• ५ जेठ २०८१, शनिबार

सुनसरीमा कांग्रेस पहिलो

blog

सुनसरी समाचारदाता

सुनसरी, जेठ १० गते । १२ वटा स्थानीय तह रहेको सुनसरीमा सातवटा प्रमुख जितेर नेपाली कांग्रेस पहिलो बनेको छ । दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका रहेको सुनसरीमा कांग्रेसले छवटा तहमा उपप्रमुखसमेत जितेको छ । यता दोस्रो स्थानमा रहेको नेकपा (एमाले)ले तीन पालिकाको प्रमुख र पाँच पालिकाको उपप्रमुखमा जित हासिल गरेको छ । 

कांग्रेसबाट इटहरी उपमहानगरपालिकाको प्रमुखमा हेमकर्ण पौडेल विजयी हुनुभएको छ । त्यसैगरी इनरुवा नगरपालिकामा प्रमुखमा कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका केदार भण्डारी र उपप्रमुखमा विनीताकुमारी मेहता निर्वाचित हुनुभएको छ । त्यस्तै दुहबी नगरपालिकाको प्रमुखमा वेदनारायण गच्छादार र उपप्रमुखमा मेनुका पोखरेल निर्वाचित हुनुभएको छ । वराहक्षेत्र नगरपालिकाको प्रमुखमा रमेश कार्की विजयी हुनुभएको छ ।

कांग्रेसबाट विजयी हुनेमा गाउँपालिकातर्फ भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा अजमल अख्तर मियाँ र उपाध्यक्षमा सनिताकुमारी उराव हुनुहुन्छ । त्यसैगरी हरिनगर गाउँपालिकाको अध्यक्षमा गफार अन्सारी मियाँ र उपाध्यक्षमा रिमझिमकुमारी भगत कांग्रेसबाट निर्वाचित हुनुभएको छ । कोसी गाउँपालिकाको अध्यक्षमा ऐयुव अन्सारी र उपाध्यक्षमा अनितादेवी यादव पनि कांंग्रेसबाट विजयी हुनुभएको छ । देवानगञ्ज गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट प्रतिनिधित्व गर्दै उम्मेदवार बन्नुभएकी कुमारीविभा यादव निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेबाट रामधुनी नगरपालिकाको प्रमुखमा शङ्करलाल चौधरी र उपप्रमुखमा तारा थापा विजयी हुनुभएको छ । गाउँपालिकातर्फ एमालेबाट बर्जु गाउँपालिकाको अध्यक्षमा जिवछकुमार राय र उपाध्यक्षमा नीतुकुमारी चौधरी तथा गढी गाउँपालिकाको अध्यक्षमा आशनारायण चौधरी र उपाध्यक्षमा अनिताकुमारी साह निर्वाचित हुनुभएको छ । त्यसैगरी एमालेबाट इटहरी उपमहानगरपालिकाको उपप्रमुखमा सङ्गीताकुमारी चौधरी निर्वाचित हुनुभएको छ भने वराहक्षेत्र नगरपालिकाको उपप्रमुखमा नन्दकुमारी राई निर्वाचित हुनुभएको छ ।

यस्तै स्वतन्त्र र जसपाका उम्मेदवार एक/एक पालिकाको प्रमुख पदमा विजयी हुनुभएको छ भने माओवादी केन्द्रले भने एक पालिकामा उपप्रमुख पदमा जित हासिल गरेको छ । 

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई प्रमुखमा निर्वाचित हुनुभएको छ । धरानमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा उपप्रमुखमा विजयी हुनुभएको छ । त्यसैगरी देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका वेचनप्रसाद मेहता विजयी हुनुभएको छ ।