• १९ पुस २०८१, शुक्रबार

नेपाल र अफगानिस्तानको मैत्री फुटबल रद्द

blog

काठमाडौँ, जेठ ८ गते । नेपाल राष्ट्रिय फुटबल टोली र अफगानिस्तानबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप २०२३ को तयारीमा लागि जेठ ११ र १५ गते कतारको दोहामा दुई देशबीच मैत्री खेल खेल्ने तालिका तय गरेको थियो ।

अन्तिममा अफगानिस्तानले कतार आउन नमानेपछि मैत्रीपूर्ण खेल रद्द भएको एन्फाले जनाएको छ । मैत्रीखेल रद्दभएपनि नेपाली टोली अभ्यासका लागि भने कतार जाने र त्यहाँको स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ । 

एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण खेल्न प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले हालै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसक्नुभएको छ । टोलीमा यसअघिका कप्तान किरण चेम्जोङसहित विद्रोह गरेर टोलीको प्रशिक्षण क्याम्पबाट बाहिरिएका १० खेलाडीलाई सामेल गरिएको छैन ।

एएफसी एसिया कप छनोट खेल कुवेतमा जुन ८ देखि १४ तारिखसम्म आयोजना हुनेछ । छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह  हो । यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।