भाइबहिनीहरू, लामो बिदा दिइने चाडपर्व पनि सकिएको छ । मङ्सिरबाट चिसो बढ्न थाल्छ । उपयुक्त मौसम हुने भएकाले मङ्सिरमा धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजाने गरेका छन् । हुन त पुस/माघमा पनि शैक्षिक भ्रमण जाने गरिएको छ । काठमाडौँ उपत्यकाभित्रका विद्यार्थी पोखरा, चितवन, लुम्बिनी, इलामलगायतका स्थानमा घुम्न जान्छन् । बाहिरका विद्यार्थी घुम्नका लागि उपत्यकाभित्र आइपुग्छन् ।
काठमाडौँ उपत्यकाभित्र पुराना दरबार, सङ्ग्रहालय, चिडियाखाना, मन्दिर, उद्यान, राम्रा विद्यालय आदि स्थानमा घुम्न सकिन्छ । हुन त उपत्यकाभित्रका सम्पूर्ण विद्यार्थी सबै दरबार, सङ्ग्रहालय, उद्यान आदि स्थानमा घुमेका छैनन् । उपत्यकाभित्रका विद्यार्थीलाई पनि दरबार, सङ्ग्रहालय, उद्यान आदि स्थान देखाउन शिक्षकले लैजाने गर्नुहुन्छ ।
भाइबहिनीहरू, यस अङ्कमा हामी उपत्यकाभित्रका सङ्ग्रहालयका बारेमा चर्चा गर्ने छौँ । प्राचीन महत्व, ऐतिहासिक र सजिलै नपाइने वस्तुलाई राखी प्रदर्शन गर्ने स्थानलाई सङ्ग्रहालय भनिन्छ । निकै वर्षपहिलेका राजामहाराजाले प्रयोग गरेका सामान, मुद्रा, पुराना ग्रन्थ आदि सङ्ग्रहालयमा राख्ने गरिन्छ । राजाले प्रयोग गरेका पोसाक, हातहतियार, फर्निचर, श्रीपेच आदि सङ्ग्रहालयमा राख्ने गरिएको छ । विभिन्न समुदाय र जातिका मानिसको रहनसहन, पोसाक आदिका साथै विज्ञान तथा प्रविधिका बारेमा पनि सङ्ग्रहालय स्थापना गर्ने चलन छ ।
काठमाडौँ उपत्यकाका चार वटा दरबारमा सङ्ग्रहालय स्थापना गरिएको छ । बिदाका दिनमा अवलोकन गर्न सकियोस् भनेर सङ्ग्रहालयलाई शनिबार बन्द गरिँदैन । त्यसैले बिदाका दिनमा सङ्ग्रहालयमा बढी भिड लाग्ने गर्दछ । प्रायः सबै सङ्ग्रहालयमा प्रवेश शुल्क तिर्नु पर्छ । हरेक सङ्ग्रहालयमा नेपाली र विदेशीका लागि फरक फरक प्रवेश शुल्क लिइन्छ । विद्यार्थीका लागि प्रवेश शुल्कमा छुट गरिएको हुन्छ । काठमाडौँ उपत्यकाभित्र रहेका केही सङ्ग्रहालय–
हनुमानढोका दरबार सङ्ग्रहालय
काठमाडौँको हनुमानढोका ऐतिहासिक दरबार क्षेत्र हो । तत्कालीन राजा प्रताप मल्लले दरबारको मुख्य ढोकाअगाडि हनुमानको मूर्ति राखेपछि हनुमानढोका दरबार भन्न थालियो । पहिले काठमाडौँका राजा हनुमानढोकामा बस्थे । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहको पालामा राजदरबारलाई हनुमानढोकाबाट नारायणहिटी दरबारमा सारिएको थियो ।
हनुमानढोका दरबारभित्र नासलचोक, सुन्दरचोक, मोहनचोक, मूलचोक, दसैँचोक, वसन्तपुरचोक आदि चोक रहेका छन् । यहाँ थुप्रै मन्दिर पनि छन् । मल्लकालीन सामग्रीका साथै राजा पृथ्वीनारायण, राजा त्रिभुवन, राजा महेन्द्र र राजा वीरेन्द्रले प्रयोग गरेका सामग्री पनि प्रदर्शनीमा राखिएका छन् ।
पाटन सङ्ग्रहालय
पाटन दरबार निकै पुरानो हो । यहाँ केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक छ । प्रसिद्ध कृष्ण मन्दिर पनि यसै दरबार क्षेत्रमा पर्छ । दरबारअगाडि लामो ढुङ्गाको खम्बामाथि राजा योगनरेन्द्र मल्लको सालिक छ । उनको टाउकोमाथि धातुको चरा पनि छ । उनले त्यो चरा नउडुन्जेल आफू जीवित रहने बताएका थिए । यसलाई पनि युनेस्कोले सम्पदा सूचीका रूपमा सूचीकृत गरेको छ ।
यहाँ राजामहाराजाले प्रयोग गरेका पोसाक, हतियारलगायतका वस्तु राखिएको छैन । यस सङ्ग्रहालयमा मुख्य गरी धातु कलाका सामग्री राखिएका छन् ।
भक्तपुर दरबार सङ्ग्रहालय
भक्तपुरमा रहेको भक्तपुर दरबार पनि निकै पुरानो हो । प्राचीनकालमा मल्ल राजाले भक्तपुर दरबारबाट शासन गर्थे । यो दरबार क्षेत्रमा स्वर्णद्वार, पचपन्न झ्याले, न्यातपोल, सिद्धिलक्ष्मी मन्दिर, कृष्ण मन्दिर, उग्रभैरव मन्दिर, वत्सल्यदेवी मन्दिर आदि देख्न पाइन्छ । यो दरबार क्षेत्रलाई पनि युनेस्कोको सम्पदा सूचीमा सूचीकृत गरिएको छ । भक्तपुर दरबार सङ्ग्रहालयमा विशेष गरी चित्रकला (पौवा) राखिएका छन् । यहाँ केही काष्ठ र मूर्तिकला पनि हेर्न पाइन्छ ।
राष्ट्रिय सङ्ग्रहालय
काठमाडौँको स्वयम्भूनजिक छाउनीमा राष्ट्रिय सङ्ग्रहालय रहेको छ । प्रधानमन्त्री भीमसेन थापाको पालामा यो भवनमा सिलखाना अर्थात् हातहतियार राख्ने ठाउँ थियो । पछि यसलाई सिलखाना सङ्ग्रहालय बनाइयो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको पालामा यसको नाम नेपाल सङ्ग्रहालय राखियो र सर्वसाधारणलाई पनि हेर्न पाउने गरी खुला गरियो ।
पुराना कलाकृति, चित्रकला, युद्धमा प्रयोग भएका हातहतियार, विभिन्न जातजातिका वेशभूषा, नेपालका प्रख्यात योद्धाहरू भीमसेन थापा, जङ्गबहादुर, बलभद्र कुँवर, वीरभद्र कुवँर, माथवरसिंह थापालगायतले युद्धमा प्रयोग गरेका लुगा यस सङ्ग्रहालयमा हेर्न पाइन्छ ।
प्राकृतिक विज्ञान सङ्ग्रहालय
काठमाडौँको स्वयम्भू क्षेत्रमा प्राकृतिक विज्ञान सङ्ग्रहालय छ । आनन्दकुटी विद्यापीठ नामक विद्यालयको छात्रावासलाई २०३२ सालमा सङ्ग्रहालयका रूपमा विकास गरिएको हो । यो त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको छ । प्राकृतिक विज्ञान सङ्ग्रहालयमा जीव मरेपछि तिनका अवशेषलाई रसायनको प्रयोग गरी सुरक्षित राखिएको छ ।
यस सङ्ग्रहालयमा पुतली, चराचुरुङ्गी, सर्प, चरीबाघ, सेतो काग, श्रीपेचमा प्रयोग हुने प्वाँख भएको कल्की चरा, काँडेभ्याकुर, गोही जस्ता जीवको अवशेष राखिएको छ ।
नेपाली सैनिक सङ्ग्रहालय
काठमाडौँको छाउनीमा नेपाली सैनिक सङ्ग्रहालय छ । यो सङ्ग्रहालय सेनासँग सम्बन्धित छ । २०५७ सालबाट निर्माण कार्य सुरु भएको यो सङ्ग्रहालय २०६२ सालबाट सबैका लागि खुला भएको हो । यो सङ्ग्रहालयमा नेपाली सेनासँग सम्बन्धित तस्बिर, चित्रकला, पोसाक, हातहतियार, पदक आदि राखिएका छन् । सेनाले प्रयोग गरेका गाडी, तोप, विमानलगायत पनि राखिएका छन् ।
महाकवि देवकोटा सङ्ग्रहालय
काठमाडौँमा रहेको सबैभन्दा कान्छो सङ्ग्रहालयका रूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयलाई लिइन्छ । यसको उद्घाटन २०७९ असोज १४ गते भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निजी निवासलाई सङ्ग्रहालयका रूपमा विकास गरिएको छ । उहाँले प्रयोग गर्नुभएको घर पुरानो भएका कारण भत्काई हुबहु नयाँ बनाइएको छ । यो सङ्ग्रहालय डिल्लीबजारमा रहेको छ ।
यस सङ्ग्रहालयमा महाकवि लक्ष्मीप्रसादले प्रयोग गर्नुभएका पुस्तक, थाल, कचौरा, गिलास, झोला, उहाँका तस्बिर आदि राखिएको छ । उहाँका छापिएका र नछापिएका साहित्यिक कृति पनि राखिएका छन् । नयाँ बनाइएको उहाँको सालिक पनि त्यहाँ राखिएको छ ।
विज्ञान सङ्ग्रहालय
विज्ञानका बारेमा चासो राख्नेहरूका लागि कीर्तिपुरमा बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति स्थापना गरिएको छ । यहाँ विज्ञानका बारेमा करिब एक सय वटा वस्तु अवलोकन गर्न सकिन्छ । २०७६ वैशाख २८ गतेबाट सुरु गरिएको यो सङ्ग्रहालयमा भौतिक, वनस्पति, रसायन, अन्तरिक्षलगायतका विज्ञानसम्बन्धी उपकरण राखिएका छन् ।
यहाँ ‘फूलमाया’ नाम दिइएको रोबोट पनि छ । त्रिआयामी (थ्रिडी) विज्ञान सिनेमा घर पनि छ । यस सिनेमा घरमा विज्ञानका बारेमा सिनेमा हेर्न सकिन्छ । थ्रिडी सिनेमा देखाइने भएकाले स्पष्टसँग सिनेमा हेर्न सङ्ग्रहालयले अलग चस्मा उपलब्ध गराउँछ । सिनेमा हेर्दा त्यो चस्मा लगाउनै पर्छ ।
नारायणहिटी दरबार सङ्ग्रहालय
तत्कालीन राजा वीरेन्द्र जीवित रहेका बेला स्वदेशी तथा विदेशी पर्यटकले शुल्क तिरेर नारायणहिटी दरबार हेर्न पाउँथे तर केही समयपछि यस्तो व्यवस्था बन्द भयो । राजतन्त्रको अन्त्य भएपछि नारायणहिटी दरबारलाई सङ्ग्रहालय बनाइयो । यो सङ्ग्रहालयलाई २०६५ साल फागुन १६ गतेदेखि खुला गरिएको हो ।
राजदरबार हत्याकान्डका बेला गोली चल्दा भित्तामा परेका प्वाल अहिले पनि देख्न पाइन्छ । राजा वीरेन्द्रको निजी निवास श्रीसदन पनि सङ्ग्रहालय परिसरमा छ । नारायणहिटी दरबारको मुख्य भवनमा राजाले प्रयोग गर्ने गरेको श्रीपेच, राजदण्डलगायतका सामग्रीलाई बुलेट सिसाभित्र राखिएका छन् । यस भवनमा ५२ वटा कक्ष (कोठा) छ । राजाले प्रयोग गरेका विमान, बग्गी, राजपरिवारले प्रयोग गरेका गाडीलगायत पनि हेर्न पाइन्छ । दरबार परिसरभित्र गणतन्त्र स्मारक पनि निर्माण गरिएको छ ।