• १७ असार २०८१, सोमबार

पोखरामा भारतीय पर्यटक

blog

पोखराको वाराही मन्दिरमा पर्यटक । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, जेठ १२ गते  । स्थानीय चुनावका कारण आन्तरिक पर्यटकको सङ्ख्या पातलो भए पनि भारतीय पर्यटकले यहाँका व्यवसायीलाई सन्तोष दिएको छ । अहिले भारतीय पोखरा भित्रिइरहेका छन् । ठूला बस रिजर्भ लिएर आउने भारतीय पर्यटकले अहिले पोखराको चहलपहल बढाएका हुन् । भारतीय बस लेकसाइडमा धेरै देखिन्छन् । पर्यटक हिँडडुल, दृश्यावलोकन र फेवातालमा डुङ्गा सयरमा व्यस्त देखिन्छन् । बेलुकीपख फेवाताल किनारको ‘फुट ट्र्याक’मा भारतीय पाहुना बाक्लै भेटिन्छन् ।

भारतमा यो बेला अधिक गर्मी भएकाले पनि सीमा क्षेत्रका भारतीय शीतल खोज्दै पोखरा आएको व्यवसायी बताउँछन् । आन्तरिक र भारतीय पाहुनाको यही आगमनले गर्दा अहिले व्यवसायी थामिएको छ । पश्चिमाञ्चल होेटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले कोरोना सङ्क्रमणको समस्याले अझै तेस्रो मुलुकका विदेशीको आगमन सहज नभइसकेको अवस्थामा भारतीय पर्यटकको आगमनले कोरोनाको कहर बिर्साइदिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “ठूला र महँगा होटलदेखि मध्यमस्तरका होटलमा भारतीय पाहुना छन् । होटलको अकुपेन्सी बढेको छ ।” अहिले बिदाका दिनमा होटलको अकुपेन्सी ६० प्रतिशत र अन्य दिनमा ४० प्रतिशतभन्दा बढी रहेको व्यवसायी बताउँछन् । 

अहिले शनिबार र आइतबारको बिदाले गर्दा आन्तरिक पाहुना थपिए पनि अरू दिन पनि पर्यटकको आगमन उत्तिकै राम्रो रहेको सुवेदीले जानकारी दिनुभयो । भारतीय पाहुनाको आगमन सोचेभन्दा बढी राम्रो हुँदा व्यवसायी उत्साहित बनेको उहाँले सुनाउनुभयो । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल पोखराका निवर्तमान अध्यक्ष सञ्जयकान्त सिग्देलले भारतीय पर्यटकको आगमनले व्यवसाय पुरानै शैलीमा फर्कन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय पर्यटक बढेका छन् । तेस्रो मुलुकबाट आउने पर्यटकको आगमन अझै राम्रो बन्न सकेको छैन ।” समग्रमा यहाँको पर्यटन व्यवसाय राम्रो हुने सङ्केत देखिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पछिल्लो तीन महिनादेखि करिब ४० प्रतिशत अकुपेन्सीमा रहे पनि आधा पाहुना भारतीय छन् । यो बेला भारतीय पाहुना आएकैले गर्दा पोखराको लेकसाइडमा चमक छाएको छ, लेकसाइड पाहुनामय बनेको छ ।”