• १ जेठ २०८१, मङ्गलबार

भरोसा युवामा

blog

काठमाडौँ, जेठ ९ गते । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पर्सा जिल्ला कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका २१ वर्षीय वशिष्‍ठ कुमार निर्वाचित हुनुभएको छ । त्यस्तै सर्लाही जिल्लाको रामनगर गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २२ वर्षीय राजाबाबु यादव निर्वाचित हुनुभएको छ ।

भोजपुर साल्पासिलिछो गाउँपालिका उपाध्यक्षमा २३ वर्षीया अस्मिता कुलुङ राई, स्याङ्जाको चापाकोट नगरपालिका उपप्रमुखमा २६ वर्षीया ईशा राना र ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्षमा २६ वर्षीया अस्मिता थापा निर्वाचित हुनुभएको छ ।  उहाँहरू प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार ३२ वर्षीय बालेन शाह र भरतपुर महानगरपालिकामा युवा नेत्री रेणु दाहालले अग्रता लिइरहँदा सोही रुझान देशभरि देखिएको हो । स्थानीय सरकारको नेतृत्व युवालाई दिनुपर्छ भन्ने मतदाताको मनोविज्ञान मत परिणाममार्फत प्रस्तुत भएको छ ।

अहिले पनि जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन युवाको लर्को लाग्दा ठूलो सङ्ख्यामा युवा जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । यस आधारमा ४० लाखभन्दा धेरै युवा वैदेशिक रोजगारीमा रहँदा रेमिट्यान्समार्फत आएको रकमलाई धेरै हदसम्म उत्पादनको क्षेत्रमा लगानी गरेर सदुपयोग गर्ने जिम्मेवारी पनि स्थानीय तहका युवा पदाधिकारीको काँधमा आएको छ । 


को हुन् युवा ?

सम्पन्न निर्वाचनमा सातवटै प्रदेशका ७५३ मध्ये ५६० वटा जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको तथ्याङ्क विश्लेषण गर्दा स्थानीय सरकार सञ्चालनको दायित्व युवामा आएको देखिएको हो । यस्तो भए पनि युवाको उमेरका सम्बन्धमा एकरूपता छैन । संयुक्त राष्ट्रसङ्घले ‘युवा’ भनेर १५–२५ वर्षबीचको उमेर समूहका व्यक्तिलाई परिभाषित गरेको छ, जब कि नेपाल सरकारले १६–४० वर्षका बीचका मानिसलाई मानेको छ । कृषि क्षेत्रमा भने ५० वर्षसम्मका मानिसलाई युवा मानिन्छ तर राजनीतिमा भने युवाको परिभाषामा अन्योल छ ।त्यसैले यस अध्ययनमा ५० वर्षसम्मलाई युवाका रूपमा हेरिएको छ । निर्वाचितमा ४१–५० वर्षका समूहको बाहुल्य छ । निर्वाचित हुनका लागि २१ वर्षको प्रवेश उमेरदेखिलाई गणना गर्दा युवको अझ बढी सहभागिता छ । 

नतिजा विश्लेषण

निर्वाचन आयोगको वेबसाइटमा राखिएको तथ्याङ्कलाई विभिन्न उमेर समूहबाट अध्ययन गर्दा पालिका प्रमुख-अध्यक्षमा सबैभन्दा बढी ४१–५० वर्ष उमेर समूहबाट निर्वाचित भएको पाइएको छ । ५६० वटा पालिकाको नतिजा हेर्दा उक्त उमेर समूहमा २२० जना निर्वाचित भएका छन् । उपप्रमुख-उपाध्यक्ष पदमा पनि ४१–५० वर्ष उमेर समूहकै सबैभन्दा बढी १९६ जना निर्वाचित भएका छन् । त्यसैगरी उपप्रमुख-उपाध्यक्षतर्फ युवाको वर्चस्व देखिएको छ । उपप्रमुख-उपाध्यक्षमा सबैभन्दा बढी ३१–४० वर्ष उमेर समूहबाट २०२ जना निर्वाचित भएका छन् । सोही उमेर समूहमा १०२ जना प्रमुख-अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

सातवटै प्रदेशका ७५३ मध्ये ५६० वटा जिल्लामा  स्थानीय सरकार सञ्चालनको दायित्व युवामा आएको देखिएको छ ।निर्वाचितमा ४१–५० वर्षका समूहको बाहुल्य छ । निर्वाचित हुनका लागि २१ वर्षको प्रवेश उमेरदेखिलाई गणना गर्दा युवाको अझ बढी सहभागिता छ । 

निर्वाचन आयोगको तथ्याङ्कअनुसार ५६० स्थानीय तहमध्ये सातवटै प्रदेशमा २१–३० वर्ष उमेर समूहमा चार जना प्रमुख÷अध्यक्ष र ३९ जना उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी ५१–६० वर्ष उमेर समूहमा १८४ जना प्रमुख-अध्यक्ष र १०१ जना उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका छन् । ६१–७० वर्ष उमेर समूहमा ४२ जना प्रमुख तथा अध्यक्ष र १९ जना उपप्रमुख तथा उपाध्यक्ष निर्वाचित भएका छन् । सबैभन्दा कम ७१ वर्षभन्दा माथिको उमेर समूहका निर्वाचित भएका छन् । उक्त उमेर समूहमा आठ जना प्रमुख÷अध्यक्ष र तीन जना उपप्रमुख-उपाध्यक्ष निर्वाचित भएका छन् । 

राजनीतिमा युवालाई अवसर

यसरी हेर्दा स्थानीय तहको निर्वाचनले युवालाई नेतृत्वमा स्थापित गर्ने, विकास र समृद्धिमा पनि युवाको सहभागिता बढ्ने सङ्केत गरेको छ ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनले स्थानीय तहको सरकारमा युवालाई काम गरेर नेतृत्व क्षमता विकासको अवसर प्रदान गरेको बताउनुभयो । 

शर्माले भन्नुभयो, “स्थानीय सरकार देशको नेतृत्वतर्फ लम्किने जग हो । युवाले राजनीतिमा आफ्नो भविष्य देखेको पुष्टि यो परिणामले गरेको छ ।” नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले गतिशील र परिपक्व बन्ने र थप मेहनत गर्ने बेला भएकाले पनि यो उमेर समूहलाई मतदाताले अवसर प्रदान गरेको बताउनुभयो । सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेत्री रामकुमारी झाँक्रीले पार्टीगत राजनीतिभन्दा बाहिर रहेका युवा नेतृत्वमै पुग्ने गरी आउनु सुखद रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मुद्दा निर्माण गर्दा अलि फरक ढङ्गले सोच्नुपर्छ भन्ने सन्देश पनि निर्वाचनले दिएको छ ।”

चुनौती पनि उस्तै

कांग्रेस महामन्त्री शर्माले स्थानीय तहमा निर्वाचित युवालाई चुनौती पनि उत्तिकै रहेको बताउँदै पारदर्शी बन्नु सबैभन्दा महत्त्वपूर्ण हुने सुझाव दिनुभयो ।एमाले सचिव विष्टले जनताका आवश्यकता असीमित हुनु र स्रोतसाधनको सीमित हुँदा स्थानीय तहका पदाधिकारीलाई काम गर्न चुनौती हुने बताउनुभयो । उहाँले स्रोतसाधन परिचालनमा ध्यान पु-याउँदै जनअपेक्षा ठूलो हुँदा समस्या हुने भए पनि परिणाममुखी बन्न सुझाव दिनुभयो । 

सहरी विकासमन्त्री झाँक्रीले युवाले निर्वाचनमा भाग लिएपछि राजनीतिलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खहरेजस्तो आयो, पाँच वर्षपछि हरायो गर्ने हो भने चाहिँ केही अर्थ हुँदैन । निरन्तरता दिनुपर्छ । राजनीतिमार्फत देशका लागि ठूलो काम गर्न सकिन्छ ।”


Author

सविता, चाँदनी, अशोक, लक्ष्मण