• ४ माघ २०८१, शुक्रबार

इजरायल र हमासबिच अस्थायी युद्धविराम

blog

काठमाडौँ, माघ ४ गते । लामो प्रयासका बिच इजरायल र हमासबिच युद्धविराम भएको छ । दुई पक्षबिच युद्धविराम गर्ने तथा एकअर्काले बनाएका बन्धक छाड्ने सम्झौता भएसँगै युद्धविराम भएको हो । करिब १५ महिनादेखि जारी युद्ध अब छ साताका लागि अस्थायी विराम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस अघि पटक पटक युद्धविरामका लागि वार्ताको पहल भए पनि भङ्ग हुँदै आएको थियो । 

कतार र अमेरिकाको मध्यस्थताबिच बिहीबार युद्धविराम भएसँगै हमास र इजरायल दुवै पक्षका आमनागरिकमा खुसी छाएको सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धविराम सम्झौता भएको पुष्टि गर्दै मध्यस्थकर्ता मुलुक कतारका प्रधानमन्त्री सेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आउँदो आइतबारदेखि युद्धविरामको औपचारिक कार्यान्वयन हुने प्रतिव्रिmया दिनुभयो । यसबिचमा इजरायली मन्त्रीपरिषद्को बैठकले त्यस सम्झौतालाई स्वीकृति दिँदै वैधता प्रदान गर्ने उहाँले प्रस्ट पार्नुभयो ।  

त्यस्तै अर्को मध्यस्थकर्ता मुलुक अमेरिकाका राष्ट्रपति जोए बाइडेनका अनुसार युद्धविराम सम्झौताबमोजिम गाजा क्षेत्रबाट इजरायली सैनिक फिर्ता हुने छन् । साथै हमासले बन्दी बनाएका सबै बन्धकको रिहाइको कार्य अघि बढाइने छ । जसको सुरुवातमा केही इजरायली बन्धकहरू छाड्ने छन् । लगत्तै इजरायलले पनि प्यालेस्टिनी बन्धकहरू छाड्नेसँगै केही क्षेत्रबाट आफ्ना सैनिक जत्था हटाउने छ । सिएनएनले सार्वजनिक गरेको रिहाइका चरणमध्ये पहिलोमा हमासद्वारा छाडिने ३३ जनामा इजरायली नागरिक, महिला सैनिक, बालबालिका, वृद्धवृद्धा र बिरामी नागरिक रहने छन् । 

विपिन दोस्रो चरणमा छुट्ने अपेक्षा

हमासले इजरायल सरकारलाई पठाएको बन्दी रिहाइको सूची अनुसार हमासले बन्धक बनाएका ८४ जना विदेशी नागरिक थिए । जसमा नेपालका एक जना विपिन जोशी, थाइल्यान्डका आठ जना, अमेरिकाका सात जनामध्ये बाँचेका तीन जना छुट्ने तयारीमा छन् । नेपालका विपिन जोशीसहितका अधिकांश विदेशी नागरिक दोस्रो चरणमा रिहा हुने अनुमान गरिएको छ । पहिलो चरणमा छुट्ने एक जना अमेरिकी नागरिक मात्र रहेको जनाइएको छ । इजरायली नागरिकको रिहाइको हकमा हरेक साता तीन जना छाडिने हमासका उच्च अधिकारीले जनाएका छन् । बदलामा युद्ध सुरु भएलगत्तै ८ अक्टोबरमा इजरायलले पक्राउ गरेका एक हजार बन्दीमध्ये आजीवन कारावास पाएका समेत ११० जना रिहा गर्ने सम्झौता भएको छ । १० हजारभन्दा बढी प्यालेस्टिनी इजरायल पक्षबाट पक्राउ गरी जेलमा राखिएको हमास समूहले दाबी गरेको छ । तर इजरायल सरकारले आफूसँग तीन हजार ३७६ जना छन्, जसमा कुनै पनि आरोप नलगाइएका ११७ जना महिला र बालबालिका छन् । त्यो चरण सुखद रहेको खण्डमा स्थायी युद्धविरामका लागि थप वार्ताहरू अघि बढ्ने जनाइएको छ । युद्धविराम सम्झौताका प्रयासका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाका वर्तमान राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैलाई धन्यवाद दिनुभयो । इजरायलका राष्ट्रपति आइज्याक हर्गजले सम्झौताका केही पक्ष आफूहरूका लागि असहज भए पनि युद्धविरामले सही बाटो लिएको औँल्याउनुभएको छ । 

युद्धविराम र बन्धक रिहाइसहितको सम्झौतापछि बन्धक परिवार तथा युद्धले आक्रान्त नागरिकहरूमा खुसी छाएको छ । संयुक्त राष्ट्रसङ्घलगायत विश्वका शान्तिप्रिय मुलुकहरूले यस युद्धविराम सम्झौताको स्वागत गरेका छन् । तथापि सम्झौताले स्थायी युद्धविराम र गाजा क्षेत्रको भविष्यका बारेमा प्रष्ट नपारेकाले चिन्ता अझै कायम रहेको टिप्पणी हुन थालेका छन् । 

युद्धको त्रासमा रहेका हमासका नागरिकहरूसँगै युद्ध प्रभावित परिवारमा हर्ष छाएको छ । सन् २०२३ अक्टोबर ७ मा हमास समूहले इजरायलमा आक्रमण गरेपछि दुई पक्षबिच युद्ध सुरु भएको थियो । सो क्रममा १० जना नेपाली नागरिकसहित एक हजार दुई सय जना मारिएका थिए । नेपाली नागरिक विपिन जोशीसहित २५१ जनालाई हमास समूहले बन्धक बनाएको थियो । जोशीलाई रिहा गर्न माग गर्दै नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले नियमित पहल गरिरहेको छ । हमासले केहीलाई छाडेर बाँकी रहेकामध्ये ३५ जनाको मृत्यु भइसकेको इजरायल सरकारले पुष्टि गरेको छ । अब बाँकी ९४ जना मात्र बन्दी हमाससँग रहेको जनाइएको छ । युद्ध सुरु भएयता इजरायली पक्षको प्रत्याक्रमणबाट ४७ हजार जनाभन्दा बढीको गाजामा मृत्यु भएको जनाइएको छ ।