• १२ असार २०८१, बुधबार

जनप्रतिनिधिका नयाँ प्रतिबद्धता

blog

सल्यान, जेठ ८ गते । कालीमाटी गाउँपालिका सल्यानमा यस अघि निर्वाचित जनप्रतिनिधिले गाउँमै क्याम्पस सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए । पाँच वर्ष बित्यो तर गाउँमा क्याम्पस स्थापना भएन । उच्चशिक्षाका लागि सल्यान सदरमुकाम वा सुर्खेत जानुपर्ने बाध्यता छ । 

गाउँपालिकाभित्रका खरका छाना हटाउने घोषणा पनि पूरा भएको छैन । गाउँपालिका अध्यक्ष दानबहादुर केसी पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले भन्नुभयो, “गाउँमै उच्च शिक्षा अध्यापन गर्ने क्याम्पस सञ्चालन गर्न सकिएन । अब त्यसलाई पूरा गर्नेछु । खरका छानामुक्त गर्ने कार्य अब पक्कै पूरा गरिनेछ ।” 

शारदा नगरपालिका–१, श्रीनगरमा रहेको पुरानो बसपार्कलाई व्यवस्थित र आधुनिक बसपार्क बनाउने नगरपालिकाकै योजना अलपत्र परेको छ । जनप्रतिनिधिले पुरानो बसपार्कलाई हटाएर व्यवस्थित र आधुनिक बसपार्क बनाउने महत्वाकाङ्क्षी योजना नगरपालिकाको नगर सभाबाट अघि बढाएर विस्तृत अध्ययन प्रतिवेदन तयार गरे पनि योजना कार्यान्वयनमा अघि बढेन । 

नवनिर्वाचित जनप्रतिनिधिको प्राथमिकतामा बसपार्क परेको छैन । नगरप्रमुख प्रकाश भण्डारीले ज्येष्ठ नागरिकले पाउँदै आएको समाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि योजनाभन्दा आफूले अघि सारेका योजनालाई प्राथमिकता राखेर काम गर्नेछु ।”

निर्वाचनका बेला आकर्षक योजना प्रस्तुत गर्ने तर कार्यकाल पूरा गर्दासम्म बेवास्ता गर्ने समस्या पुरानो हो । सल्यानका यसअघिका जनप्रतिनिधि कमैले आफूले गरेका प्रतिबद्धता पूरा गरेको पाइएको छ । कतिपय योजना अगाडि बढाए पनि अलपत्र छ । स्थानीय तहमा प्राप्त स्रोत साधन, आन्तरिक आम्दानी र चुनावका समयमा राजनीतिक दल र उम्मेदवारले असम्भव प्रतिबद्धता गर्दा तिनको कार्यान्वयन पूरा हुन नसकेको पाइएको छ ।   

नगरप्रमुख भण्डारीले कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्न ठूला तथा साना परियोजना भित्र्याउने बताउँदै साना तथा मझ्यौला उद्योग व्यवसाय सञ्चालन गर्ने, पर्यटन विकास–आर्थिक सम्मृद्धिको आधारलाई मूर्त रूप प्रदान गर्ने, धार्मिक सङ्ग्रहालय निर्माण गर्नेलगायतका योजना तयार पारिएको बताउनुभयो ।

दार्मा गाउँपालिका सल्यानले राप्ती राजमार्गलाई थारमारे हुँदै गाउँपालिका केन्द्र फारुलाचौरसम्म बाह्रैमास सञ्चालन गर्ने योजना अघि सारे पनि अधुरै छ । गाउँपालिकामा पुरानै अध्यक्ष निमबहादुर केसी अहिले पनि निर्वाचित हुनुभएको छ । उहाँले स्थानीय तहमा पहिलो कार्यकाल भएकाले आधारभूत काम सुरु भए पनि सङ्घ र प्रदेशले आफ्नो माग सुनुवाइ नगरेकाले प्रतिबद्धता पूरा नभएको बताउँदै भन्नुभयो, “स्थानीय तहमा आउने स्रोतले सबै काम गर्न सकिएन । यस पटक पूरा गरिनेछ ।” 

सल्यानको पर्यटकीय स्थल कुपिण्डे तालमा आवश्यक पूर्वाधारसहित काम गर्ने भनी यसअघिका जनप्रतिनिधिले प्रतिबद्धता जनाए पनि तालसम्म पुग्ने सडकको अवस्था जीर्ण छ । पानी परेको समयमा यातायातका साधन कुपिण्डे तालसम्म पुग्न सक्दैनन । नवनिर्वाचित नगरप्रमुख कर्णबहादुर बुढाथोकीले कुपिण्डे ताल सल्यानको मात्र नभएर कर्णालीकै पर्यटकीय स्थल भएकाले पर्यटन प्रवर्धनमा काम गर्ने बताउनुभयो ।

Author

प्रतीक इच्छुक शर्मा