब्रिटिस सेनाबाट अवकास लिएपछि लामो समय पञ्चायतको राजनीति गर्नुभयो। उहाँ चुन्वांग गाविसको वडा अध्यक्ष बनेर दुई दशकसम्म काम गर्नुभयो।
पूर्णबहादुरले औपचारिक शिक्षा स्थानीय विद्यालयबाटै लिनुभयो। नेपाल राष्ट्रिय निमावि, चुन्वांगमा औपचारिक शिक्षा लिनुभएका उहाँले रुक्मीनी मावि, रुकुमकोटबाट मावि तहसम्मको अध्ययन गर्नुभयो। २०४४ सालमा भारतको विरहार राज्यको पटना बोर्ड अन्तर्गत मधुवनी जिल्लाको एकहरीको डा. रामनारायण संस्कृत विश्वविद्यालयबाट संस्कृत विषयमा माध्यामिक तह उर्तिण गर्नुभयो। पूर्णबहादुरले नेपाल फर्किएर उच्च शिक्षाका लागि रुकुमको मुसिकोटस्थित खलंगा क्याम्पसमा भर्ना भए पनि अध्ययनलाई निरन्तरता दिन सक्नु भएन। औपचारिक शिक्षाबाहेक उहाँले मार्क्सवाद, मार्क्सवादी सौन्दर्यशास्त्र र राजनीतिकशास्त्रलाई स्वअध्यनका रुपमा अगाडि बढाउनुभयो। अध्ययनकै क्रममा उहाँले २०४१ सालदेखि २०४५ सालसम्म रोल्पाको तातोपानी पाछावाङ्गको तातापानी प्राविमा अध्यापन गर्नुभयो।
नेता घर्तीले २०४१ सालमा नेकपा (मशाल)को पार्टी सदस्यता लिएर राजनीति सुरु गर्नुभएको हो। २०४६ सालमा अनेरास्ववियु रुकुमको नवौं जिल्ला सम्मेलनबाट अध्यक्ष निर्वाचित भएपछि उहाँ पूर्णकालीन रुपमा राजनीतिमा सक्रिय हुनुभयो। २०४७ सालमा मशालको चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बन्नुभएका घर्ती २०४८ सालमा तत्कालीन नेकपा (मशाल)को जिल्ला कमिटी सदस्य निर्वाचित हुनुभयो। सोही वर्ष सम्पन्न मशालको एकता जिल्ला सम्मेलनबाट उहाँ एकता महाधिवेशन प्रतिनिधि छनोट हुनुभएको हो।
२०४८ मा संयुक्त जनमोर्चा रूकुमको सचिव बन्नुभएका घर्ती २०५४ देखि २०५७ सम्म नेकपा(माओवादी) रुकुम जिल्लाको सेक्रेटरी बन्नुभयो। २०५७ मा सम्पन्न नेकपा(माओवादी)को दोश्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित उहाँ २०५७ देखि २०५८ सम्म माओवादीको म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज बनेर नेतृत्व सम्हाल्नुभयो। २०५८ देखि २०६० सालसम्म (माओवादी)को भेरी कर्णाली क्षेत्रीय ब्यूरो अन्तर्गत डोल्पा, जाजरकोट, दैलेख र सुर्खेतको पार्टी इन्चार्ज बनेर उहाँले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभयो। घर्तीले २०६६ देखी २०६९ सालसम्म एकीकृत नेकपा(माओवादी) पार्टीको मगराँत राज्य समितिको सेक्रेटरीको जिम्मेवारी पाउनुभयो भने २०६९ असारदेखि २०७० सम्म एकीकृत नेकपा(माओवादी)को थारुवान राज्यको इन्चार्ज बनेर काम गर्नुभयो। २०७१ देखि २०७२ सम्म नेकपा(क्रान्तिकारी माओवादी)को पश्चिम मगराँत इन्चार्ज बन्नुभएका घर्ती २०७३ को पार्टी एकीकरणपछि नेकपा(माओवादी केन्द्र) पार्टीको केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं. ५ (लुम्बिनी) संयोजक बनेर काम गर्नुभयो।
नेता घर्ती शैक्षिक राजनीतिकसँगै कला, साहित्य र संगीत क्षेत्रमासमेत रुचि राख्नुहुन्छ। उहाँले २०४७ देखि २०५१ सम्म प्रतिभा सांस्कृतिक परिवार, सिस्ने सांस्कृति समूह हुँदै रुकुम जिल्ला र राप्ती क्षेत्रीय सांस्कृति अभियानको नेतृत्व गर्नुभयो। २०४७ सालदेखि २०६४ सालसम्म अखिल नेपाल जनसांस्कृति संघको केन्द्रीय समितिमा रहेर उहाँले राप्ति क्षेत्रको सांस्कृतिक अभियानको जिम्मेवारी लिनुभयो भने २०४८ सालमा डोमोक्रेयाटिक कल्चरल फोरम पश्चिम अभियानको उपाध्यक्ष भएर काम गर्नुभयो। २०५८ देखि २०६० सालसम्म तत्कालीन माओवादीको केन्द्रीय सांस्कृतिक टोली ‘सामना परिवार’को संयोजक बन्नुभएका घर्ती पार्टीको केन्द्रीय श्रव्य दृश्य विभाग प्रमुख एवम् केन्द्रीय सांस्कृतिक विभाग सदस्य बन्नुभयो। शिक्षण अनुभवसँगै उहाँसँग माओवादी युद्धकोक्रममा रुकुम जिल्ला जनसरकार प्रमुख, मगराँत राज्य समिति संयोजकसँगै २०६५ मङ्सिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष भएर काम गरेको अनुभवसमेत छ।
विद्यार्थी र शिक्षक जीवनमा राजनीतिप्रति चासो राख्ने घर्ती पञ्चायत विरोधी गतिविधिदेखि नै आन्दोलनमा सक्रिय हुनुहुन्छ। उहाँ २०४५ पुस २६ गते रोल्पा लिवाङ्गमा पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ५२ दिन हिरासतमा कष्टकर दैनिकी भोग्दै बस्नु परेको थियो। २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रूकुम भ्रमणविरूद्ध प्रदर्शन गर्दा तीन दिन प्रहरी हिरासतमा बस्नुभयो।
२०७४ मङ्सिर २२ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै घर्ती वामगठबन्धनको उम्मेदवारको रूपमा रुकुम पूर्व क्षेत्र नम्बर १ (ख) बाट तत्कालीन प्रदेश ५ (लुम्बिनी) को प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभयो। पहिलो पटक जनप्रतिनिधिका रुपमा निर्वाचित भए लगत्तै २०७४ साल फागुन २ गते लुम्बिनी प्रदेशको संस्थापक सभामुख पदमा निर्विरोध निर्वाचित भएर पाँच वर्षसम्म प्रदेशसभाको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभयो। उहाँ पछिल्लो पटक २०७९ मा सम्पन्न आम निर्वाचनमा रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो। अहिले उहाँ प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समिति सदस्य हुनुहुन्छ।
प्रस्तुत छ – रुकुम पूर्वका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्रीः