• १६ भदौ २०८१, आइतबार

तीन चलचित्र प्रदर्शनको तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १० गते । चलचित्र क्षेत्र लयमा फर्किएसँगै सिनेमा हलमा चलचित्र प्रदर्शनमा आउने क्रम जारी छ । कोरोना सङ्क्रमणको तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली चलचित्रको प्रदर्शनी मिति घोषणा भइरहेका छन् । निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीका अनुसार कोरोनाकालमा धेरै चलचित्र बने र थन्किए । कुनै चलचित्र पूरै हलमा प्रदर्शन हुन सकेन । बीचमै रोक्नुप-यो ।

प्रदर्शनीमा आएको चलचित्रले पनि सोचेजस्तो कमाइ गर्न सकेन । नेपाली चलचित्र हिन्दी चलचित्रको मारमा पर्ने गरेको उहाँको भनाइ छ । कुनै पनि पर्व र बिदाको दिनमा प्रदर्शन गरेमा दर्शक आउने अधिकारीको विश्वास छ त्यसैले चलचित्र रिलिजका लागि यस्तै दिन रोज्ने गरिन्छ । 

दशैँको मुखमा तीन प्रतीक्षित नेपाली चलचित्रबीच प्रतिस्पर्धा निश्चित भएको छ । बारम्बार मिति तोकेर पनि प्रदर्शन हुन नपाएको चलचित्र ‘प्रेमगीत ३’ले अन्ततः असोज ७ लाई नयाँ मिति घोषणा गरेको छ । स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य भूमिका रहेको छ । केही समयअघिसम्म निर्माताले यो चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शनी गर्ने बताए पनि निर्माताले नयाँ पोस्टरसहित नेपालमा रिलिज घोषणा गरेको थियो । 

दशैँमा नै ‘परदेशी २’ले प्रदर्शन मिति तोकेको छ भने दिवाकर भट्टराईको ‘हनी बनी’ले पनि दशैँमा नै आउने घोषणा गरेको छ । ‘छक्का पञ्जा ४’ पनि दशैँमा नै आउने निर्माताले अनौपचारिक घोषणा गरिसकेका छन् । छायाङ्कन नहुँदै ‘छक्का पञ्जा ४’ले असोज ७ गतेलाई प्रदर्शन मितिका रूपमा तय गरिसकेको थियो । उक्त मितिमा ‘प्रेमगीत ४’ आउने भएपछि ‘छक्का पञ्जा’लाई दशैँमा निश्चित मिति छनोट गर्न दबाब छ ।

असोज १४ गते नारायण रायमाझी निर्देशित मल्टिस्टारर फिल्म ‘परदेशी २’को रिलिज मिति तय भइसकेको छ । यस्तोमा ‘छक्का पञ्जा ४’को प्रतिस्पर्धा प्रेमगीत वा परदेशीमध्ये कुनै एकसँग हुने निश्चित छ ।‘छक्का पञ्जा ४’ निर्माता तथा अभिनेता गिरीले भन्नुभयो, “हामी असोज ७ वा १४ गतेमध्ये कुनै एक फिल्मलाई लिएर खुला छौँ । एउटा न एउटासँग त जुध्नैपर्छ ।” फिल्म निर्माता दशैँलाई व्यावसायिक हिसाबले आकर्षक समयका रूपमा लिने गर्छन् असोज ७ गते नै विश्वचर्चित हलिउड फिल्म ‘अवतार’ पुनः प्रदर्शन हुने तयारीमा छ ।