गुणबहादुर रोका
सुलीकोट, चैत २५ गते । चट्टानसहितको सुख्खा पहिरो खसेपछि बेनिघाट–आरुघाट–लार्के सडक मङ्गलबार बेलुकादेखि पूर्णरूपमा अवरुद्ध बनेको छ।
धार्चे गाउँपालिका–३, दोभान नजिकैको कालाभिरमा माथिबाट ठुलो चट्टान खस्दा सडकको आधार (बेस) नै बगाएको स्थानीय युवा राज गोरखालीले बताउनुभयो।
धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार अघिल्लो दिन पनि सोही स्थानमा सानो पहिरो खसेर केहीबेर सडक अवरुद्ध भएको थियो। “हिजो डोजर लगाएर सडक खुलाएका थियौँ, तर बिहान भने ठुलो चट्टानसहितको पहिरो खसेर सडकको बेस नै बगायो,” उहाँले भन्नुभयो।
उहाँका अनुसार अब सो स्थानमा ब्लास्टिङ गरेर पुनः नयाँ बेस निर्माण गर्नुपर्ने अवस्था देखिएको छ।सुख्खा पहिरोपछि नेपाली सेनाले सडकको अवस्थाबारे स्थलगत अध्ययन सुरु गरेको छ।
रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार सडक निर्माण कार्यदलका प्राविधिक टोली घटनास्थलतर्फ पठाइएको छ। “प्राविधिक टोलीले प्रतिवेदन दिएपछि मात्र सडकको वास्तविक अवस्था र पुनः सञ्चालनको प्रक्रिया तय हुन्छ,” उहाँले भन्नुभयो ।
सडक अवरुद्ध भएसँगै सो क्षेत्रमा सवारी साधनको आवागमन पूर्णरूपमा ठप्प भएको छ।दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको स्थानीयवासीले गुनासो गरेका छन्। विशेषगरी मनास्लु क्षेत्रतर्फ जाने पर्यटकहरू प्रभावित भएका छन्।
गाउँपालिकाले यात्रुहरूलाई वैकल्पिक रूपमा सडक पारी रहेको पदमार्ग प्रयोग गर्न अनुरोध गरेको छ। उत्तरी गोरखालाई चीनको सीमासँग जोड्ने यो रणनीतिक महत्त्वको सडक विगत सात वर्षदेखि निर्माणाधीन छ।
बेनिघाटदेखि लार्के भन्ज्याङसम्म कुल १५४ किलोमिटर लम्बाइ रहेको यस सडकको ९७ किलोमिटर खण्डमा ट्रयाक खुलिसकेको छ भने बाँकी क्षेत्रमा निर्माण कार्य जारी छ ।
नेपाली सेनाको सडक निर्माण कार्यदलले बेनीघाट देखि हाबाडाँडा सम्मको ६२ किलोमिटर सडक खण्ड निर्माण गरेको छ भने हाबाडाँडा देखि लार्के भन्ज्याङसम्मको ९२ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको बताइएको छ ।
सेनाले हालसम्म ३५ किलोमिटर ट्रयाक खोलिसकेको र केही खण्डमा सवारी सञ्चालन समेत सुरु भइसकेको छ ।२०५२ सालदेखि सुरु भएको यस आयोजना विभिन्न भौगोलिक कठिनाइका कारण ढिला हुँदै आएको छ । विशेष गरी कडा चट्टानयुक्त भीर क्षेत्रमा ट्रयाक खोल्न समस्या हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको छ ।
अहिलेको पहिरोले सडक निर्माण र सञ्चालनमा थप चुनौती थपेको छ ।