काठमाडौँ, माघ ५ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव, पूर्व मन्त्री एवम् अछाम-१ का प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले युवालाई गाउँमा नदेख्दा मन कटक्क दुख्ने गरेको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। पहिला पहिला आफ्नो मतदाताको घरमा पुग्दा दुई सय नेता कार्यकर्ता जुट्ने गाउँमा अहिले ६ जना मान्छे उपस्थित नहुने अवस्था रहेको भन्दै उहाँले गाउँको उजाड अवस्था दुःखको विषय भएको बताउनुभएको हो।
२०२३ साल भदौ ६ गते बुवा कर्णबहादुर र आमा बसुदेवीको सुपुत्रका रुपमा अछाम जिल्लाको पायल गाविस ५ को थापडा (हाल चौरपाटी गाउँपालिका–४ पायल) मा भएको हो । उहाँ पछिल्लो समय ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टीकाथलीमा बसोबास गर्दै आउनुभएको छ। कुँवर विद्यालय तहदेखि नै सङ्गठित भएर राजनीतिमा सक्रिय हुनुभएको हो। २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित उहाँ २०३८ सालमा अनेरास्ववियुसँग नजिक हुनुभयो। उहाँ राजनीतिक सङ्गठनमा औपचारिक रुपमा २०४० सालमा कम्युनिस्ट पार्टीमा आबद्ध हुनुभएको हो। २०४५ सालको विद्यार्थी आन्दोलनमा सक्रिय हुनुभएका कुँवर २०४६ सालको आन्दोलनमा सक्रिय हुनुभयो।
आन्दोलनमा सहभागी भएकै नाममा उहाँ पहिलो पटक सात दिन हिरासतमा बस्नुपर्यो। २०४७ सालमा अनेरास्ववियु अछामको अध्यक्ष बन्नुभएका कुँवरले सोही वर्ष नेकपा (माले) को सदस्यता लिनुभयो। उहाँसँग २०४९ सालमै स्थानीय तहमा वडा सदस्य बनेर काम गरेको अनुभव छ। वडा सदस्य निर्वाचित भएकै वर्ष (नेकपा) एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बन्नुभएका कुँवर २०५४ सालमा एमाले जिल्ला कमिटी उपसचिव बन्नुभयो। तल्लो तहदेखि सङ्गठित बन्नुभएका उहाँ २०६२ सालमा जिल्ला सचिव बन्नुभयो। उहाँसँग २०६६ सालमा एमाले राष्ट्रिय परिषद् सदस्य बनेर काम गरेको अनुभव छ।
२०६९ सालमा जिल्ला कमिटी अध्यक्ष बन्नुभएका कुँवरले २०७८ सम्म जिल्ला अध्यक्ष बनेर पार्टीको नेतृत्व गर्नुभयो। नेकपा (एमाले) र माओवादी केन्द्रको एकतापछि (नेकपा) बन्दासमेत उहाँले जिल्ला अध्यक्ष बनेर काम गर्नुभएको छ। नेकपा विभाजनपछि उहाँ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)तर्फ सक्रिय हुनुभयो। उहाँ साे पार्टीकाे केन्द्रीय सदस्य हुँदै अहिले पार्टीको केन्द्रीय सचिव हुनुहुन्छ।
जन्म अछामको गाउँमा भए पनि नेता कुँवरले औपचारिक शिक्षा मोरङ जिल्लाबाट लिनुभयो। विराटनगरमा फुपूको घरमा बसेर २०४२ सालमा विराटनगरको सत्यनारायण माविबाट उहाँ एसएलसी उत्तीर्ण हुनुभएको हो। २०४५ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट वाणिज्य शास्त्रमा आइकम गर्नुभयो। विराटनगरमा आइकमको पढाइ पूरा गरेपछि उहाँले काठमाडौं आएर २०४८ सालमा शङ्करदेव क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक पूरा गर्नुभयो। स्नातक तहको पढाइ पूरा गरेपछि उहाँले स्नातकोत्तर तहको पढाइका लागि केही समय प्रतीक्षा गर्नुपर्यो । उहाँले २०७२ सालमा मानविकी तथा समाजशास्त्रमा एमए गर्दै उच्च शिक्षा हासिल गर्नुभएको हो।
नेता कुँवर तीन पटक सांसद बनिसक्नुभएको छ। २०६४ सालको संविधानसभा निर्वाचनमा अछाम-१ बाट उहाँ पहिलोपटक निर्वाचित हुनुभएको हो। त्यसपछि उहाँ २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम समूहबाट निर्विरोध निर्वाचित हुनुभयो। राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेपछि उहाँ २०७९ सालको आम निर्वाचनमा अछाम-१ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको हो। उहाँ अहिले प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समिति सदस्य हुनुहुन्छ।
पार्टीको प्रतिनिधित्व गर्दा र जनप्रतिनिधि हुँदा भारत, चीन, अमेरिका, दक्षिण कोरिया, थाइल्याण्ड, कतार, हङकङ र भेनेजुएलाको भ्रमण गर्नुभएका नेता कुँवरसँग स्थानीय तह, संविधान सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यसँगै श्रम रोजगार मन्त्रीको रुपमा काम गरेको विशेष अनुभव छ।
प्रस्तुत छ – अछाम-१ का प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्रीः