गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ९ गते । गायक सुमनशेखर मानन्धरको स्वरमा सजिएको उर्दु गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्वचलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ ।
गायक सुमनशेखरले भारतीय उपमहाद्वीपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दु भाषी जनतालाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार गरेको जानकारी गराए । कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका गायक मानन्धरले सोही बसाइले आफूलाई उर्दु गीत, गजल र सायरीमा चाख बसेको र सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताए ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमनशेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मिहिनेतको प्रशंसा गरेका थिए । नीर शाहले आफू पनि गीत-सङ्गीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको सङ्गमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखेका थिए ।सञ्जीव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् भने गीतमा सम्पादन तथा भीएफएक्स धुव्रराज पराजुलीको रहेको छ ।