• ४ जेठ २०८१, शुक्रबार

निर्वाचन परिणाम आउने क्रम जारी

blog

जनकपुर, जेठ ६ गते । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह मतदानको परिणाम बिहीबार पनि आउने क्रम जारी रहेको छ । मधेस प्रदेशका आठवटै जिल्लाको स्थानीय तहको अन्तिम निर्वाचन परिणाम आउन थालेको छ ।  

सप्तरीले पायो महिला प्रमुख 

कल्याणपुर/बोदेबर्साइन समाचारदाताका अनुसार महिलालाई प्रमुख पदमा दलले पत्याएर टिकट दिए जितेर देखाउन सक्छन् भनेर प्रमाणित गरेका छन्,  सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएकी गीता चौधरी । सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेसको उम्मेदवार चौधरी प्रमुख पदमा र उपप्रमुखमा रुद्रबहादुर कार्की निर्वाचित हुनुभएको हो ।  

प्रमुखमा चौधरीले सात हजार २९२ मत र उपप्रमुखमा कार्कीले छ हजार २७५ मत ल्याउनुभएको छ । थारू बाहुल्य क्षेत्र रहेको सुरुङ्गा नगरपालिका काँग्रेसको गढ मानिन्छ । यसअघिको स्थानीय निर्वाचनमा पनि काँग्रेसको मुक्तिनाथ चौधरी निर्वाचित भएको थियो । 

स्थानीयलाई स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, कृषिको पहुँचमा जोड्न आफूले निरन्तर लागिपर्ने नवनिर्वाचित चौधरीले बताउनुभयो । चौधरी आफू निर्वाचित भएर जनताको सेवा गर्ने अवसर पाएको बताउनुभयो । 

जिल्लाका १८ स्थानीय तहमध्ये विभिन्न राजनीतिक दलका तर्फबाट प्रमुख तथा अध्यक्ष पदमा छ जना महिला उम्मेदवार बनाइएको थियो । दुई जना महिलाले प्रमुख पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । चौधरी बाहेक सप्तरीको अन्य स्थानमा महिला प्रमुखमा निर्वाचित भएका छैनन् ।   

कमला नपामा प्रमुख र उपप्रमुखमा काँग्रेस 

जनकपुरधाम समाचारदाताका अनुसार धनुषाको कमला नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा काँग्रेसका विशेश्वर यादव निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा शिलादेवी मण्डल दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

निर्वाचित यादवले तीन हजार ८८७ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा निर्वाचित मण्डलले पनि तीन हजार ८८७ मत प्राप्त गर्नु भएको कमलास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि पनि कमलामा प्रमुख र उपप्रमुखमा काँग्रेस नै निर्वाचित भएको थियो ।  

यसैगरी धनुषाको शहीदनगर नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार दिनेशप्रसाद यादव पाँच हजार ६३९ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उपप्रमुखमा पनि जसपाकै उम्मेदवार लक्ष्मीनियाकुमारी मण्डल चार हजार ७२० मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । 

मटिहानीमा मण्डल पुनः विजयी

महोत्तरी र जलेश्वर समाचारदाताका अनुसार महोत्तरीको मटिहानी नगरपालिकामा दोस्रो कार्यकालका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का तर्फबाट नगरप्रमुखमा हरिप्रसाद मण्डल विजयी हुनुभएको छ । नगरप्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका मण्डलले चार हजार तीन मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा लोसपाकै मञ्जुदेवीले तीन हजार ८६४ मत ल्याएर विजयी हुनुभएको छ । नगरपालिकाको नौ वडा मध्ये वडा नम्बर १, ६, ७ र ८ मा लोसपा, ४ र ९ वडामा नेपाली काँग्रेस तथा २, ३ र ५ मा नेकपा (एमाले)को वडाध्यक्ष विजय हासिल गरेका छन् । दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित मण्डल नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको तीन पटक सभापति भई सक्नुभएको छ ।

मौलापुरमा दोस्रो पटक रीनाकुमारी साह

रौतहट समाचारदाताका अनुसार जिल्लाको मौलापुर नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की रीनाकुमारी साह दोस्रो पटक पनि निर्वाचित हुनुभएको छ । उहाँले पाँच हजार ५६४ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नगरप्रमुख साह रौतहटको एक मात्र महिला नगरप्रमुख निर्वाचित हुनुभएको थियो । यस्तै उपप्रमुखमा नेकपा एमालेकै उम्मेदवार नागेन्द्रप्रसाद यादवले चार हजार ९१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । पालिकाको प्रमुखमा सञ्जय काफ्लेले नौ हजार १६३ मत प्राप्त गर्नुभएको छ । निर्वाचित नगरप्रमुख काफ्ले २०७४ सालको निर्वाचनमा सोही नगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा विजयी हुनुभएको थियो । उपप्रमुखमा जयमाला चौधरीले ११ हजार ३७८ मत प्राप्त गर्नुभएको छ । 

१० वटा वडा रहेको चन्द्रपुर नगरपालिकामा २, ३ र ६ नम्बर वडामा नेकपा माओवादी, ४ र १० मा नेकपा एमाले र बाँकी पाँचवटा वडामा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी भएका छन् । रौतहटमा अहिलेसम्म परोहा, दुर्गाभगवती, राजदेवी, गौर, मौलापुर र चन्द्रपुर गरी छवटा पालिकामा मतगणना सम्पन्न भएको छ । 

Author

मधेस प्रदेश ब्युरो