• १३ साउन २०८१, आइतबार

जहाज नहुँदा यात्रु मर्कामा

blog

विमान सेवा कम्पनीको कार्यालय अगाडि टिकट नपाएका यात्रु । तस्बिर :राजन रावत

हुम्ला, जेठ १२ गते । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई यात्रुले टिकट नपाएर सास्ती खेप्नुपरेको छ । तारा एयरले दिनमा एक उडान मात्र भर्ने र अन्य एयरलाइन्सले उडान नै गर्न छोडेपछि यात्रु मर्कामा परेका हुन् । 

चुनावका बेला दुई हजारभन्दा बढी मतदाता आएका थिए । मत हालिसकेपछि उनीहरू आआफ्नो गन्तव्यमा फर्कने तयारी गरेका बेला टिकट नपाएर बिचल्ली भएका हुन् । जेठ ३ गतेदेखि टिकट नपाएर रोकिएका यात्रु कालीबहादुर रोकायाले लोकसेवाको परीक्षासमेत छुट्न लागेको गुनासो सुनाउनुभयो ।

उहाँले सुर्खेत जाने तयारी गरेको भए पनि एक हप्तादेखि टिकट नपाएर जान नपाएको बताउनुभयो । उद्योग वाणिज्य सङ्घ हुम्लाका अध्यक्ष नाम्ग्याल तामाङले कम्तीमा पनि पाँच सय यात्रु मर्कामा परेको जानकारी दिनुभयो । हुम्लामा वैशाख ३१ गतेपछि तारा एयरले दिनमा एक उडान मात्र भर्ने तर अरू एयरलाइन्सका जहाजले उडान भर्न छोडेपछि यात्रु मर्कामा परेका हुन् । तारा एयरले दैनिक एक उडान भर्दा १४ जना मात्र यात्रु ओसार्ने गरेको छ ।

नौ दिनदेखि सीता र समिट एयरका जहाजले हुम्लामा उडान गरेका छैनन् । हप्तामा तीन उडान भर्दै आएको नेपाल एयरलाइन्सले पनि आफ्नो सेवा नियमित गर्न सकेको छैन । समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले जहाज काठमाडौँ केन्द्रित हुँदा समस्या देखिएको बताउनुभयो । नेपालगञ्ज र सुर्खेत आधार बनाएर कर्णालीका हिमाली जिल्लामा उडान भर्ने निजी एयरलाइन्सलाई यतिखेर काठमाडौँबाट लुक्लाका लागि उडान भर्न भ्याइनभ्याइ छ । 

सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले अहिलेको समस्या जहाजले उडान नभर्दा सिजना भएको समस्या रहेको बताउनुभयो । उहाँले अस्पतालले रिफर गरेका बिरामीलाई समेत पठाउन नसकिने बताउँदै सम्बन्धित निकायहरूले यो समस्या समाधानका लागि ध्यान दिनुपर्ने जनाउनुभयो । 

बढ्यो बजार भाउ

सिमकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विजय भण्डारीले दैनिक उपभोग्य सामग्री हवाई मार्गबाट आउने भएका कारण कार्गो ढुवानी हुन नपाएपछि बजार भाउ वृद्धि भएको बताउनुभयो ।