शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने कुरामा कहीँ दुईमत हुँदैन तर महìवपूर्ण अर्को पक्ष के हो भने विश्वविद्यालय तथा विद्यालयको प्रमुख दायित्व विद्यार्थीको योग्यता र क्षमताको विकास गरी काम गर्न योग्य बनाउनु पनि हो तर हाम्रा विद्यालय र विश्वविद्यालयबाट उत्पादित जनशक्तिले काम पाउन सकिरहेका छैनन् । शिक्षालयबाट उत्पादित जनशक्ति केवल बेरोजगार बन्दै गएका छन् । हाम्रा तमाम उत्पादित शिक्षित जनशक्ति जागिरे मनोवृत्तिबाट ग्रसित मात्र हुने गरेका छन् । शिक्षाले किन उद्यमी मानसिकताको विकास गराउन सकेन ? हाम्रो शिक्षाले जागिर खोज्न सिकायो तर स्वरोजगार बन्न सिकाएन ।
हाम्रा विश्वविद्यालय शिक्षा सङ्कायका कतिपय शिक्षण संस्थामा विद्यार्थी उपस्थित भई पठनपाठनमा संलग्नसमेत नभए पनि परीक्षामा सामेल भई प्रमाणपत्र पाउने गरेका छन् । यस्तो सिकाइलाई गुणस्तरीय शिक्षा भन्न मिल्दैन । अझ शिक्षक उत्पादन गर्ने शिक्षाशास्त्र सङ्काय बढी संवेदनशील हुनुपर्नेमा लापरबाही भइरहेको छ । सहज रूपमा शिक्षाशास्त्री परीक्षामा सामेल हुन पाउने र उत्तीर्ण पनि हुने प्रक्रियाले योग्य र सक्षम शिक्षकभन्दा कमजोर शिक्षक बन्ने सम्भावना बढी हुन्छ । शिक्षाशास्त्रभित्रका अनेक विकृतिमध्ये नियमित रूपमा विद्यार्थी कक्षामा उपस्थित नभई परीक्षा मात्र दिएर प्रमाणपत्र लिने प्रवृत्ति एउटा जटिल समस्या हो । यहाँ पठनपाठन हुने कतिपय विषयवस्तु स्तरीयकृत नहुँदा समग्र शैक्षिक स्तर नै कमजोर बन्दै गएको छ । शिक्षाशास्त्र सङ्कायको व्यापक सुधार र परिवर्तनबिना योग्य शिक्षक उत्पादन सम्भव हुँदैन ।
अन्य विकसित देशमा शिक्षाशास्त्रमा अध्ययनरत विद्यार्थीलाई कक्षाकोठामा गई कसरी पढाउने भन्ने विषयमा नै बढी केन्द्रित गरी शिक्षण सिकाइ विधिमा पारङ्गत बनाउने प्रयास हुन्छ । त्यहाँ सैद्धान्तिक विषयमा राम्रो अङ्क ल्याउन नसक्नेले शिक्षाशास्त्रमा भर्ना हुन पाउँदैनन् । नेपालमा चाहिँ अन्य विषयमा पाउन नसके बल्ल शिक्षाशास्त्रमा भर्ना हुन आउँछन् । कमजोर विद्यार्थी पढ्न आउने शिक्षण शास्त्रबाट अब्बल शिक्षक कसरी उत्पादन हुने ? कमजोर विद्यार्थी पढ्ने ठाउँको पठनपाठनको विषयगत गहनता पनि हुने भएन ।
जबसम्म शिक्षाशास्त्रमा राम्रो अङ्क ल्याउने, नियमित पठनपाठनमा सक्रिय हुने, आफूले आर्जन गरेको शिक्षाबाट देशको उज्ज्वल भविष्य परिकल्पना गर्ने मेहनती, इमानदार, लगनशील विद्यार्थी शिक्षाशास्त्रतर्फ आकर्षित हुँदैनन्, तबसम्म मुलुकले असल प्राध्यापक शिक्षक पाउँदैन । शिक्षाशास्त्रमा पढ्न आउने राम्रा विद्यार्थीले प्रवेश गर्ने वातावरण सिर्जना गर्न जरुरी छ । पेसागत निष्ठासहितका शिक्षक उत्पादन गर्ने काम शिक्षाशास्त्रको नै हो । त्यसमा पनि प्रमुख दायित्व शिक्षाशास्त्र सङ्कायका प्रध्यापकको नै हो ।
विद्यालय तहका शिक्षकको समस्या भनेको नै संस्कारगत कुरामा लगनशीलता, पेसाप्रतिको निष्ठा, इमानदारिता, जवाफदेहिता नै ठूलो कुरा हो । शिक्षा सङ्काय प्राध्यापकले आफ्ना विद्यार्थी अर्थात् भविष्यका शिक्षकलाई दिइने सबैभन्दा महìवपूर्ण दीक्षा भनेको नै प्राज्ञिक मूल्य र संस्कार नै हो । यसर्थ यससम्बन्धमा हाम्रा विश्वविद्यालयका प्राध्यापकले आफ्ना विद्यार्थीलाई मतलब भविष्यका शिक्षकलाई कुशल संस्कार निर्माण गर्न कत्तिको योगदान पु-याउन सकेका छन् वा छैनन् ? यो गौण विषय छ । विषयवस्तुको ज्ञानका लागि अध्ययनशील संस्कार र स्वभावको खाँचो हुन्छ ।
असल प्राध्यापकबाट अध्ययनशील संस्कार सिकेका विद्यार्थी शिक्षण पेसामा प्रवेश गरेर पछि आफ्नो निष्ठाप्रति हमेशा निष्ठावान् नै रहन्छन् । यसर्थ विद्यालयको सिकाइमा होस् वा विश्वविद्यालयको सिकाइमा किन नहोस्, त्यहाँ अध्ययनशील संस्कारको जरुरत छ । असल गुरुबाट नै असल संस्कार सिकिने हो तर हाम्रा विश्वविद्यालय तहदेखिका प्रध्यापकले नै आफ्ना विद्यार्थीलाई शिक्षणसँग जोड्ने ज्ञान, सीप र कला प्रदान गर्न नसक्नुका कारणले नै विद्यालय शिक्षाको गुणस्तर माथि उठ्न नसकेको आम गुनासो छ ।
हुन त अहिले शिक्षा स्थानीय सरकारदेखि नै मूल चासोको विषय बन्दै आएको छ । हिजो केन्द्रीकृत शिक्षा प्रणालीले भद्रगोल बनाएको भनिएको शिक्षा आज स्थानीय सरकारको दायित्वमा आएको छ । शिक्षक नियुक्तिबाहेक सबै कुरा स्थानीय सरकारले नै गर्न सक्ने संविधानले व्यवस्था गरेको छ । हिजोको शिक्षालाई अनेक चर्को नारा लगाउने राजनीतिक दलहरूकै स्थानीय सरकार बन्दासमेत खासै शिक्षामा सुधार गर्न नसकेको नै ठहर हुन्छ । नीतिनिर्माण र कार्यान्वयनमा सबैको पहुँच पुगोस् भनेर गरिएको राज्यको पुनर्संरचनाको सदुपयोग अझै हुन सकेको देखिँदैन । अहिले स्थानीय सरकारले शिक्षामा के गर्न सक्छ र के गर्न सक्दैन भन्ने सवाल अन्योलमै रुमाल्लिएको छ ।
अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनीय छ । विषयगत शिक्षकको अभाव छ । कार्यरत शिक्षक पनि पूरा समय विद्यालयमा खट्दैनन् । शैक्षिक तथा पूर्वाधार विकासलाई स्रोतसाधनको अभाव छ । व्यवस्थापन समिति पनि शैक्षिकभन्दा राजनीतिक छ । अधिकांश अभिभावकको आर्थिक अवस्था कमजोर छ । दैनिक रोजीरोटीको खोजीमै व्यस्त रहनुपर्दा उनीहरू आफ्ना केटाकेटीको पढाइप्रति चासो राख्न सक्दैनन् । कमजोर आर्थिक स्थिति हुँदाहुँदै पनि कतिपय अभिभावक सामुदायिक विद्यालयमा आफ्ना केटाकेटीलाई पढाउनुभन्दा निजी विद्यालयतर्फ आकर्षित छन् ।
सामुदायिक विद्यालयको खस्कँदो मनोभावनाबाट माथि उठाउन विद्यालयका प्रअ स्वयं खटिनुपर्ने हुन्छ । विद्यालयको स्तर उठाएरै छाड्छु भन्ने मनोबल पनि चाहिन्छ । शैक्षिक र भौतिक अवस्थाका आधारमा अब्बल मानिँदै आएका विद्यालयमा पनि कुशल नेतृत्व पाउन सकेन भने त्यहाँको अवस्था पनि खस्कँदै गएको देखिन्छ । विद्यालय व्यवस्थापन र शिक्षकको मेहनतकै कारण पढाइ राम्रो बन्ने हो । शिक्षक समयमा विद्यालय नपुग्ने, कक्षामा गएर पनि पूरा घण्टी नपढाउनेजस्ता समस्यालाई प्रधानाध्यापकले समाधान गर्न सक्नुपर्छ । स्थानीय समुदाय व्यवस्थापन समिति र शिक्षक समय–समयमा बैठक बसेर विद्यालयका विषयमा छलफल गर्नु पनि त्यत्तिकै जरुरी छ । यसका लागि पनि प्रधानाध्यापककै भूमिका महत्त्वपूर्ण हुन्छ ।
स्थानीय सरकारले विद्यालय शिक्षा हाम्रो मातहत हो, हामीले जे भन्यौँ त्यो हुनुपर्छ भन्ने अहमता लिनु भने हुँदैन । शिक्षक समुदायले पनि हामी यत्रो पढेका बौद्धिक समुदायलाई यी कम पढेकाबाट हाँकिनु हुँदैन भन्न मिल्दैन । विद्यालय शिक्षालाई सुधार्न सबैको सकारात्मक चिन्तनको खाँचो छ । विद्यालयमा व्यवस्थापन समिति र शिक्षकबीच के के कुरामा मेल खाएको छैन वा द्वन्द्व बढिरहेको छ भने स्थानीय सरकारले समाधानका उपाय पत्ता लगाउने कोसिस गर्नुपर्छ । स्थानीय नियम, कानुन बनाउँदा दलीय हिसाबले एकलौटी बनाउने सोच राखेमा शिक्षामा ठूलो घात हुनेछ ।
प्रत्येक बालबालिकाको विद्यालय जाने र राम्रो शिक्षा प्राप्त गर्ने चाहना हुन्छ । यसलाई पूरा गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक र स्थानीय सरकारको भूमिकामा नै निर्भर गर्छ । शिक्षालाई केवल फेसन मात्र नबनाई जीवनोपयोगी बनाउनुपर्छ । यसर्थ शिक्षक, व्यवस्थापन समिति, स्थानीय सरकार सबैले शिक्षाको उद्देश्य डिग्री हातमा लिएर भित्तामा सजाउने मात्र नठानी यसबाट ज्ञान, सीप र कला प्राप्तिको माध्यम हो भन्ने बुझ्नु जरुरी छ ।
हाम्रा अधिकांश विद्यार्थी पढाइ सकेपछि जागिर खाने मनोदशामा झुम्मिएका छन् तर कमैमा पाइन्छ कि उनीहरू शिक्षा हासिल गरेर स्वरोजगार बन्ने । हाम्रो शिक्षाको समस्या नै यही छ । यसरी सबैले जागिर मात्र खोज्ने हो भने स्वरोजगारी शिक्षा कसैले पनि लिएनन् अनि सबैका लागि जागिर कसले दिने ? आफ्नो डिग्री र योग्यता भएर पनि रोजगारी नपाउँदा युवा जगत् बढी निराशा र कुण्ठित हुन पुग्छन् । यसर्थ हामीले दिने शिक्षाबाट सोही विषयमा नयाँ सम्भावना खोज्ने, उद्यम गर्ने सीपको शिक्षा हुनुपर्छ । त्यो दिन नसक्दा नै हाम्रा तमाम युवा डिग्री र योग्यतालाई आधार बनाएर जागिरको खोजीमा भौँतारिइरहेका छन् । यो अवस्था सिर्जना हुनुमा हाम्रो शिक्षा व्यवस्था नै जिम्मेवार छ । अबको शिक्षाले जागिरे मानसिकताबाट उठेर उद्यमी बनाउने ज्ञान र सीप प्रदान गर्न सक्नुपर्छ ।
हाम्रा विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षाले आफूले अध्ययन गरेका विषयमा नयाँ सम्भावना खोज्ने ज्ञान र सीप तयार पार्न सक्ने आँट प्रदान गर्न सकेमा सबै विद्यार्थी उद्यमी बन्नेछन् । उदाहरणका लागि अहिले अमेरिकायुरोपलगायतका विकसित देशले आफ्ना शिक्षा प्रणालीमा उद्यमी मानसिकता बढाउने कार्य गराइरहेका छन् । हामीले हाम्रो शिक्षा प्रणालीमा व्यवसाय सीप र ज्ञान बढाएर अघि बढ्न सकेमा भोलिको बेरोजगारीको समस्यालाई न्यूनीकरण गर्दै लग्न सकिनेछ । हाम्रा देशका उत्कृष्ट जनशक्ति मुलुकभित्र जागिर नपाएर अन्यत्र देशमा जागिर खोज्दै हिँडेका छन् । यहाँनिर हाम्रो राजनीतिक नेतृत्वले सोच्नुपर्छ ।