• ११ पुस २०८१, बिहिबार

दर्जन कलाकार फेसन सोमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २८ गते । नेपाली चलचित्रका चर्चित कलाकार एउटै मञ्चमा देखिने भएका छन् । डिसेम्बर १४ मा होटल याक एन्ड यतीमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेसनल–२०२४’ फेसन सोमा आँचल शर्मा, साम्राज्ञीराज्यलक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायत करिब एक दर्जन कलाकार सो टपरका रूपमा र्‍याम्पमा देखिने भएका हुन् । फेसन सोमा पुरुष र महिला गरी ३० मोडलले विभिन्न पहिरनका आकर्षक डिजाइनमा र्‍याम्प प्रस्तुत गर्ने छन् । सोका लागि सबै मोडल अडिसनमार्फत छानिएका हुन् । प्रारम्भ प्रोडक्सनको आयोजनामा हुन लागेको फेसन सोमा विभिन्न डिजाइनर्सका आकर्षक र नवीनतम पहिरन र्‍याम्पमा देख्न पाइने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिनुभयो ।

फेसन सो ‘ग्ल्याम नेपाल इन्टरनेसनल’ को यो चौथो सिजन हो । नयाँ र आकर्षक पहिरनका बारेमा फेसनप्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले फेसन सो आयोजना गर्न लागिएको प्रारम्भ प्रोडक्सनले जनाएको छ ।