• ९ माघ २०८१, बुधबार

धरानको खानेपानी समस्या चालु वर्षभित्रै समाधान गर्छौंः खानेपानीमन्त्री

blog

खानेपानीमन्त्री प्रदीप यादव धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ ८ गते । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको बताउनुभयो ।

उहाँले धरानको खानेपानीको समस्या यही वर्षभित्र समाधान हुने र टेन्डर चाँडै निकाल्ने जानकारी दिनुभयो । जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिट्टै टेन्डर आह्वान हुने बताउनुभयो । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

मन्त्री यादवले भन्नुभयो, ‘‘धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको थियो । सबै अघि बढाइसकेका छौँ । धरानको खानेपानी समस्या समाधान हुन्छ । यसपालि टेन्डर निस्किन्छ । हर्क साम्पाङजी खुसी भएर नै जानुभएको छ । जग्गा अधिग्रहणको समस्या छ । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिबद्ध छ ।’’

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले स्थानीय सरकारले केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने नहुने बताउनुभयो । उहाँले एकले अर्कोलाई छेकेर देश चल्न नसक्ने औंल्याउनुभयो । पानीको दुःख सहरदेखि गाउँसम्मै रहेकाले यसको दीर्घकालीन समाधान हुनुपर्ने बताउनुभयो ।

‘‘केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने हुँदैन । एकले अर्कोलाई छेकेर देश चल्दैन । गाउँगाउँमा, सहर सहरमा खानेपानीको दुःख छ । हाम्रा ठुला ठुला नदीहरू, सप्तकोशी, कर्णाली, नारायणी जस्ता नदीहरू बगेर भारततिर गइरहेको अवस्था छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यो पानीलाई लिएर हाम्रो धारामा झार्ने पनि क्षमता छैन । खानेपानी आधारभुत आवश्यकता हो । हामीलाई तीन करोड लिटर दैनिक खपत हुन्छ । डिपिआर गर्न पाँच अर्ब करिब मागेका छौँ ।’’

प्रमुख साम्पाङले धरानमा पानी तीन करोड लिटर दैनिक खपत हुने बताउनुभयो ।