• १२ माघ २०८१, शनिबार

यसपटक भर्ना भएकै दिन पाठ्यपुस्तक हातमा

blog

काठमाडौँ, पुस १० गते । आउने शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यार्थीलाई भर्ना भएकै दिन पुस्तक हातमा उपलब्ध गराउने योजनाका साथ पाठ्यपुस्तक छपाइको गतिलाई तीव्रता दिएको छ । लामो प्रयासपछि पछिल्ला केही वर्षदेखि केन्द्रले विद्यार्थीलाई शैक्षिक सत्र सुरु हुनेबित्तिकै पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । 

विद्यालय तहका लागि आवश्यक पर्ने पुस्तक छपाइको काम सरकारी स्वामित्वको उक्त केन्द्रले गर्दै आएको छ तर शैक्षिक सत्र सुरु हुने बेलासम्म जनक शिक्षाबाट मात्रै छाप्दा विद्यालयमा आवश्यकता अनुसारको पुस्तक उपलब्ध गराउन नसक्ने अवस्था आएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी प्रकाशन गृहको पनि सहयोग लिने गरेको छ । 

यस वर्ष जनक शिक्षाले विद्यालय तहका विद्यार्थीका लागि कुल एक करोड ८० लाख थान पुस्तक छाप्नुपर्ने हुन्छ । त्यसमध्ये एक करोड २० लाख थान पुस्तक छापिसकेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार अब करिब ५५ लाख थान पुस्तक मात्रै छाप्न बाँकी छ । बाँकी पुस्तक छपाइको काम पनि धमाधम भइरहेको छ । अहिले जनक शिक्षाभित्र छपाइ, बाइन्डिङ, कटिङ, स्टिचिङसमेत गरेर दुई दर्जन मेसिन सञ्चालनमा छन् । 

बिहानदेखि बेलुकासम्म पुस्तक छपाइको काम भइरहेको छ । पुस महिनाको उत्पादन तथ्याङ्क हेरेर आवश्यकता प¥यो भने माघ महिनामा रातको समयमा पनि पुस्तक छपाइको काम गर्ने योजना बनाएको झाले बताउनुभयो । 

प्रबन्ध सञ्चालक झाले भन्नुभयो, “यस पटक फागुन महिनाभित्रमा नै पुस्तक छपाइ सकेर बिक्री वितरण खुलाउने योजनामा म छु । सोही अनुसार काम पनि भइरहेको छ ।” विगत केही वर्षदेखि जनक शिक्षाको पुस्तक छपाइमा प्रगति देखेर सरकारले निजी क्षेत्रको दायरालाई क्रमशः घटाउँदै लगेको छ । विद्यालय तहमा कक्षा १ देखि १२ सम्मका लागि आवश्यक पर्ने पुस्तकमध्ये सरकारले गत वर्ष कक्षा १ देखि ४ सम्मको जिम्मेवारी निजी प्रकाशन गृहलाई दिएको थियो तर यस वर्ष भने निजी प्रकाशनले १, २ र ४ कक्षाको मात्रै पाठ्यपुस्तक छपाइ गर्न पाउने निर्णय यसअघि नै भइसकेको छ । 

यस वर्ष आफूहरूले छाप्नुपर्ने कक्षा १, २ र ४ बाहेकका पाठ्यपुस्तकमध्ये कक्षा ३ को पुस्तक भने गत वर्ष नै छापिसकेको झाले बताउनुभयो । उहाँका अनुसार जनक शिक्षालाई कक्षा १ देखि १२ सम्मकै पुस्तक छाप्ने अधिकार भए पनि व्यस्तताका कारण छपाइ गर्न सकिएको थिएन । तर, गत वर्ष आफूहरूले अन्य कक्षाका पुस्तक छापिसकेर बाँकी रहेको समयमा ३ कक्षाको पुस्तक पनि छापेको र उक्त पुस्तक आउने शैक्षिक सत्रमा प्रयोग गर्न मिल्ने भएका कारण जनक शिक्षा वा निजी कुनै पनि प्रकाशन गृहले छाप्न नपर्ने झाले बताउनुभयो । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।