कृष्णराज खनाल
राले, अमेरिका, माघ ६ गते । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुग्दा यसको चर्चा निकै चुलिएको छ । यो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रूपमा आयोजना हुने भएको छ । शपथग्रहण समारोह चार दिनसम्म अर्थात् शनिबार सुरु भएर मङ्गलबार सम्पन्न हुने छ ।
शपथग्रहण समारोह समितिले सो समारोहका लागि भनेर हालसम्मकै सर्वाधिक उच्च रकम अर्थात् १७ करोड अमेरिकी डलर सङ्कलन गरिसकेको छ । समारोहका लागि दस लाख डलर वा सोभन्दा बढी चन्दा दिने दाताहरू राष्ट्रपति तथा नवगठित मन्त्रीपरिषद्का सदस्यहरूसँगै चियापान तथा भोजमा सामेल हुने छन् तर पनि स्थानाभावका कारण सबै जनाले यो अवसर पाउँछन् भन्ने निश्चित भने छैन ।
राष्ट्रपतिको शपथग्रहण भने जनवरी २० तारिख सोमबार १२ बजे हुने छ तर यसअघि नै शनिबार भर्जिनियास्थित गल्फ क्लबबाट यो समारोहको औपचारिक कार्यक्रम सुरु हुने बताइएको छ ।
विभिन्न समाचारपत्रले दिएको जानकारी अनुसार शनिबार मन्त्रीपरिषद्को रिसेप्सन, उपराष्ट्रपतिको रात्रिभोज र आतसबाजी हुने छ । त्यसै गरी आइतबार वीरगति प्राप्त सैनिकहरूको समाधिस्थल आर्लिङ्गट्रनमा गएर उनीहरूप्रति श्रद्धा र माल्यार्पण र राष्ट्रपति ट्रम्पले विजय जुलुस र रात्रिभोजमा सरिक हुने विशिष्ट महानुभावलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
जनवरी २० तारिख बिहान राष्ट्रपति ट्रम्प सेन्ट्र जोन्स चर्चमा उपस्थित हुनुहुने छ भने त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच भेटघाट र सत्ता हस्तान्तरण हुने छ र १२ बजे ट्रम्पको शपथग्रहण हुने छ । त्यसपछि ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नुहुने छ ।
त्यसपछि ह्वाइट हाउसबाट राष्ट्रपति वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बिदाइ हुने छ । त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्र«पतिको कार्यकक्षमा राष्ट्रपतिको हैसियतले केही नियुक्ति, सीमा र अध्यागमनलाई सम्बोधन गर्न कार्यकारी शक्ति प्रयोग गर्ने भन्नेबारे केही कार्यकारी आदेश र केही महत्वपूर्ण कागजातमा हस्ताक्षर हुने जनाइएको छ । समाचारपत्रहरूका अनुसार ट्रम्पले सोही दिन २५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुहुने छ । ट्रम्पले टाइटल ४२ को पुनस्र्थापना र अध्यागमन र राष्ट्रियता ऐन २८७ जीको प्रयोग गर्न सक्नेसमेत जनाइएको छ ।
सोही दिन दुवै सदनले संयुक्त रूपमा आयोजना गर्ने दिवा भोजमा राष्ट्रपतिलगायत विशिष्ट पदाधिकारी उपस्थित हुनुहुने छ । त्यसपछि ट्रम्पले राष्ट्रपति भवननजिकै पेन्सिल्भेनिया एभेन्युमा आयोजना हुने सैनिक कवाज र राष्ट्रपतीय परेडको अवलोकन गर्नुहुने छ । सोही दिन ओभल अफिसमा हस्ताक्षर समारोह हुने छ ।
सोही दिन अतिथि, विशिष्ट अतिथि, मन्त्रीपरिषद्का सदस्य, पाहुना, चन्दादातालगायत पूर्वराष्ट्रपतिहरू एवं समाजका लब्ध प्रतिष्ठित व्यक्ति सम्मिलित तीन वटा भोज आयोजना हुने छ । सो भोजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको नाचगान, मनोरञ्जनलगायतका विभिन्न कार्यक्रम आयोजना हुने छ । शपथग्रहणको अन्तिम दिन मङ्गलबार राष्ट्रिय प्रार्थना सभा सँगसँगै कार्यक्रम अन्त्य हुने छ ।
को को हुने छन् ?
शपथग्रहण समारोह समितिले राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकाल भव्य रूपमा आयोजना गर्ने गरी तयारी सुरु गरिसकेको छ । र, सबै मुख्य चन्दादातालाई समेत यो कार्यक्रममा सामेल गर्न नसकिने सम्भावना पनि व्यक्त गरेको छ । यो चन्दा रकम सो दिनसम्म पुग्दा २० करोड डलर पुग्ने अनुमान गरिएको छ । अघिल्लो पटक यही कार्यक्रमका लागि जम्मा १० करोड चन्दा उठेको थियो ।
चन्दादाताहरू सो समारोहमा उपस्थित भएर आफ्नो व्यवसाय वा व्यापारका लागि लबिङ गर्न लालायित हुने भएकाले यसरी चन्दा सङ्कलन भएको हो । यो समारोहमा सर्वाधिक चर्चित व्यक्ति तथा संसारकै सबैभन्दा धनी व्यक्ति एलन मस्क पनि हुनुहुने छ भने मार्क जुकरवर्ग र जेफ बेजोज पनि उपस्थित हुनुहुने छ । यी तीन जना मन्त्रीहरूकै लहरमा रहनुहुने छ ।
सोही लहरमा तीन जना पूर्वराष्ट्रपति पनि उपस्थित हुनुहुने छ । पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लु बुस सो समारोहमा हुनुहुने छ । ओबामापत्नी मिसेल ओबामा भने उपस्थित नहुने बताइसक्नुभएको छ । अमेरिकास्थित विदेशी मुलुकका राजदूतावासका राजदूत तथा नियोग प्रमुखहरूलाई निमन्त्रणा पठाइने भएकाले विदेशी राष्ट्रप्रमुखहरूको उपस्थिति भने ज्यादै न्यून हुने बताइएको छ ।
चन्दा कसले दिए ?
चन्दादाताको नामावली लामो छ तर पनि मेट्रा, अमेजन, गोल्डमेन स्यान्च, बैङ्क अफ अमेरिकालगायतका संस्था तथा खुला एआईका मुख्य कार्यकारी अधिकृत स्याम एल्ट्रम्यान, उवरका प्रमुख कार्यकारी डारा खोस्रोसाही र सिट्राडोलका प्रमुख कार्यकारी केन ग्रिफिनलगायतले १० लाख डलरभन्दा बढी चन्दा दिनुभएको छ । यसबाहेक अरू थुप्रै संस्था तथा व्यक्ति हुनुहुन्छ ।
कलाकार को को आउँछन् ?
लोकगायिका क्यारी अन्डरउड यो कार्यक्रमकी सर्वाधिक चर्चित गायिका हुनुहुन्छ । शपथग्रहण समारोहकी प्रमुख गायिका अन्डरउड र वाइएमसिए नामक गीत गाएर चर्चा बटुलेको भिलेज पिपुल नाम गरेको ब्यान्डले सम्पूर्ण समारोह तताउने छ ।
अन्डरउडले जनवरी २० मा अमेरिका दी ब्युटिफुल र गड ब्लेस दी युएसए नामक गीत गाउनुहुने छ । केही लोकगायक जेसन एल्डन, रास्कन फ्याल्ट्रस, किड रक र विली रे साइरस र क्रिस्ट्रोफर मासिनो आदिले पनि आआफ्नो प्रस्तुति दिनुहुने छ ।