जयकृष्ण यादव
इनरुवा, माघ ६ गते । सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयहरूको छाता सङ्गठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोर्टस् मिटको तयारी अन्तिम चरणमा पुगेको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसान सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीको बौद्धिक विकासका साथसाथै शारीरक, नैतिक र सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्यले हिसान स्पोर्टस् मिटको तयारी गरेको जनाएको छ ।
सुनसरीव्यापी बृहत् खेलकुद सप्ताह सञ्चालन गर्दै आइरहेको हिसानले माघ १३ गतेबाट ११ औं हिसान स्पोर्टस् मिट गर्ने तयारी गरेको हिसानका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिनुभयो । हिसान स्पोर्टस् मिटमा ३० बढी विद्यालय तथा उच्च शिक्षालयको सहभागिता रहने भट्टराईले जानकारी दिनुभयो ।
विद्यालय स्तरीय खेलकुदका १४ विधा र ४२ खेल तथा कलेजस्तरीय १३ विधाका ३३ खेल हुनेछन् । सबै खेलका विजेता खेलाडीलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै समग्रमा विजेता शिक्षालयलाई च्याम्पियन ट्रफि र प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।
रन, फुटबल र नृत्य प्रतियोगितामा भने नगद पुरस्कार समेत रहेको जानकारी दिनुभयो । हिसान स्पोट्स मिटबाट ४४ रनका रूपमा विकास गर्दै सञ्चालन गरिने छ । प्रथम र द्वितीय हिसान रनमा हिसान सुनसरीका सदस्य शिक्षालयका विद्यार्थीको मात्र सहभागिता सुनिश्चित गरिएकोमा यस वर्षबाट सबैलाई खुला गरिएको छ ।
फुटबलको व्यावसायिक विकासमा थप टेवा पुर्याउने उद्देश्यले गतवर्ष १०औं हिसान स्पोटर्स मिटदेखि हिसान सुनसरी र एन्फा सनुसरीको संयुक्त आयोजनामा प्रथम हिसान एन्फा सुनसरी रनिङ कप’ सञ्चालन गरिएकोमा यसपाली फिफा र एन्फाको राष्ट्रिय मापदण्ड अनुसार खेल सञ्चालन गर्ने भएको छ ।
विजेता र उपविजेतालाई क्रमश: ३० हजार र १५ हजार रुपियाँ पुरस्कार, विजेतालाई रनिङ ट्रफि, उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।