• १३ कात्तिक २०८२, बिहिबार

गुल्मीमा एक लाखभन्दा बढि स्वास्थ्य बिमामा आबद्ध

blog

स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मी। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १३ गते ।
गुल्मीमा एक लाखभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ । हालसम्म स्वास्थ्य बिमामा यहाँका एक लाख २७ हजार ३५५ नागरिक आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार पुरुष ६१ हजार ६८९ र महिला ६५ हजार ६६६ जना स्वास्थ्य बिमामा आबद्ध छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसंख्या रहेको छ ।

हालसम्म यस जिल्लाका ५१ दशमलव ६५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध रहनुभएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढिरहेको छ । यस जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार यहाँ २४ हजार ५४१ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनुभएको हो । मुसिकोट नगरपालिकाका सात हजार ८४१ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनुभएको छ ।

कालिगण्डकी गाउँपालिकाका छ हजार ७०३, सत्यवती गाउँपालिकाका १५ हजार ७८२, चन्द्रकोट गाउँपालिकाका छ हजार ४००, रुरुक्षेत्र गाउँपालिकाका १४ हजार ८५, छत्रकोट गाउँपालिकाका १२ हजार २६३, गुल्मीदरबार गाउँपालिकाका १० हजार २१० जना नागरिक स्वास्थ्य बिमामा आवद्ध हुनुभएको छ । इस्मा गाउँपालिकाका सात हजार ३५०, धुर्कोट गाउँपालिकाका १० हजार ३०५, मदाने गाउँपालिकाका तीन हजार ६७६ र मालिका गाउँपालिकाका आठ हजार १९९ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनुभएको छ ।

तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यलाई बिमामा आबद्ध गराइ एक लाख रुपियाँ बराबरको औषधिउपचार निःशुल्क हुने गरेको छ। परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति ७०० रुपियाँका दरले प्रथम बिमा शुल्कमा थपिँदै जाने र सो रकमले २० हजार रुपियाँ उपचार खर्च प्राप्त हुन्छ। हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार ५२४ परिवार र ५० प्रतिशत छुटमा महिला स्वास्थ्य स्वयंसेविका ८८३ परिवारका चार हजार ६०२ जना स्वास्थ्य बिमामा आबद्ध हुनुहुन्छ । 

सरकारले ज्येष्ठ नागरिक, ‘क’ वर्गका अपाङ्ग, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ। ज्येष्ठ नागरिक १७ हजार ७१२ जना, एचआइभी संक्रमितका १६६ परिवारका ४८२ जना, कुष्ठरोगी ३ परिवारका १२ जना, ‘क’ वर्गका अपाङ्गता भएका ७९३ परिवारका तीन हजार ९९९ जना, जटिल खालको क्षयरोग लागेका ६ परिवारका २५ जना नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिनुभएको छ ।