काठमाडौँ, पुस १३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दिनेशकुमार यादवले मधेशका जनताको मन जित्नेगरी काम भइरहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । यादव नेपाली कांग्रेसका सेनानी देवनारायण यादव र कौशल्यादेवी यादवका सुपुत्र हुनुहुन्छ ।
उहाँको जन्म वि.सं. २०१८ साल असोजमा मावलीघर भारतमा भएको हो । उहाँको नागरिकतामा भने २०१७ साल मङ्सिर ५ गते उल्लेख छ । कांग्रेसको राजनीतिक विरासत बोकेको परिवारमा जन्मनुभएका यादव २०३६ सालमा नेविसङ्घको सदस्यता लिएर औपचारिक रूपमा राजनीति सुरु गर्नुभएको हो । सदस्यता लिएको दुई वर्षमै जिल्ला सभापति बन्नुभएका यादवले १५ वर्षसम्म लगातार नेविसङ्घको नेतृत्व गर्नुभयो ।
२०३६ सालदेखि २०५२ सालसम्म उहाँले नेविसङ्घ जिल्ला सभापति बनेर काम गर्नुभएको हो । जिल्लाको नेतृत्व गरेको लामो अनुभवपछि उहाँ २०४९ सालमा केन्द्रीय सदस्य बन्नुभयो । उहाँले स्थानीय विकासमासमेत महत्त्वपूर्ण योगदान गर्नुभएको छ । २०५४ देखि २०४९ सम्म जिल्ला विकास समिति सभापति बनेर जिल्लाको विकासका लागि काम गर्नुभएको हो ।
राजनीतिसँगै उहाँले शिक्षा क्षेत्रमासमेत विशेष काम गर्नुभएको छ । उहाँसँग २०५६ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सदस्य बनेर काम गरेको अनुभव छ । २०६३ सालमा कांग्रेसको जिल्ला सह–सभापति बन्नुभएका यादव २०६४ सालमा संविधानसभा सदस्य उम्मेदवार बनेर पराजित हुनुभयो ।
२०६६ सालदेखि २०७२ सालसम्म सप्तरी कांग्रेस सभापति बन्नुभएका यादव दोस्रो संविधानसभाको चुनावमा २०७० सालमा समेत पराजित हुनुभएको हो । पार्टीको नेतृत्वमा भए पनि उहाँ २०७४ सालको प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बन्नुभयो । तीन पटकका चुनावमा पराजित यादव २०७९ सालको सङ्घीय निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको हो । पछिल्लो समय उहाँ प्रतिनिधि सभाको पूर्वाधार विकास समिति सदस्य हुनुहुन्छ ।
प्रस्तुत छ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दिनेशकुमार यादवसँग गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेलले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो कुराकानी :