• २ माघ २०८१, बुधबार

यु–१९ महिला विश्वकप

अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

blog

टस गर्दै नेपाल र अमेरिकाकी कप्तान । तस्बिर : क्यान

काठमाडौँ, माघ २ गते । आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि मलेसियामा रहेको नेपाली महिला टोली दोस्रो अभ्यास खेलमा अमेरिकासँग पराजित भएको छ ।

मलेसियाको रोयल सेलान्गोर क्लबमा बुधबार भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भयो । यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा पनि नेपाल वेस्ट इन्डिजसँग नौ रनले पराजित भएको थियो । 

जितका लागि नेपालले दिएको ५९ रनको सहज लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । अमेरिकाका लागि इसानी वाघेलाले सर्वाधिक २४ रन बनाउनुभयो ।  पूजा शाहले १० रन जोड्नुभयो । बलिङमा नेपालकी रिया शर्माले तीन विकेट लिनुभयो । कप्तान पूजा महतोले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ५८ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले १२ र पूजा महतोले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । 

बलिङमा अमेरिकाका लागि इसानी वाघेला, पूजा शाह, ऋतु सिंह, माही माधवन, सुहानी थडानी र सानवी इम्मादीले एक एक विकेट लिनुभयो । यु–१९ महिला टी–२० विश्वकप माघ ५ गतेदेखि मलेसियामा सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छ । 

नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।  

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।