बुटवल समाचारदाता
बुटवल, पुस २७ गते । राजस्व अनुसन्धान कार्यालय बुटवलले ठुलो मात्रामा भन्सार छलीको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । राजस्व छलेर काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको लु. प्र. ३००१ ख ०११४ नम्बरको गाडीबाट ३१ लाख रुपियाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको हो ।
उक्त चुरोट नेपालगन्ज हुँदै भारत लैजाने उद्देश्यले तस्करहरूले ट्रान्सपोर्टको गाडी प्रयोग गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । गाडीसहित दुई जनालाई राजस्व अनुसन्धान कार्यालयले पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको छ । भेरी ट्रान्सपोर्टको उक्त गाडी बुटवल हुँदै नेपालगन्ज लैजाँदै गरेको अवस्थामा बुटवलबाट नियन्त्रणमा लिइएको हो । चीनबाट ल्याइएको इलेक्ट्रिक चुरोटलाई काठमाडौँ, बुटवलबाट नेपालगन्ज नाका हुँदै भारत लैजाने गरिएको अनुसन्धानमा खुलेको छ ।
यस प्रकरणमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ घर भएका डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि रोजन न्यौपाने र नेपालगन्जका सनाउल्लाह अन्सारीलाई पक्राउ गरिएको छ । अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले पक्राउ गरिएकामाथि थप अनुसन्धान गरिएको र भेप काठमाडौँबाट बुटवल हुँदै नेपालगन्ज लैजाने र त्यहाँबाट भारततर्फ लैजाने गरेको देखिएको बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानबाट डायमन्ड नेपाल इन्टरनेसनलका कर्मचारी रोजन न्यौपाने र खरिद गर्नेमा नेपालगन्जका तसनिम जनरल स्टोर्स देखिएको छ । खरिद गर्ने स्टोर्सका तर्फबाट सनिउल्लाह अन्सारी पक्राउ परेका हुन् । खरिद गर्ने फर्म भने उहाँको श्रीमतीको नाममा छ । उनीहरू दुई जना पक्राउ परेपछि उनीहरूकै सूचनाका आधारमा मुस्ताङको कोरला नाकाबाट १९ हजार पिस र काठमाडौँबाट ८६ हजार पिस भेप पनि राजस्व अनुसन्धान विभाग काठमाडौँको टोलीले पक्राउ गरिसकेको छ ।
काठमाडौँबाट पनि भेप बरामद हुनुले ठुलो परिणाममा चीनबाट भेप तस्करी भइरहेको देखिएको छ । अहिले पक्राउ परेका दुबै जनाबाट मुख्य तस्करको पनि खोजी भइरहेको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । “अहिले पक्राउ परेका दुवै जना कर्मचारीका रूपमा प्रयोग भएका देखिन्छन्,” घिमिरेले भन्नुभयो, “मुख्य व्यापारीको पनि खोजी जारी छ ।”
बुटवलबाट बरामद भएको दुई हजार छ सय पिस भेपको ३१ लाख मूल्य कायम गरेर शतप्रतिशत जरिबानासहित ६२ लाख रुपियाँ बिगोबमोजिम धरौटी माग गरिएको कार्यालयका अनुसन्धान अधिकृत राजबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार दुई हजार छ सय पिस भेप ल्याउँदा एक सय पिसको मात्र बिल काटिएको छ । बरामद भएको बिल अनुसार खरिद मूल्य प्रतिपिस एक हजार ५० रुपियाँ राखिएको छ ।