• ९ पुस २०८१, मङ्गलबार

विदेशको भन्दा राम्रो कमाइ

blog

खुवा बनाउँदै ललितपुरको बुखेलका किसान । तस्बिर : भेषराज

ललितपुर, जेठ ९ गते । छ वर्ष मलेसिया बसेर फर्केका दक्षिण ललितपुर मानिखेलका राजेश घिमिरे पाँच वर्षदेखि पशुपालनमा रमाइरहनुभएको छ । १८ वटा भैँसी र एउटा गाई पालिरहनुभएका घिमिरे दैनिक एक सय लिटरभन्दा बढी दूध बिक्री गर्नुहुन्छ । घरपरिवारसँगै बसेर मलेसियाभन्दा राम्रो कमाइ भएपछि आगामी दिनमा यसै व्यवसायलाई नै विस्तार गर्ने योजना घिमिरेले सुनाउनुभयो ।

बाउबाजेकै पालादेखि पशुपालनलाई मुख्य पेसाका रूपमा अँगाल्दै त्यसैमा रमाइरहनुभएका सङ्खुका दीपक हुमागाईंलाई जीविकोपार्जनकै लागि विदेशिने या वैकल्पिक पेसाको खोजीमा लाग्ने कुराप्रति कुनै मोह छैन । उहाँ पनि पशुपालनमै रमाउनुभएको छ । 

भिसा लगाएर पनि मलेसिया जान नसक्नुभएका बुखेलका सन्तोष तिमिल्सिनाले पनि ११ वर्षदेखि १३ वटा भैँसी र तीनवटा गाई पाल्नुभएको छ । दैनिक ८० लिटरभन्दा बढी दूध उत्पादन गर्ने तिमिल्सिनाले दैनिक तीन धार्ने खुवा पनि बनाउनुहुन्छ भने अरू दूध बिक्री गर्दै आउनुभएको छ ।

दक्षिण ललितपुरका किसान पशुपालन र कृषिप्रति आकर्षित भएका छन् । ललितपुरको दक्षिणी क्षेत्र विशेषगरी बुखेल, सङ्खु दूध उत्पादनका लागि अगाडि छन् । देवीचौर, धुसेल, भट्टेडाँडा, मानिखेल, गोटीखेललगायतका क्षेत्रमा पनि पशुपालनका लागि राम्रो मानिन्छन् । 

चितवन र काभ्रेपछि सबैभन्दा बढी दूध उत्पादन गर्ने जिल्लाका रूपमा रहेको ललितपुर पशुपालन अभियानकै रूपमा अगाडि बढिरहेको छ । दूधबाट मात्रै गाउँमा वार्षिक करोडौँ रुपियाँ भित्रिने गरेको छ ।ललितपुर दूध उत्पादनका हिसाबले तेस्रो जिल्लाका रूपमा पर्छ । जिल्लाभर ६० वटा प्रारम्भिक सहकारी संस्थाले दूध सङ्कलन गर्छन् ।

विशेषगरी दक्षिण ललितपुर भैँसीको दूध उत्पादनका हिसाबले चिनिन्छ । दैनिक ७० देखि ८० हजार लिटर दूध उत्पादन हुने र यो क्षेत्रमा खुवाको बजार पनि राम्रो भएको कृषि सहकारी सङ्घ, ललितपुरका व्यवस्थापक उद्धवप्रसाद घिमिरेले बताउनुभयो । उहाँको अनुभवमा पछिल्लो समय दूध उत्पादन बढेकै छ तर यसमा लाग्ने किसानको सङ्ख्या भने घटेको छ । खासगरी दूध सङ्कलन गर्न गाह्रो हुने क्षेत्रमा खुवा बनाउने गरिएको छ । ठूला दुर्लुङ, गिम्दी, आप्रा, प्युटारतिर खुवा बनाएर बिक्री गर्ने चलन छ । 

बाटोको पहुँच राम्रो पुगेको, सङ्कलन गर्न ढुवानीको अवस्था सहज भएका क्षेत्रमा दूध सङ्कलन गरिन्छ । बजार नजिक हुने स्थानमा दूध नै बिक्री हुन्छ, अलिक विकट ठाउँमा खुवा बनाएर बिक्री गरिएको उहाँ बताउनुहुन्छ । सङ्घले पकेट क्षेत्रको उत्पादन क्षेत्रमै चिस्यान केन्द्र स्थापना गरेको छ । किसानलाई गुणस्तर सुधारसम्बन्धी, पशुपालनको सीप र क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ ।

किसानको आफ्नै ब्रान्ड

दूध उत्पादनमा क्रियाशील ललितपुरका किसानले यसै वर्षदेखि ‘पोसिलो’ ब्रान्डमा दुग्धजन्य वस्तुको उत्पादन सुरु गरेका छन्, जुन सञ्चालनमा आएको छोटो समयमै लोकप्रिय बनेको छ । चापागाउँमा किसानकै सहभागितामा सञ्चालनमा ल्याइएको दूध प्रशोधन कारखानामा दही, दूध, पनिर, खुवा र मिठाई उत्पादन गरेर बजारमा पठाउने गरिएको सङ्घका व्यवस्थापक घिमिरेले जानकारी दिनुभयो ।

प्लास्टिक विस्थापन

दुग्ध क्षेत्रमा जति पनि भाँडाबर्तन प्रयोग हुन्छ, त्यसलाई प्लास्टिकरहित भाँडा प्रयोग गर्ने अभियान पनि सङ्घले चलाएको छ । आल्मुनियम मात्रै प्रयोग हुँदा दूधको गुणस्तरमा तलमाथि हुन पाएको छैन । 

पुस्ता हस्तान्तरणमा समस्या

यो क्षेत्रमा दूध उत्पादनदेखि बजारीकरणसम्म ढुक्क हुँदाहुँदै पनि पछिल्लो पुस्ता यसप्रति आकर्षित हुन सकेको छैन । पशुपालनमा युवालाई आकर्षित गर्न नसकेसम्म यो व्यवसायले गति लिन नसक्ने किसान बताउँछन् । दुग्ध उत्पादनको लागत घटाउने कार्यक्रम सञ्चालन गरे दूधमा आत्मनिर्भर बन्न सकिने र यो व्यवसायमा नयाँ पुस्तालाई पनि आकर्षण गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।

Author

भेषराज बेल्बासे