• १० माघ २०८१, बिहिबार

संस्थानका प्रकाशनलाई प्रतिस्पर्धी बनाउन मन्त्री गुरुङको निर्देशन

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ राइजिङ नेपालको ५९ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्विरः मनोजरत्न शाही, केशब गुरुङ

काठमाडौं, पुस १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गोरखापत्रसहित संस्थानका प्रकाशनलाई  समयअनुरुप प्रतिस्पर्धी र अब्बल बनाउन निर्देशन दिनुभएको छ । 

दि राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो । सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी बनाउन त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीले नै भूमिका खेल्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । 

सरकारी सञ्चार माध्यमको विश्वसनीयता सन्तुलित समाचार भएकाले त्यसअनुरुप काम गर्दै बजारमा अब्बल भएर उभिन उहाँले निर्देशन दिनुभयो । व्यावसायिकतालाई कायम गर्दै समयअनुरुप बलियो बन्नमा सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । सरकारी सञ्चार माध्यमको भौतिक संरचना तथा जनशक्तिलाई सक्षम बनाउन पनि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । 

कर्मचारीको बृत्ति विकासका लागि मन्त्रालयले काम गरिरहेको र नयाँ विनियमावली चाँडै आउने उहाँले विश्वास दिलाउनुभयो । सरकारको मिसन राजनीतिक स्थायित्व कायम गर्ने भएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले राजनीतिक स्थायित्वले विकास र काममा स्थायित्व हुने बताउनुभयो । 

त्यस्तै, आजको चुनौतीपूर्ण अवस्थाको सामना गर्न संस्थानलाई समयअनुसार बलियो र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारी सञ्चार माध्यमलाई बलियो बनाउन बजेटको सीमामा रहेर मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ ।  


चुनौतीविच समाधान खोज्नमा आफू रमाउने गरेको बताउनुहुँदै मन्त्री गुरुङले पत्रकारिता क्षेत्रसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेर काम गर्न पाउँदा आफू सन्तुष्ट रहेको बताउनुभयो । सरकारी सञ्चार माध्यम, हुलाक लगायतका संस्थाको नयाँ ऐनको मस्यौदाको काम मन्त्रालयले सुरु गरिरहेको बताउनुभयो । 

सरकारको लक्ष्य सुशासन

सरकारले सुशासन कायम गर्नेगरी काम गरिरहेको बताउनुभयो । अहिलेको सरकारको मूख्य लक्ष्य पनि सुशासन कायम गरी मुलुकको विकास गर्ने रहेको उहाँको भनाइ छ । प्रमुख दुई दलको नेतृत्वमा सरकार भएकाले सरकारको काम पारदर्शीरुपले भइरहेको बताउनुभयो । प्रमुख दुई दलको एजेण्डा पनि सुशासन कायम गर्ने भएकाले वर्तमान सरकार सोहीअनुरुप काम गरिरहेको उहाँले चर्चा गर्नुभयो । अहिलेको सरकारले मुलुकमा स्थायित्व कायम गर्ने र पारदर्शी विकास गर्नेमा उहाँले स्पष्ट पार्नुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले दि राइजिङ नेपाल र अनलाइन संस्करणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठकहरुसमक्ष विश्वसनीय सूचना प्रवाह गरिरहेको बताउनुभयो । यस पत्रिकाले विश्व समुदायलाई नेपालको खबरबारेमा सुसुचित गराउँदैआएको उहाँले चर्चा गर्नुभयो । 


गोरखापत्र संस्थानले नेपालको विविधतालाई एकतावद्ध गर्ने काम पत्रकारिताको माध्यमबाट योगदान दिइरहेको उहाँले बताउनुभयो । गोरखापत्र संस्थानका प्रकाशनले निजी मिडियाहरुसँग तिव्र रुपमा प्रतिस्पर्धा गर्नुपरेको बताउँदै उहाँले संस्थानका प्रकाशनलाई त्यहीअनुरुप रुपान्तरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । प्रतिस्पर्धी बनाउन गहिरो समिक्षा गरी काम अघि बढाउन उहाँले संस्थान परिवारलाई आग्रह गर्नुभयो । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनलाई जिडिटल बनाउने अभियानमा संस्थान रहेको बताउनुभयो । दि राइजिङ नेपाल अंग्रेजी पाठकको पाठशाला रहेको चर्चा गर्नुहुँदै उहाँले नेपालको सबैभन्दा ठुलो मिडिया शक्तिको रुपमा गोरखापत्र संस्थान रहेको बताउनुभयो । यो वर्ष संस्थानको ऐन, विनियम परिवर्तन हुने कुरा मन्त्रीले जानकारी गराउनुभएकोप्रति उहाँले खुशी व्यक्त गर्नुभयो । 


“मन्त्रीज्यूको कार्यकालमै संस्थानले नयाँ भवन पाउने विश्वास गर्दछु” अध्यक्ष सुवेदीले भन्नुभयो ।  त्यसकालागि प्रशासनिक रुपमा संस्थानले तयारी गरिरहेको उहाँले बताउनुभयो । संस्थानको स्तरबृद्धिका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग भइरहेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राइजिङ नेपाल ५९ औं वर्ष पूरागरी ६० औं वर्षमा प्रवेश गरेको बताउनुहुँदै राइजिङ नेपाल सुरु गर्ने र यहाँसम्म ल्याइपुर्याउने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । राइजिङ नेपालसहित गोरखापत्रको व्यावसायिक विकासका लागि गोरखापत्र परिवारका सबैले योगदान दिन उहाँले आग्रह गर्नुभयो । 


गोरखापत्रको कल्याणकारी कोष, कर्मचारीको वृत्ति विकासका लागि व्यवस्थापनले काम गरिरहेको बताउनुभयो । संस्थानको नयाँ विनियमावली ल्याउन संस्थान व्यवस्थापनले काम गरिरहेको र मन्त्रालयले पनि त्यसमा गम्भीरतासाथ काम गरिरहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । 

प्राध्यापक तथा राइजिङ नेपालको पूर्व प्रधान सम्पादक पी. खरेलले राइजिङ नेपालले नेपालबारे विश्वलाई चिनाउन योगदान गर्दैआएको बताउनुभयो । पब्लिक सर्भिस ब्रोडकास्टिङ (पिएसवी) विश्वको अभ्यासअनुरुप हुनुपर्ने बताउनुभयो । पिएसबी अन्तर्गत संस्थानलाई पनि समेट्न सकिने उहाँले चर्चा गर्नुभयो । आफूले पनि संस्थानमा २२ वर्ष काम गरेको भन्नुहुँदै संस्थान प्रकाशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

वार्षिकोत्सवको अवसरमा राइजिङ नेपालमा कार्यरत तीन जना पत्रकारहरुलाई सम्मान गरिएको छ । उहाँहरुलाई मन्त्री गुरुङले सम्मानित गर्नुभयो । सम्मानित हुनेमा लक्ष्मण काफ्ले, अजिता रिजाल र चोलाकान्त खनाल रहनुभएको छ । उहाँहरुले राइजिङ नेपालमा उत्कृष्ट काम गरेबापत सम्मान गरिएको हो । 


त्यस्तै राइजिङ नेपालका पूर्व प्रधानसम्पादक श्यामबहादुर केसी, पर्शुराम खरेल (पी. खरेल) लाई पनि सम्मानित गरिएको छ । उहाँहरुलाई मन्त्री गुरुङ र सचिव राधिका अर्यालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । 

गोरखापत्र संस्थानको प्रकाशन दि राइजिङ नेपालको वि.सं. २०२२ पुस १ गतेदेखि प्रकाशनारम्भ भएको थियो । अहिले राइजिङ नेपालको प्रिन्ट र अनलाइन भर्सन सञ्चालनमा रहेको छ । गोरखापत्र संस्थानको अहिले गोरखापत्र दैनिक, दि राइजिङ नेपाल दैनिक, यसका डिजिटल भर्सन, मासिक पत्रिका मधुपर्क, युवामञ्च, मुना प्रकाशनमा छ ।  


दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भिमसेन थपलियाको सभापतित्वमा भएको कार्यक्रममा प्रबन्ध सम्पादक परमेश्वर देवकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, निमित्त नायव महाप्रबन्धक यमप्रसाद कँडेल, मन्त्रीका सल्लाहकार डा. शालीग्राम पराजुली, गोरखापत्र सञ्चालक समितिका सदस्य तथा अर्थविभाग प्रमुख राजुकुमार महत, राइजिङ नेपालका पूर्व प्रधान सम्पादक पी खरेल, श्यामबहादुर केसी, मासिक प्रकाशनका सम्पादकहरु, डिजिटल प्रकाशनका प्रमुख तथा सम्पादकहरु, विभागीय प्रमुखसहित संस्थानका पत्रकार तथा कर्मचारीहरुको सहभागिता थियो । 


Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।