• १३ साउन २०८१, आइतबार

हेटौँडामा तीस वर्षको एमाले विरासत गुम्यो

blog

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ ८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले तीस वर्षदेखि हेटौँडाको स्थानीय निर्वाचनमा राख्दै आएको वर्चश्व यस पटक गुमाएको छ । नेकपा (एमाले)ले २०४९ सालको स्थानीय निर्वाचनदेखि नै आफ्नो वर्चश्व राख्दै आएको थियो । २०४९ सालको साबिकको हेटौँडा नगरपालिकामा प्रमुख र उपप्रमुखमा विजयी भएपछि हेटौँडालाई नेकपा (एमाले)को गढका रूपमा चिनिँदै आएको थियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामाले प्रमुख पदमा विजयप्राप्त गरेसँगै नेकपा (एमाले)को गढ भत्किएको छ । नेकपा (एमाले)विरुद्ध हेटौँडामा यो तेस्रो पटकको गठबन्धन हो । अघिल्ला दुई निर्वाचनमा गठबन्धनविरुद्ध नेकपा (एमाले)ले सहज जित निकालेको थियो । उपप्रमुखमा नेपाली काँग्रेसका राजेश बानियाँ विजयी हुनुभएको छ ।

साबिकको हेटौँडा नगरपालिकामा २०४९ को स्थानीय तह निर्वाचनमा डोरमणि पौडेल प्रमुख र हरिबहादुर महत उपपप्रमुखमा विजयी बन्नुभएको थियो । यस्तै २०५४ सालको निर्वाचनमा काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नगरप्रमुखमा पौडेल र उपप्रमुखमा महत दोहोरिनुभयो । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएकोमा नगरप्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा लामा विजयी बन्नुभएको थियो । एमाले विभाजित भएसँगै लामाले नेकपा (एकीकृत समाजवादी) रोज्नुभयो ।

यस पटकको स्थानीय तह निर्वाचनमा जिल्लाको १० पालिकामध्ये नौ पालिकामा गठबन्धन गरेको सत्तारूढ दलहरूलाई हेटौँडा उपमहानगरपालिकामा गठबन्धनलाई तीन दशक लामो नेकपा (एमाले)को विरासत भत्काउने र नेकपा (एमाले)लाई विरासत जोगाउने चुनौती थियो तर लामो समय नेकपा (एमाले)मा काम गरेकी लामाले अघिल्लो निर्वाचनमा आफैँले पराजित गरेको गठबन्धनमा रहेको नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को सहयोगमा नेकपा (एमाले)को विरासत तोड्न सफल हुनुभएको हो । २०७४ को निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको नेकपा (माओवादी केन्द्र)का बलराम बललाई ठूलो मत अन्तरसहित लामाले पराजित गर्नुभएको थियो ।

बल अहिले नेकपा (एमाले)मा हुनुहुन्छ । अघिल्लो स्थानीय तह निर्वाचनमा प्रमुखमा झिनो मतअन्तरसहित पराजित बन्नुभएका आनन्दराम पराजुलीसहित अधिकांस काँग्रेसको हेटौँडा उपमहानगरपालिका प्रमुख काँग्रेसले पाउनुपर्ने दाबी थियो । काँग्रेसले प्रमुख नपाएपछि पार्टीभित्रकै अन्तरसङ्घर्षले काँग्रेसलाई नगरप्रमुखको उम्मेदवारीबाट वञ्चित गरिएको भन्दै असन्तुष्टि सार्वजनिक भएको थियो ।

उता राप्रपाबाट २०५४ को निर्वाचनमा नगरप्रमुख र २०७० मा संविधान सभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका दीपकबहादुर सिंहको नगरप्रमुखमा उम्मेदवारीपछि गठबन्धनको मत काटिने आकलन नेकपा (एमाले) नगरप्रमुखका उम्मेदवार अनन्त पौडेल र नेकपा (एमाले)का नेताहरूको थियो ।

सिंहको उम्मेदवारीले गठबन्धनका लागि मात्र होइन नेकपा (एमाले)कै लागि पनि घातक बन्यो । अघिल्ला निर्वाचनमा जस्तै काँग्रेसको मत मात्र काटिएन नेकपा (एमाले)ले आफ्नो प्रतिस्पर्धा गठबन्धनसँग नभएर सिंहसँग रहेको भन्दै गरेको प्रचार अन्ततः नेकपा (एमाले)कै लागि प्रत्युत्पादक साबित भयो ।

सिंहले मुख्य सहरी क्षेत्रको काँग्रेस र एमालेको मत काट्नुका साथै काँग्रेस र कम्युनिस्टसँग असन्तुष्ट नयाँ मतदातालाई आकर्षित गर्दै अनपेक्षित मत प्राप्त गर्न सफल हुनुभयो । नेपाली काँग्रेसभित्रको असन्तुष्टि सामान्य बन्दै गएपछि पाँच वर्ष उपप्रमुख भएर काम गरेको अनुभव, शालिनता, जनजाति मत आकर्षित गर्न सफल लामाका लागि साबिकको चुरियामाई र पदमपोखरी गाविसको मत हेटौँडा उपमहानगरपालिकाको पहिलो महिला नगरप्रमुख बन्न निर्णायक बन्यो । नेकपा (एमाले)ले यो पटक नगरप्रमुख र उपप्रमुख मात्र होइन अघिल्लो निर्वाचनमा जितेका वडाहरूसमेत गुमाएको छ ।

अघिल्लो निर्वाचनमा एक्लै प्रमुख, उपप्रमुख र १३ वटा जितेको एमाले यस स्थानीय तह निर्वाचनमा नौवटा वडाध्यक्षमा सीमित भएको छ । नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा पाँचवटा वडाध्यक्ष जितेकोमा यो पटक उपप्रमुखसहित आठवटा वडाध्यक्षमा जित हासिल गरेको छ । नेकपा (माओवादी केन्द्र)ले अघिल्लो पटक दुईवटा वडाध्यक्ष जितेकोमा यस पटक एउटा मात्र वडामा वडाध्यक्ष जितेको छ । यस्तै एकीकृत समाजवादीले नगरप्रमुख र एउटा वडाको वडाध्यक्ष जितेको छ ।

बागमती प्रदेशको एक मात्र उपहानगरपालिका प्रमुखमा आफ्नै नेतालाई पराजित गर्दै आगामी पाँच वर्षका लागि निर्वाचित लामाले शनिबार हेटौँडामा भएको गठबन्धनको विजय -यालीपछि आयोजित सभामा अधुरा काम पूरा गर्ने, घोषणापत्रअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने र सबैलाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार लामाले २३ हजार ७५ मत प्राप्त गर्दै गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभएको थियो । तेस्रो हुनुभएका राप्रपाका सिंहले २० हजार ५३१ मत ल्याउनुभएको छ ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो । साथै राप्रपाका इन्दिरा न्यौपानेले पाँच हजार ४८३ मत प्राप्त गर्नुभयो । बानियाँ अघिल्लो निर्वाचनमा हेटौँडा–५ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

धमाधम शपथ र पदभार ग्रहण

यसैबीच मकपानपुरमा स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनियताको शपथ ग्रहणसँगै पदभार ग्रहण गरेर काम थालेका छन् । मकवानपुरको १० स्थानीय तहमध्ये आठ स्थानीय तहका प्रमुख र अध्यक्षले जिल्ला न्यायाधीशबाट शपथ लिएर आफ्नो स्थानीय तहमा उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई शपथ गराएका छन् । शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै कतिपय स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखले पहिलो निर्णयसमेत गरेका छन् । हेटौँडा उपमहानगरपालिकाको प्रमुखको शपथ ग्रहण कार्यक्रम सोमबारका लागि तय भएको छ ।

यसैबीच शनिबार इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई अध्यक्ष देवकृष्ण पुडासैनीले शनिबार शपथ ग्रहण गराउनुभएको छ । शपथ ग्रहणसँगै अध्यक्ष पुडासैनी र उपाध्यक्ष उमाकुमारी लामाले पदभार ग्रहण गर्नुभएको छ । यसैगरी थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले उपप्रमुखसहित वडाध्यक्षहरू र सदस्यहरूलाई शपथ ग्रहण गराएसँगै पदभार ग्रहण गरी काम थाल्नुभएको छ ।