• ८ पुस २०८१, सोमबार

म त लालीगुराँस भएँ छु

blog

नवजारको हत्केलाले छोपेको घाम चुहिएर

साइबेरिया फेरि तात्न थालेको छ

तर मौसमको कुरा के भन्न सकिन्छ र

वृत्रासुरले कताको बादल कता फालेको छ ।

यस्तै यस्तै मनमोहक कविता तापेर हिँड्दा मन फुरुङ्ग पार्दै हिँडेको थिएँ म । रहरको झङ्कार मनभरि झङ्व्रिmत हुन थालिरहेका थिए । सङ्कोचमा बेरिँदै मनभरि श्रद्धाको सयपत्री फुलाएर एक दिन लुसुक्क साझामा पसेको थिएँ गामबेँसीका मुच्र्छनामा बेरिएर । सँघार छिचोले पनि दैलो ढकढक्याउन हात काँपे, सकिनँ । अपरिचित मानिस । अदनु अर्चनाबिच तालमेल मिलाउन धर्खरिएपछि अलिना सपना चपाउँदै बाहिरैबाट एक अँजुली स्वस्ती भित्रतिर हुत्याएर मनमनै फनक्क फर्किएँ । उनलाई मैले नदेखे पनि ‘नयाँ वर्ष’ मा भेटेको थिएँ पाठ्यव्रmममा । पेटबोलीमा निकै जुगुप्साहरू राखेर त्यसको सरलता र मनमोहक प्रस्तुतिको फेर समाउँदै धित नमरुन्जेल मन्थन गर्न पुगेको थिएँ वर्षभरि नै । पाठ्यव्रmममा जब्बर बनेर तेर्सिन आएपछि मैले त्यसलाई उपेक्षा गरेर हिँड्ने कुरा पनि भएन । हरेक दृष्टिलाई किनारामा साक्षी राखी निकै माथापच्ची गरेपछि अमलेख हुन पुगेको थिएँ त्यसको सीमा, सेरोफेरोबाट । 

सरल तरिकाले बुझ्न सक्ने घुमाउरा पाराका सङ्कथन । दाँते ओखर जस्तै मिठा र मज्जाका । बाबै नि ! यति राम्रा कविता लेख्ने मान्छे को होला ? कहाँका होलान् ? भनी निकै दिन खुलदुलीले चेप्तै गएपछि छट्पटिइरहेँ । मनमा भने उनलाई भेट्न पाए हुन्थ्यो भन्ने पातलो हुट्हुटी एकतमासले भकभक भएर उम्लिरहेको थियो ।

 त्यसताका साझा प्रकाशन, साझा औषधी पसल, साझा यातायातलगायत केही यस्तै संस्था साझाकै छानामुनि आबद्ध थिए । यसको केन्द्रीय कार्यालय महाकाल स्थानमा थियो । यसको मुली उनै रहेछन् भन्ने कुरा पत्ता लगाएपछि चिनेको नभए पनि धर्मरिँदै उनलाई भेट्ने माध्यम खोज्दै हिँडे निकै दिन ।

साझा औषधी पसलमा ओखलढुङ्गातिरका भीमप्रसाद कार्यरत थिए । उनको डेरा र म बसेको कोठा एउटै घरमा गाँसिएको हुनाले उनले उनको सबै नालीबेली सुनाए । भीमप्रसाद पनि ओखलढुङ्गाकी सावित्री थापा साझामा सदस्य सचिव वा यस्तै उच्च ओहदामा कार्यरत थिइन्; उनैमार्फत उनकै आशीर्वाद, कृपाले त्यहाँ झुन्डिन पुगेका रहेछन् ।

हाम्रो डेरा डिल्ली बजारमा थियो । एकदिन ठट्टैठट्टामा भीमप्रसादले बत्तीसपुतलीतिर गएको वेला द्वारिका होटलको दक्षिण गल्लीतिर घुसार्दै अलिपरको मध्यम काँटको एउटा पार्कोटे घरमा छिराए । कोठाभरी असरल्ल पर्दै गएका असङ्ख्य किताबको चाङ देखेपछि कहाँ र कसको घर भनी भनिरहनु परेन । एकैछिनमा उनी पनि आइहाले । 

उनलाई सामुन्ने देखेपछि सङ्कोचले चिसिँदै गएको मनस्तापलाई अलि तानतुन पारी केही भनिहाल्ने पो हुन् कि भन्ने डरले लगलग काम्दै कर जोडी स्वस्ती, जदौ गरेँ । गोलो आकृति, उज्यालो मुहार, पहेँलो रङ, चोप्टो अनुहार, गोला तर किञ्चित केही ठुला आँखा, सङ्लो पहिरन, शालीन व्यवहार, सुकिलो रूपरेखा, आकर्षक व्यक्तित्व र तिलचामले कपालले अतिव्रmमण गर्दै लगेको भूधरातल । 

भीमप्रसाद कुनै ठुलो ओहदाका कारिन्दा थिएनन् । औषधी बेच्थे साझामा । पद चाहिँ बहिदार हो वा बेसी भए मुखिया हुनु पर्छ । प्रवेशिका परीक्षामा सतचूर्ण हुने गरी हाड घोटिरहेका थिए । उसको पछि लागेर गएको एउटा मामुली फट्याङ्ग्राको हालत, हविगत कस्तो हुन्थ्यो ? त्यस्तै पँखेटा तानेको झिँगाको विपन्न अवस्थामा अनुवाद हुँदैै भन्किन पुगेको थिएँ । 

उनलाई भेट्नुको अन्तर्यमा उनी अलि उदार हृदय भएका स्रष्टा र केही गरी उनको मन पगाल्न सके यसो कतै भुन्ड्याइदिइ पो हाल्थे कि भन्ने थियो । भेट हुनासाथ सिधै मलाई जागिरमा लगाइदेऊ भनेर भन्दा निकै अशोभनीय हुने हुनाले पहिले मनलाई यसो अँचेटेर संवादलाई सापेक्ष ढङ्गबाट उपोद्यात गर्न सके उनको मनभित्र पस्ने बाटो खोज्दै उनका दुई चार थान कविता र केही चर्चित गीतको प्रसङ्ग उठाएँ । उनी अलि सहज अवतारमा अनुवाद भए र निकैबेर साहित्यमा पौडिइरहे । म अदनु वनस्खण्डी । भर्खर जसो त साहित्य पढ्दै, सिक्तै थिएँ । एकोहोरो सुनि मात्र रहेँ निकैबेर । अनि जलपान सेचनपछि हिँड्ने बेलामा उनले निकै खुसी हुँदै ‘फेरि, फेरि पनि आउँदै गर्नू है, भाइ’ भन्दै एउटा सुकिलो खाममा दुई थान किताब दिएर पिठ्युँमा धाप मार्दै बिदा गरे । 

ती दुई थान किताब उनले लेखेका नभएर ‘सहस्र सारस’ र ‘हिमप्रदेश’ नामक यासुनारी कावावाताका चर्चित आख्यानका अनुवाद रहेछन् । दुई तीन दिन भित्रै मैले पढेँ । निकै राम्रो लाग्यो ।

त्यसपछि म निकै लामो समयसम्म सडकमा घिस्रिरहेँ । उनी भने साझामा टेकेर तनहुँको बाटो हुँदै नाटकीय पाराले फुत्त फड्किँदै सिंहदरबार छिरे र सिधै केशरमहल पसेर रजगज गर्न थालि पनि हाले ।

जनमत सङ्ग्रहले रनक्क तातेको शासन व्यवस्था र त्यसका नरभक्षी मतियारहरूको चुल्ठिँदै गएको आलो तुजुक । त्यसैको छत्रछायामा काँचावायु बनेर घाट, घाटमा बौरँदै गएका पञ्चायतका सिमेभूमे, अनि माक्र्सवादी सौन्दर्य शास्त्रको गायत्री जपेर तन्किन खोजेको एउटा गन्तव्यहीन छेपारो । सामञ्जस्यता कतै नभेटे, नलागेपछि भेट गर्ने लहड मनमा हुँदाहुँदै पनि म तदुपरान्त निकै लामो समयसम्म सडकमा नै निर्बाध, निर्बन्ध बाँकटे हानेर बतासिइरहेँ ।

तर मैले उनलाई पछ्याउन भने छोडेको थिइनँ । हातमा भए पनि, पातमा भए पनि, पानामा भए पनि, गातामा भए पनि, पत्रिकामा भए पनि उनको नाम कुँदिएको एक युगलजोडी वाक्य देख्नासाथ ती अक्षरहरू चबाउँदै जान्थेँ र धित नमरुन्जेल चुसिरहन्थेँ ।

यो लहडी उन्मादले धेरै दिन तङ्ग्रिएर सडकमा सुसेल्न दिएन । पिँडौलामा पाइन र मासी सुक्तै जान थालेपछि थिल्थिलिँदै जानथालेको थियो अघोरी मानसिकता । अनायास सुकेर कलेटी पर्दै जानथालेको थैलो भर्न खुँजतिर पसेँ ।

पछि जनआन्दोलनका निशाचरहरूले पञ्चायतलाई बढारकुँढार गरी अर्यघाटमा बिसर्जन गरेपछि कता जुठे, कता जुठेकी स्वास्नी जस्तै हुनपुग्यौँ ।

अनि म विषादमा पिल्सिएर हिँड्न थाल्थेँ र उनी छेकारो काटेर घेर्न थाल्दै घम्लङ्गछोप्न आइपुगी हाल्थे– 

‘धेरै तरेँ खोलाहरूबगेँ धेरै चोटि

कस्तो जुनी दियौ आमा धन्य कोटि कोटि

................................................

उकालीमा हिँडेँ कति ओरालीमा हिँडेँ 

सिस्नुहरू समातेर भिरालीमा हिँडेँ’

सौन्दर्य सीमाको आली आली टेक्तै सदाबहार किसिमले उनी मेरो धुक्धुकी छाम्दै भित्र पस्न खोजिरहेका थिए । म उनलाई समाएर कज्याउन खोज्थेँ अनि हिले माछो जस्तै चिलित्त चिप्लेर उनी बेपत्ता हुन पुग्थे । 

ऐँठनको हुँड्याइलो कालकुट पिएर म धर्खरिन थाल्थेँ ।

अनि फेरि उनी फकाउने सुर कस्तै जान्थे । 

उनी चाँदीको थालमा सुनको चम्चाले भात खान सक्ने भएर पनि मेरा कहिरनहरू टिप्तै जान्थे र लोलीमा लोली मिलाउँदै मेरै भाकामा सलल्ल बग्न थालेर मनभित्र लुत्त छिर्न पुग्थे । अनि औधी विमोहित हुँदै जान्थेँ र खोजी, खोजी, खिपी, खिपी उनलाई फुकाउन थाल्थेँ र करजोडी अर्चना गर्दै मनमनै भट्याउन थाल्थेँ– 

‘तिम्रो कृष्ण

 तिम्रै छायामा छरिएको छ

हात थाप

अँगालोभरि हुन्छ

तिम्रो राम

तिम्रै छातीमा भरिएको छ

मन थाप

मुटु हुन्छ...।’

पञ्चायतमा लाग्नेहरूलाई बापबैरी ठान्नु र तिनीहरूको छोइछिटोबाट सातहात पर बस्नु पर्ने संचेतना बहुदलीय व्यवस्थाको पहिलो उपादान थियो । पञ्चहरूसँग सिँगौरी खेल्दै बिनाकारण उनीहरूको मान मर्दन गर्दै जानुलाई ठुलो पुरुषार्थी काम ठानिने बेला थियो । पञ्चहरूलाई थिचेर, मिचेर, चिथरेर, नङ्ग्य्राएर, टोकेर, चुसेर निकै असुराधिपतिहरू सिंहदरबार छिरि पनि सकेका थिए र छिर्ने सुरसारमा पञ्चलाई च्याँखे थापेर दाउ बल्झाउन लागिपरिरहेका थिए । सत्ताको गल्लीमा छिरेर ककसले कसरी तर मारे र को को कसरी मार्दै छन् यो त देखि जान्ने र सुनि जान्नेहरूलाई नै थाहा होला । मलाई त केही थाहा छैन । म कुवाको भ्यागुतो के भनूँ । अक्षरको उपाशक भएको नाताले मेरा धेरै अग्रज यसै कित्ताका थिए र तिनीहरूलाई स्वस्ती अर्र्पण गर्न बेला बेला म उनीहरूको घर, दैलो गरिरहन्थेँ । कसैले सुनेपछि अथवा कतै गन्ध सुँघेपछि चोसो बिगार्दै उपदेशका लामा अन्तरामा अल्झेर काँचो ज्ञान सेचन गर्दै चोख्याउन खोज्थे ।

धुन्धुकारीलाई जुठो के चोखो के ?

जजसले जेजे भनेर फकाए, फुल्याए पनि मैले रमरम बुझिसकेको थिएँ सत्ताका हिमायतीहरूबाट माखोसमेत मर्ने होइन भन्ने कुरा । त्यसैले एक कानबाट सुनेपछि कतै कानमा अल्झेर बसे पोल्ने पो हो कि भन्दै अर्को कानले त्यही समय ती आशीर्वचनहरू उडाउँदै बाटा लाग्थेँ ।

हुन त म नकहिल्यै एकदलीय हुन सकेँ न त कहिल्यै बहुदलीय । मनस्तापका बुट्यानहरूमा लेउ झैँ लागेर कुनै समय साम्यवाद टाँसिएको पनि थियो र त्यसको रापमा उम्लेर निकै दिन जिन्दावाद र मुर्दावादको मलामी बन्न पनि पुगेको थिएँ । त्यही पनि अधर्मीहरूको नरभक्षी आचरण देखेपछि त्यो पन्याइलो ज्ञान पनि अहिले त उकेरा लागेर फुमन्तर भइसकेको छ अन्तश्चेतनाबाट । 

 यसको पैशाचिक घानमा भने उनी पनि परे र ऐया समेत नभनी निकै समयसम्म भूमिगत भइरहे र–

‘कदाचित तिमी नै

पृथ्वीनारान भएका भए

नेपालको लालपुर्जा

तिम्रै नाममा बन्थ्यो होला’ भन्दै सात डाँडा काटेर अलप भए ।

५६ सालकै आसपासतिर हो जस्तो लाग्दै छ एक दिन शिव रेग्मी सरले आफ्नो घरबाट बिदा गर्न खोज्दा करेसामा टाँसिएको घरतर्फ आँल्याउँदै मलाई त्यता डो¥याएर लैजानुभएको थियो । घर निकै भव्य लागे पनि भित्र छिरेपछि उनकै घर हो रहेछ भन्ने थाहा पाएँ । दुर्भाग्य त्यस दिन उनी काम विशेषले बाहिर गएका हुनाले भेट हुन सकेन । निस्तै डाम्पाटा सपना काखी च्यापी फर्किएँ । 

त्यसपछि बाढीले स्वागत सत्कार गर्दै निकै खातिरदारी गरेर सडकमा पछारेपछि आँखा तानेर मुन्टो उठाउँदै रहर तुन्न नै पाइनँ । जिम्मेवारीले निसासिने गरी थिच्तै लगेपछि पुनर्मुसिको भवः को नियति शिरोधार्य गर्दै सडकमै निस्तेज पाहा झैँ आफ्नै अनुरागमा थुतुनु रगडेर जोतिइरहेँ ।

अनि उनी कहिल्यै नभेटिने गरी महायानको मार्गतिर लागे ।

‘मानेभन्ज्याङमा उभिएर 

आफ्नो माटो टेकिरहेको थिएँ

लिपुलेकमा रमाएर

लालीगुराँस लेखिरहेको थिएँ 

कालीमा दुवाली थुनेर

माछा छेकिरहेको थिएँ

यी र यस्तै परिवेशमा

सिङ्गो देश देखिरहेको थिएँ

तर अचानक यस्तो भयो

कि देशै भयभीत भए जस्तो भयो ।

तर पनि मेरो मनमा ढकमक्क भएर लालीगुराँस फुलिरह्यो, मनभरि फुलिरह्यो, वनभरि फुलिरह्यो, आँतभरि फुलिरह्यो, माथभरि फुलिरह्यो त्यसको सौन्दर्य सुवाशमा क्षेत्रप्रताप फुलिरहे । आँखाभरि, मुटुभरि, मानसिकताभरि । 

चन्द्रनिगाहपुर । मधुपर्क