गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २६ गते । मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२ औँ संस्करण काठमाडौँमा सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सव उद्घाटन गर्दै मानव अधिकार संरक्षण, संवर्धन र प्रवर्धनका लागि चलचित्र प्रभावकारी माध्यम बन्ने बताउनुभयो । मानव अधिकार संरक्षण र संवर्धनका लागि राष्ट्रिय मानव अधिकार आयोगले महोत्सवलाई सघाउँदै आइरहेको छ । हामी मानव अधिकारको विषयलाई चलचित्रमा कसरी अटाउन सकिन्छ भन्नेबारे लागि परेका छौँ । समाजमा कानुनले बन्देज गरेको बालविवाह, महिला हिंसा, जातीय विभेद जस्ता अपराधका शृङ्खला रोकिएका छैनन् । मानव अधिकारको संरक्षण र प्रवर्धनमा चलचित्रको महत्वपूर्ण भूमिका रहन्छ– उहाँले भन्नुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले मानव अधिकारसँगै नेपाली चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय चलचित्रले दिने ज्ञान र जानकारी महत्वपूर्ण हुने बताउनुभयो ।
आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले चलचित्र विकास बोर्ड र पर्यटन बोर्डको सभा हलमा महोत्सव सुरु भएको जानकारी दिनुभयो । उहाँले मानव अधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि महोत्सव गरिँदै आएको जानकारी दिँदै महोत्सवमा चलचित्र हेर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ कान्स र बर्लिन जस्ता विश्वचर्चित चलचित्र महोत्सवमा अवार्ड जितिसकेका चलचित्र प्रदर्शन हुने छन् ।” महोत्सवमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुने उहाँले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटनमा चलचित्र ‘द म्यान हु कुड्नट रिमेन साइलेन्ट’ देखाइएको थियो । त्यस्तै विकास बोर्डको हलमा ‘अल वी इम्याजिन एज लाइट’ प्रदर्शन गरिएको थियो । यो चलचित्रले कान्समै फिचर विधामा अवार्ड जितेको थियो । त्यस्तै नेपाली वृत्तचित्र ‘देवी’ चलचित्र विकास बोर्डको हलमा देखाइने छ ।
बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जितेको चलचित्र ‘एन अड टर्न’ बुधबार विकास बोर्डको हलमा प्रदर्शन हुने छ । चलचित्र महोत्सवको पूर्वसन्ध्यामा वृत्तचित्रका मेन्टर तथा एडिटर निलोतपल मजुम्दरले चारदिने कार्यशालामा प्रशिक्षण पनि दिइरहनुभएको छ । उहाँले मङ्सिर २६ गते विकास बोर्डको हलमा ‘को–प्रडक्सन, ल्यान्डस्केप : लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा प्रशिक्षण दिनुहुने छ ।