• १३ साउन २०८१, आइतबार

कसरी घटाउने वृद्धभत्ता दायित्व ?

blog

नेपालको संविधानको धारा ४३ ले सामाजिक आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था गरेको छ । त्यसैगरी धारा ३४ मा प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । 

संविधानको मर्मलाई आत्मसात् गर्दा प्रत्यक्ष रोजगारीमा रहेका योगदान गर्न सक्षम व्यक्तिको योगदानमा आधारित सामाजिक बीमामार्फत जीवनचक्रमा आधारित सामाजिक संरक्षण गर्ने तथा आर्थिक र सामाजिक अवस्थाअनुकूल नभएका नागरिकका लागि राज्यले नागरिकलाई सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने भन्ने कुरा स्पष्ट हुन्छ । यी व्यवस्था राज्य कल्याणकारी हुनुपर्ने विषयसँग सम्बन्धित विषय हुन् तर नेपालको वर्तमान आर्थिक सामाजिक परिदृश्यलाई आत्मसात् गर्ने हो भने कल्याणकारी बन्नुको निश्चित सीमाहरू देखिएका छन् ।

वृद्धहरूको सुरक्षाका निम्ति २०५१/५२ बाट वृद्धभत्ताको व्यवस्था गरिएकोमा हाल अन्य विभिन्न नगद हस्तान्तरणमा आधारित कार्यक्रम थप भइरहेको अवस्था छ । बढ्दो बुढ्यौली र पर्याप्त अध्ययनबिना परिवर्तन गरिने सुविधाका दरका कारण यस्ता सुविधाको दिगोपनाको सवाल खडा भएको सन्दर्भमा यो आलेख योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत कसरी वृद्धावस्था सुरक्षाको प्रत्याभूति गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ । 

सुविधाको दिगोपनाको सवाल

सुरुवाती चरणमा ७५ वर्षमाथिका व्यक्तिलाई मात्र प्रदान गरिएको वृद्धभत्ताको उमेर घटाउने कुरासमेत सार्वजनिक भएको छ । सामान्यतया औसत आयु बढ्दै जाँदा अवकाश उमेरसमेत बढ्दै जाने अवस्था आउँछ । यसले कल्याणकारिताको नाममा राज्यको महत्त्वपूर्ण स्रोतको सही प्रयोग नहुन पनि सक्छ । यसरी वृद्धभत्ता बढाउँदै जाने हो भने बजेटको ठूलो अंश केवल वृद्धभत्तामा जाने देखिएको छ । राज्यको सचेत प्रयत्न रहने हो भने प्रस्तावित विषयको कार्यान्वयनमार्फत वृद्धभत्तालगायत सामाजिक सहायतालाई कम गराई दिगो सुरक्षाको प्रत्याभूति गराउन सकिन्छ । 

पेसागत पेन्सन कार्यान्वयन 

२०७६ सालभन्दा पछाडि सरकारी रोजगारीमा आबद्ध कर्मचारीका लागि योगदानमा आधारित पेन्सन योजना निवृत्तभरण ऐन, २०७५ अनुसार अगाडि बढिसकेको छ । निजी र सङ्गठित क्षेत्रका लागि सामाजिक सुरक्षा कोषमार्फत २०७६ साउनदेखि कार्यान्वयनमा आइसकेको अवस्था छ । यी दुवै क्षेत्रमा नपर्ने अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकका निम्ति पनि योगदानमा आधारित सामाजिक सुरक्षाका योजना तर्जुमा गरी आबद्ध गर्न अति आवश्यक देखिन्छ । औपचारिक श्रम बजारका सबै श्रमिकलाई योगदानमा आधारित कार्यक्रममा जोड्न सक्ने हो भने दीर्घकालमा ती श्रमिकले आफ्नै योगदानमा आकर्षक पेन्सन प्राप्त गर्ने वातावरण तयार हुन्छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले हरेक श्रमिकको जीवनचक्रमा आइपर्ने प्रत्येक जोखिम व्यवस्थापन गर्ने गरी एकीकृत सामाजिक सुरक्षाको संरचनासहित परिपूर्ण योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको परिकल्पना गरेको छ । दफा ५ ले अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकको हकमा राज्यको सहयोगदानसहितको सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने व्यवस्था गरेको छ । यदि अनौपचारिक र स्वरोजगार श्रमिकलाई राज्यले निश्चित रकम सहयोग दान गरिदिने हो भने त्यो क्षेत्रसमेत परिपूर्ण सामाजिक सुरक्षाको दायरामा आउँछ । राज्यले गर्ने सहयोग दान ती श्रमिकलाई वृद्ध अवस्थामा राज्यले गर्नुपर्ने भुक्तानीको तुलनामा धेरै नै कम हुन्छ । 

सामाजिक सुरक्षामा आबद्धतामार्फत रूपान्तरण

सङ्गठित क्षेत्रका श्रमिक आबद्ध गरी उनीहरूको जीवनचक्रमा आइपर्ने जोखिम व्यवस्थापन हुने गरी स्किमहरू कार्यान्वयनमा ल्याएको छ । बजारमा विभिन्न टीकाटिप्पणी भए तापनि नेपालको सामाजिक सुरक्षाको संरक्षणलाई दिगो बनाउन र वर्तमानमा उपलब्ध गराइएको विभिन्न स्वरूपको गैरयोगदानमा आधारित भत्ताहरूको निरन्तरताका लागि पनि दीर्घकालमा सामाजिक सुरक्षा कोषका योजनाको अपरिहार्यता देखिन्छ । कानुनी दृष्टिकोणबाट योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले श्रमिकको हितको निम्ति सबैभन्दा बढी सुरक्षाको प्रत्याभूति गरेको छ ।

यद्यपि सुरक्षा योजनाहरू र सञ्चालन स्तरमा देखिएका गुनासा नेपालमा पहिलो अभ्यास भएकाले निरन्तर सुधारकै प्रक्रियामा नै रहेको छ । यस कार्यक्रमको सफल कार्यान्वयन हुने हो भने वृद्धभत्ता मात्र नभई अपाङ्गता, आश्रित परिवारको संरक्षणलगायत राज्यको अन्य दायित्वलाई समेत कम गर्न सकिन्छ । 

स्वास्थ्य सेवाको पहुँचमा सुधार

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने विश्वव्यापी स्वास्थ्य पहुँचको दायरालाई सबैको पहुँचमा पु-याउन स्वास्थ्य बीमा कार्यक्रम संस्थागत रूपमा सञ्चालन गरेको देखिन्छ । योगदानमा आधारित सामाजिक सुरक्षा संयन्त्र सञ्चालन गर्ने संस्थाले सङ्कलन गर्ने योगदान रकममध्ये स्वास्थ्यअन्तर्गतको योजनाका सेवा त्यस्तो संस्थाबाट सञ्चालन हुने देखिन्छ ।

नेपालमा तथ्याङ्क हेर्दा स्वास्थ्य बीमा बोर्डले हालसम्म छ अर्ब प्रिमियम सङ्कलन गरेको तर खर्च करिब १५ अर्बभन्दा बढी भएको देखिन्छ भने करिब छ अर्बभन्दा बढी रकम अझै भुक्तानी दिन बाँकी रहेको अनुभवलाई हेर्ने हो भने स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीताका लागि पनि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने देखिन्छ ।

अमेरिकी अभ्यास र हाम्रो अवस्था

अमेरिकामा सन् १९३५ तिर तत्कालीन राष्ट्रपति फ्रेङ्कलिन रुजवेल्टले विश्वयुद्धपछि विश्व मन्दीले थलिएको अमेरिकी अर्थतन्त्रले अब गैरयोगदानमा आधारित नगद हस्तान्तरण गर्न नसक्ने महसुस गरी तत्कालीन श्रमसचिव संयोजक रहने गरी समिति गठन गरी सोही समितिको सुझावका आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तर्जुमा गरी कार्यान्वय गर्दा आज अमेरिकाको करिब नौ खर्बको सामाजिक सुरक्षा खर्चहरू योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमार्फत भुक्तानी भएको देखिन्छ । साथै करिब छ प्रतिशत जनसङ्ख्यालाई गरिबीको रेखाभन्दा माथि उकासेको श्रेय सामाजिक सुरक्षालाई दिने गरिन्छ । त्यसैगरी वृद्धअवस्थामा रहेकामध्ये करिब ९७ प्रतिशत जनसङ्ख्याको प्रमुख स्रोत भनेको सामाजिक सुरक्षाबापत प्राप्त हुने भत्ता रहेको देखिन्छ । हाम्रो नेतृत्वले पनि सोहीअनुसारको पूर्वानुमान गरी सामाजिक संरक्षणको दिगोपनाका लागि दूरगामी निर्णय लिन आवश्यक देखिन्छ ।

सामाजिक सुरक्षा योजना चाहे योगदानमा आधारित हुन वा गैरयोगदानमा आधारित हुन् अन्तरपुस्ता लागत सन्तुलन हुने गरी तर्जुमा गर्नुपर्ने हुन्छ । हाल विभिन्न सञ्चारमाध्यममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने विद्यमान उमेर ७० लाई ६५ र मासिक भत्ता बढाउने कुरा बाहिर आएको छ । यस्तो दूरगामी निर्णय लिँदा आजभन्दा ४०–५० वर्षसम्मको जनसाङ्ख्यिक बनावट, अर्थव्यवस्थाले धान्न सक्ने आधारको पर्याप्त अध्ययन र लाभ–लागत जस्ता पक्षको पर्याप्त विश्लेषण गरी निर्णय लिनुपर्ने हुन्छ । अन्यथा आजको पुस्ताले लिएको निर्णयको बोझ अर्को पुस्ताले व्यहोर्नुपर्ने हुन्छ । एक पटक उपलब्ध सुविधाले निरन्तरता नपाउँदा भोटको राजनीतिमा मात्रै होइन सामाजिक मनोविज्ञानमा समेत प्रभाव पर्ने देखिन्छ । 

त्यसैले योगदानमा आधारित पेसागत पेन्सनद्वारा गैरयोगदानमा आधारित राज्यको सामाजिक सहायतामा आधारित विभिन्न स्वरूपका भत्ताहरू योगदानमा आधारित स्तरमा रूपान्तरित गर्दै जाने अभ्यासले करिब ४० वर्षमा अधिकांश हिस्सा योगदानमा आधारित स्तरमा रूपान्तरित गर्छ । यस विकल्पका बारेमा मूर्तरूपमा अध्ययन अनुसन्धान गर्ने र नीतिगत एवं कानुनी संरचनामा सोबमोजिम परिमार्जन गर्नेतर्फ आर्थिक नीति अग्रसर हुन सकेमा आवश्यकता पूर्ति हुने र समस्या सम्बोधन हुने देखिन्छ । श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने वातावरण बनाउने हो भने मर्यादित श्रममार्फत श्रमिकको कार्यसम्पादन संस्कृतिमा समेत सुधार हुने र उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सहयोग हुन्छ । यसैगरी लगानीयोग्य रकमको परिचालनमार्फत राज्यको भौतिक विकास र बहुआयामिक गरिबीको जनसङ्ख्यालाई न्यूनीकरण गर्न पनि यो  कार्यक्रम महत्त्वपूर्ण हुन्छ ।

Author

कृष्ण अधिकारी