काठमाडौँ, पुस २८ गते । लागुऔषधको सेवन विश्वमै गम्भीर समस्याको रूपमा देखापर्दै गएको छ । लागुऔषध सेवनले मानसिक स्वास्थ्य समस्या देखिनुका साथै परिवार, समाज र राष्ट्रमै नकारात्मक असर पर्ने जानकार बताउँछन् ।
त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा.सरोज ओझा नेपालमा पनि लागुऔषधको अवैध कारोबारले यसको प्रयोगदर बढ्दै गएको बताउनुहुन्छ ।
लागुऔषधको सजिलैसँग उपलब्धता, साथीको सङ्गत, परिवारमा एक्लोपन, बेरोजगार, जनमानसमा जनचेतनाको कमीले यसको प्रयोग बढ्दै गएको डा.ओझाको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “शिक्षा, चेतनाको कमी, अभिभावक हेलचेक्राँइ, साथीभाइको सङ्गतले, एक्लोपन, पारिवारिक समस्या, डिप्रेसन, मनोरञ्जनका लागि, उत्सुकता, पढाइमा समस्याले गर्दा यसको प्रयोग बढ्दो छ ।”
यसको प्रयोगले भविष्यमा कस्तो समस्या ल्याउछ भन्ने कुराको ज्ञान नहुँदा यस्तो समस्या निम्तिँदै गएको डा. ओझाको तर्क छ ।
त्रिवि शिक्षण अस्पतालका मानसिक विभागमा १६ देखि ७० वर्ष समूहका मानिस लागुऔषध सेवनको लतमा (रक्सी, गाँजा, ब्राउन सुगर, सुर्तीको) फसेर आउने गर्छन् ।
अस्पतालमा कुलतमा फसेर आउनेमध्ये सबैभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका रहेको डा.ओझा बताउनुहुन्छ ।
नेपालमा कति छन् लागुऔषध प्रयोगकर्ता
नेपालमा लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुसार नेपालमा एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता छन् । जसमध्ये महिला आठ हजार ७३२ अर्थात् ६.७ प्रतिशत र पुरुष एक लाख २१ हजार ६९२ अर्थात ९३.३ प्रतिशत छन् ।
लागुऔषध नियन्त्रण शाखाका उप सचिव कृष्णप्रसाद चापागाईंका अनुुसार अधिकांश लागुऔषध प्रयोगकर्ता उन्नाइस वर्षभन्दा कम उमेरमा पहिलो पटक लागुऔषध सेवन गर्ने गर्छन् ।
लागु औषध नियन्त्रण शाखाका उप सचिव कृष्णप्रसाद चापागाईंका अनुुसार अधिकांश लागुऔषध प्रयोगकर्ता उन्नाइस वर्षभन्दा कम उमेरमा पहिलो पटक लागुऔषध सेवन गर्ने गर्छन् ।
नेपालमा लागुऔषध प्रयोगकर्ताले आठ प्रकारका लागुऔषध सेवन गर्ने गरेको चापागाईं बताउनुहुन्छ । उहाँका अनुसार गाँजाजन्य पदार्थ सेवनकर्ता ८०.४ प्रतिशत छन् । त्यसैगरी, डाइजेपाप ९.४, अफिमजन्य पदार्थ ४.७, ट्रामाडोल १.९, प्रिग्यावलिन १.९, सुँघ्ने पदार्थ १.८, भ्रमात्मक पदार्थ ०.५, उत्तेजनात्मक पदार्थ ०.१ प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको छ ।
यसको प्रयोगले कस्तो समस्या निम्तिन्छ
डा.ओझाका अनुसार यसको प्रयोगले निद्रा नलाग्ने, रिसाउने, झर्किने, एकान्तमा बस्न रुचाउने, एन्जाइटी हुने, डिप्रेसन कडा खालको मानसिक रोग साइकोसिस जस्ता समस्या निम्तिने गर्छन् ।
त्यसबाहेक पढाइ कमजोर हुने, आर्थिक रूपमा कमजोर हुने, परिवारमा कलह हुने, चोरी गर्ने बानीको विकास हुने, सामाजिक विकृति निम्तिने, हत्या, हिंसा,चोरीका घटना घटाउने गर्छ ।
यसको प्रयोगले मानसिकका साथै शारीरिक समस्या निम्तिने गने चिकित्सक बताउँछन् । नेपालमा सुईबाट लागुपदार्थ प्रयोग गर्ने एचआइभी सङ्क्रमणको उच्च जोखिममा छन् । सन् २०२० को राष्ट्रिय सर्वेक्षणले नेपालमा सुईबाट लागुपदार्थ प्रयोग गर्नेहरूमा तीन प्रतिशतमा एचआइभीको सङ्क्रमण पुष्टि भएको थियो । एचआइभी बाहेक कलेजो, मिर्गौलमा खराबी देखिनुका साथै रोगप्रतिरोधात्मक क्षमतामा कमी आई सङ्क्रमण फैलिने, निमोनिया हुने जस्ता स्वास्थ्य समस्या निम्तिन्छन् ।
लागुऔषधमा फस्न नदिन के गर्ने ?
कुलतमा फसेकालाई सुरुवाती चरणमा नै पुनःस्थापना केन्द्रमा राख्नुभन्दा विशेषज्ञ चिकित्सकको सल्लाहमा औषधी उपचार गर्दा पहिलेको जस्तै समान्य जीवनमा फर्काउन सकिने डा. ओझाको भनाइ छ ।
लागुऔषधको कुलतमा फस्न नदिन आमाबुवा, शिक्षक शिक्षिका र समाजको भूमिका अमूल्य रहेकाले सचेत रहन डा.ओझाकाे आग्रह छ ।
बालबालिकालाई कुलतमा फस्न नदिन जनचेतनना अभिवृद्धि गर्ने, बालबालिका व्यवहारमा परिवर्तन आए तुरुन्त परामर्श दिने । विद्यालय, घरमा बेला बेलामा यसको प्रयोगले पार्ने असरको बारेमा जानकारी दिन, बालबालिकालाई एक्लोपन महसुस हुन नदिने, रोजगारको सिर्जना गर्न डा.ओझाको सुझाव छ ।
बालबालिकालाई कुलतमा फस्न नदिन जनचेतनना अभिवृद्धि गर्ने, बालबालिका व्यवहारमा परिवर्तन आए तुरुन्त परामर्श दिने । विद्यालय, घरमा बेला बेलामा यसको प्रयोगले पार्ने असरको बारेमा जानकारी दिन, बालबालिकालाई एक्लोपन महसुस हुन नदिने, रोजगारको सिर्जना गर्न डा.ओझाको सुझाव छ ।
यसलाई नियन्त्रण गर्न सरकाले के गर्दैछ
लागुऔषध नियन्त्रण शाखाका उपसचिव चापागाईंका अनुसार सरकारले लागुऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना २०७९–२०८४ बनाएर काम गर्दै आएको छ ।
यसलाई नियन्त्रण गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी संयुक्त रूपमा लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण गर्ने गरेको उहाँको भनाइ छ ।
यसका साथै सीमा जोडिएका देशका सुरक्षा निकायसँग लागुऔषध अपराध नियन्त्रणसम्बन्धी सीमा क्षेत्रस्तरीय समन्वय गरेको चापागाईं बताउनुहुन्छ ।
लागुऔषध कुलतमा फसेकालाई कुलतबाट छुटाई समाजमा पुनःस्थापना गर्न नेपालभर २४० वटा पुनःस्थापन केन्द्र सञ्चालनमा छन् ।