• ११ पुस २०८१, बिहिबार

उपराष्ट्रपति यादवसँग चीनको ‘सीपीपीसीसी’ सदस्यको शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेट गर्नुहुँदै सीपीपीसीसीकोे राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुन। तस्बिरः उपराष्ट्रपतिको कार्यालय

काठमाडौँ, मङ्सिर २८ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन’ (सीपीपीसीसी) को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुनले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। 

उक्त अवसरमा शुभकामना आदानप्रदान पश्चात नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरको सम्बन्ध, द्विपक्षीय भ्रमण र सहयोग लगायतका विषयमा महत्त्वपूर्ण छलफल भयो। उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौंदेखि रही आएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताउनुभयो। 

‘सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले आगामी वर्ष सन् २०२५ मा ७० औँ वर्ष पुरा गर्न लागेकोमा म अत्यन्तै हर्षित छु’, उहाँले भन्नुभयो, ‘हाम्रो मित्रवत् सम्बन्ध आपसी सद्भाव, मित्रता, पारस्परिक लाभमा आधारित छ।’ उपराष्ट्रपति यादवले नेपाल र चीनबीच जनस्तरमा समेत अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताउनुभयो। 

‘चौथो शताब्दीदेखि नै हाम्रा दुई देशबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षुफा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्ध, राजकुमारी भृकुटी र कलाकार अरनिकोले हाम्रो जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन पुर्याएको योगदानलाई म स्मरण गर्न चाहन्छु’, उहाँले भन्नुभयो, ‘नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकांक्षा पूरा गर्न महत्त्वपूर्ण आधारशीला प्रदान गरेको छ।’  

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनुभयो। ‘पछिल्ला वर्षमा नेपाल र चीनबिच संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, ‘कनेक्टिभिटी’, सूचना प्रविधिको विकास लगायत विकासका बहुआयामिक क्षेत्रहरूमा गहनरूपमा आपसी सहयोग एवं सहकार्य भैरहेकोमा म खुशी व्यक्त गर्न चाहन्छु’ उहाँले भन्नुभयो, ‘नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु।’ 

उपराष्ट्रपति यादवले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि निरन्तर सहकार्य हुँदै जानेमा विश्वास व्यक्त गर्दै महामहिम शुनको नेपाल भ्रमण सफल र बसाई सुखद रहोस् भन्ने कामनासमेत गर्नुभयो। 

‘चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन’ (सीपीपीसीसी) को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुनले प्रत्येक चिनियाँ भिक्षुहरु लुम्बिनीलाई आफ्नो हृदयमा राखेको उल्लेख गदैै यो पवित्रभूमिप्रति मसहित सम्पूर्ण चिनियाँ नागरिकको ठूलो आस्था रहेको बताउनुभयो। 

‘प्रत्येक वर्ष ७० हजार चिनियाँ नागरिकले लुम्बिनी भ्रमण गर्दछन्। लुम्बिनी विश्वविद्यालयलाई चिनियाँ वेवसाइटमा समेत सूचिकृत गरिएको छ’, उहाँले भन्नुभयो, ‘चिनियाँ मन्दिर लुम्बिनी विश्वविद्यालयका विद्यार्थीलाई चीनमा पढ्न जानका लागि व्यवस्थापन गर्दै आएको छ।’ उहाँले नेपाल पवित्रभूमि विश्वका सम्पूर्ण बुद्धमार्गीको मन र ह्रदयमामा रहेको समेत बताउनुभयो।