• १३ कात्तिक २०८२, बिहिबार

प्रयोगमा छैनन् स्थानीय तहका एम्बुलेन्स

blog

एम्बुलेन्स नहुँदा स्टेचरमा बिरामीलाई अस्पताल लगिँदै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट कात्तिक १३ गते ।
कालीकोट जिल्लाका प्राय सबै स्थानीय तहले बिरामीका लागि भनेर एम्बुलेन्स सञ्चालनमा ल्याएपनि मर्मत सम्भारको अभावले प्रयोगविहीन हुँदै गएको छ । सुरुमा एक पछि अर्को स्थानीय तहले खरिद गरेर सञ्चालनमा ल्याएका एम्बुलेन्स पछिल्लो समय मर्मत सम्भारको अभावले प्रयोगविहीन भएका हुन् ।

जिल्लाका रास्कोट नगरपालिकाले सुरुमा सञ्चालनमा ल्यायो एम्बुलेन्स करिब ६ वर्षसम्म सञ्चालनमा आयो । त्यसपछि कता थन्काएको छ त्यसको कुनै अत्तोपत्तो छैन । बिरामीलाई गाउँबाट नगरको अस्पतालसम्म पुर्याउन एम्बुलेन्स अभावले स्टेचरमा राखेर लैजाने गरिएको छ ।

मङ्गलबार रास्कोट नगरपालिका–१ का निर्मला न्यौपाने एक्कासी बिरामी भएपछि एम्बुलेन्सको खोजी भयो । तर नगरपालिकाले एम्बुलेन्स उपलब्ध नभएको जवाफ दिएपछि अन्य यातायात समितिसँग सम्पर्क भयो । त्यहाँ पनि गाडी नभएको जानकारी भए पनि युवा मिलेर प्रहरी चौकीमा रहेको स्टेचरमा बिरामी राखेर गौतुकोटमा रहेको नगर अस्पतालमा पुर्याइएको थियो ।

सदरमुकाम समेतको खाँडाचक्र नगरपालिकाले खरिद गरेर ल्याएको एम्बुलेन्स पनि बिग्रेर थन्किएको छ । कोही बिरामी भएको खण्डमा प्राईभेट वा यातायात समितिसँग चर्को मूल्य तिरेर बिरामीलाई अस्पताल पुर्याउनुपर्ने बाध्यता यहाँका स्थानीयलाई छ । 
आर्थिक अवस्था कमजोर भएकाहरुका लागि त अस्पतालसम्म बिरामी पुर्याउने उही स्टेचर वा डोकोमा राखेर लिनुको विकल्प छैन ।

खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब रबिन्द्र सेजुवालले एम्बुलेन्स बिग्रेका कारणले समस्या भएको बताउनुभयो । स्वास्थ्य शाखामा बजेट छैन, नगरकार्यापालिकाले बनाउने कुरामा ध्यान नदिएकाले लामो समय थन्किएको सेजुवालको भनाइ छ । उता पचालझरना गाउँपालिका, नरहरीनाथ गाउँपालिकाले सञ्चालनमा ल्याएका एम्बुलेन्स सबै थन्किएका छन् ।

पचालझरना गाउँपालिकाको एम्बुलेन्स त ल्याएको केही दिनमै बिग्रेपछि फेरी नबनाएका कारणले अहिले सम्म थाला परेकै छ । नरहरीनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत निरककुमार शाहले आफ्नो एम्बुलेन्स पनि बिग्रेको बताउनुभयो । सान्नीत्रिवेणी गाउँपालिका, शुभकालिका गाउँपालिका, तिलागुफा नगरपालिकाले सञ्चालान ल्याएका एम्बुलेन्स पनि प्रयोगमा छैनन ।

कालीकोटका बिरामीका लागि जिल्ला अस्पतालको एम्बुलेन्स, धर्ति फाउण्डेसनले चलाएको एम्वुलेन्स र ओदा फाउण्डेसनले चलाएको तीन वटा एम्बुलेन्स मात्र प्रयोगमा छन । तीन वटा एम्बुलेन्सलाई सुर्खेत जुम्ला बिरामी पुर्याउन  ठिकै छ । स्थानीय तहले खरिद गरेर ल्याएका एम्बुलेन्स मर्मत नगरेर थन्काएका कारणले बिरामीलाई स्टेचर र डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपर्ने बाध्यता यहाँ भएको छ । एम्बुलेन्सका विषयमा सोधिखोजी गर्दा पनि स्थानीय तहका जनप्रतिनिधिले जवाफसम्म दिँदैनन् ।