• १८ असार २०८१, मङ्गलबार

एन्फा निर्वाचनमा वर्तमान अध्यक्ष शेर्पाको प्यानलसहित उम्मेदवारी

blog

उम्मेदवारी घोषणा कार्यक्रममा कर्माछिरिङ शेर्पा । तस्बिर : श्याम चित्रकार

काठमाडौँ, जेठ ९ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहले अध्यक्षमा प्यानलसहित उम्मेदवारी दिएको छ ।

सोमबार एक कार्यक्रमबीच प्यानलसहित उम्मेदवारी घोषणागरी शेर्पा समूहले सामेबारनै एन्फा मुख्यालय पुगेर  उम्मेदवारी दर्ता गराएको हो । नेपाली फुटबलको संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सवलीकरण र व्यावसायिकता हाम्रो अभियान’ भन्ने चुनावी नारा तय गरेको शेर्पा प्यानलले अध्यक्ष, उपाध्यक्ष सहित सदस्यहरुमा समेत उम्मेदवारी दिएको छ । 

शेर्पाको प्यानबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षहरुमा दीर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ, उपेन्द्रमान सिंह र विज्ञानराज शर्माले उम्मेदवारी दिनुभएको छ । यसैगरी सदस्यहरुमा १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

सदस्यहरुमा दिपक थापा, प्रविन यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ,  टिकाराम लामा, प्रदेश सिंह राठौर, भरत बुढ थापा, अनिल श्रेष्ठ, रमेश व्यन्जनकार, मणिराज विष्ट र मनिष जोशी हुनुहुन्छ । दुई महिला सदस्य र थप सदस्यको उम्मेदवारी पनि छलफल गरेर दर्ता गराईने शेर्पासमूहमै खुल्नुभएका एन्फाका वर्तमान महासचिव इन्द्रमान तुलाधरले बताउनुभयो । 

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शेर्पाले आफूले अघिल्लो कार्यकालका लागि निर्वाचनमा उम्मेदवारी घोषणा गर्दा गरेका बाचाहरु चार वर्षमा पूरा गरेको बताउनुभयो । ‘चार बर्षमा धेरै काम भएका छन् । बीचको दुई बर्ष कोरोना कारण चाहेजति गर्न सकिएन । फुटबलमा पारदर्शिता कायम गर्न र  व्यवस्थित बनाउन हामीले सक्दो प्रयास गरेका छौँ । म फुटबल छाडेपछि कसैको टिका टिप्पणी गर्दिन । आफ्नै काम गरेर बस्छु । फुटबलको अध्यक्ष बनेर मैले घरमा काम गर्ने माली र भान्से समेत एन्फाको पैसाबाट राखेको छैन । मैले घरको टेलिभिजन पनि एन्फाको पैसाबाट किनेको छैन । फुटबललाई घर चलाउने माध्यम बनाउनु हुन्न भन्ने मेरो भनाई हो,’ शेर्पाले भन्नुभयो । 


उम्मेदवारी घोषणा कार्यक्रममा शेर्पा समूह ।

यसअघि एन्फामा असन्तुष्ट समूहको नेतृत्व गर्दै आउनुभएका वर्तमान वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्षमा मनोनयन दर्ता गरिसक्नुभएको छ । नेम्वाङ समूह भने प्यानल बनाउन ब्यस्त रहेको छ । एन्फा निर्वाचनका लागि जेठ १२ गतेसम्म उम्मदवारी मनोनयन दर्ता समय तोकिएको छ ।

एन्फा निर्वाचनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष र १५ सदस्यगरी २१ जना पदाधिकारी निर्वाचित हुनेछन् । चार बर्षअघि भएको निर्वाचनमा शेर्पा समूह अत्याधिक मत ल्याएर विजयी भएको थियो । त्यतिवेला नेम्वाङ पनि शेर्पाकै समूहमा हुनुहुन्थ्यो । सोमबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा शेर्पा समूहले आफ्नो पक्षमा ५४ जना प्रतिनिधि स्वतस्फूर्त खुलेको दावी गरेको छ । 

यसैगरी सोमबारनै पत्रकार सम्मेलनगरी एन्फाका मार्केटिङ एण्ड एजुकेसन समिति प्रमुख तथा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीवराज पौड्यालले पनि सोमबार पत्रमार सम्मेलन गरी आगामी ६ असारमा हुने एन्फा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । उहाँले मंगलबार उम्मेदवारी दर्ता गर्ने बताउनुभएको छ ।