• १७ असार २०८१, सोमबार

सञ्चारमन्त्रीको क्षेत्रमा कांग्रेसको शानदार विजयी

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्बिर

सुनसरी, जेठ ९ गते । स्थानीय तह निर्वाचनमा सुनसरीको संसदीय क्षेत्र नम्बर ४ अन्तर्गतका चारवटा पालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका बराहक्षेत्र नगरपालिकाका अतिरिक्त कोसी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा विजय हासिल गरेको हो ।

यो क्षेत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रसमेत हो । यस निर्वाचन क्षेत्रअन्तर्गतका पालिकाको प्रमुखमा मात्र नभई उपप्रमुखसहित बहुमत जनप्रतिनिधि कांग्रेसलगायत सत्तारुढ गठबन्धनका दलका उम्मेदवार विजयी हुनुभएको छ । नेपाली काँग्रेसले विजय हासिल गरेको हरिनगर गाउँपालिका र कोसी गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत विजयी भएका अध्यक्ष र उपाध्यक्षहरू दोहोरिनुभएको छ ।

कोसी गाउँपालिकाको अध्यक्षमा एयुव अन्सारी र उपाध्यक्षमा अनितादेवी यादव दोस्रो कार्यकालका लागि काँग्रेसबाट पुनः निर्वाचित हुनुभएको छ । त्यसैगरी हरिनगर गाउँपालिकामा पनि गफार मिया अन्सारी र रिमझिमकुमारी भगतलाई दोस्रो कार्यकालका लागि जनताले नेपाली कांग्रेसबाट क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

भोक्राहानगरसिंह गाउँपालिकामा नेपाली कांग्रेसका अजमल अख्तर आजाद अध्यक्ष तथा सुनितादेवी उराँव उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी बराहक्षेत्र नगरपालिकामा निवर्तमान नगरप्रमुख रहनुभएका नेकपा (एमाले) का उमेदवार निलम खनाललाई पराजित गर्दै रमेश कार्की नगर प्रमुखमा निर्वाचित हुनभएको छ । हरिनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अन्सारीले कांग्रेसले हरिनगर मात्र नभई पूरै सुनसरी क्षेत्र नम्बर ४ नै ‘क्लिन स्विप’ गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

उहाँले जनतालाई प्राथमिकतामा राखेर काम गरेर आगामी दिनमा पनि स्थानीय बासिन्दाकै आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका बराहक्षेत्र नगरपालिकाका प्रचारप्रसार तथा परिचालन समितिका संयोजक रेवती दुलालले पार्टी यस पटक सङ्गठन सुदृढीकरणका साथै स्थानीय स्तरमा विकास निर्माण तथा जनचाहना अनुरूपका कामलाई प्राथकिमता दिएका कारण विगतदेखि पराजित हुँदै आएको बराहक्षेत्र नगरपालिकामा प्रमुखसहित बहुमत जनप्रतिनिधि निर्वाचित गर्न सफल भएको बताउनुभयो । 

उहाँले अहिले क्षेत्र नम्बर ४ मा रहेको स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूले स्थानीय सरकारका अतिरिक्त प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर जनचाहना र स्थानीय स्तरमा आवश्यक विकासका कामलाई प्राथकिमता दिने विश्वाससमेत  व्यक्त गर्नुभयो ।