• १२ असार २०८१, बुधबार

प्राथमिक उपचारका सामग्रीसहित स्वास्थ्यकर्मी बस्तीबस्तीमा जाने

blog

तिलाचन पाण्डे
तम्घास, जेठ ११ गते ।
मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जीवन खरेलले स्वास्थ्यका सामग्रीसहित स्वास्थ्यकर्मीहरु बस्तीबस्तीमा  जाने बताउनुभएको छ ।

गाउँका बस्तीबस्तीमा स्वास्थ्यको पहुँच पुर्याउनु स्थानीय सरकारको जिम्मेवारी भएको भन्दै प्राथामिक उपचारका सामग्रीहरु लिएर स्वास्थ्यकर्मीहरु गाउँका बस्ती बस्तीमा पुग्ने गरी आफूले कामको थालनी गरेको बताउनुभएको छ ।

पदभार ग्रहण पश्चात पत्रकारसँगको कुराकानीमा उहाँले यहाँका नागरिकहरुलाई सामान्य चोटपटक लाग्दा आवश्यक पर्ने प्राथामिक स्वास्थ्य सामग्रीहरु लिएर स्वास्थ्यकर्मीहरु पठाउने तयारी भइरहेको बताउनुभयो ।

सीपमूलक शिक्षा आवश्यक
शिक्षामा सानै उमेरदेखि सीपमूलक ज्ञान प्रदान गर्नका लागि स्थानीय पाठय्क्रम बनाएर अगाडि बढ्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

अहिलेका विद्याथीहरुलाई घोकन्ते शिक्षाभन्दा पनि व्यावहारिक शिक्षाको आवश्यकता रहेको भन्दै स्थानीय पाठ्यक्रम निर्माण गरी सीपमूलक शिक्षा प्रदान गर्नुको विकल्प नभएको उहाँको भनाइ छ ।

यस्तै, नगरमा रहेका अधुरा अपूरा कार्यहरुलाई पूरा गर्दै खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गरी उत्पादनमा जोड दिने योजना रहेको खरेलले बताउनुभयो ।

व्यावसायिक रुपमा कृषि र पशुपालन गरी युवाहरुलाई स्वदेशमा नै टिकाई राख्ने र आत्म निर्भर बनाउने गरी नगरपालिका अगाडि बढ्ने योजना पनि उहाँले सुनाउनुभयो । नगरमा युवा उद्यमी सहकारी स्थापना गरी युवाहरुलाई संगठित गर्ने र व्यवसायीकरणमा जोड दिइने पनि उहाँको योजना छ ।

कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरणको ग्यारेन्टी नगरपालिकाले लिने पनि खरेलले दाबी गर्नुभयो ।