• ९ पुस २०८१, मङ्गलबार

दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २५ गते । नेपाली चलचित्र क्षेत्रको प्रवर्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ देखि सुरु हुने भएको छ । रेड चेरी मिडियाले आयोजना गर्ने महोत्सवले ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने महत्वाकाङ्क्षी योजना बनाएको छ । यस पटक महोत्सवले जलवायु परिवर्तनका मुद्दालाई समेत प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ आयोजना गर्ने घोषणा गरेको छ । महोत्सवका कार्यक्रममा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तर्क्रिया र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन् ।

चलचित्र अभिनेता प्रदीप खड्का र अभिनेतृ सुरक्षा पन्तलाई महोत्सवको सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ । अभिनेता खड्काले महोत्सवले चलचित्रलाई पर्यटन प्रवर्धनको बलियो माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । अभिनेतृ पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ‘बुलाकी’ मार्फत अनुभव गरेको बताउनुभयो । उहाँले महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग गर्ने बताउनुभयो । पन्तले कर्णालीको जीवनका थप कथामा अभिनय गर्न चाहेको बताउँदै महोत्सवको सुरुवातले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राख्नुभयो । दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने छ । चैत १६ गते काठमाडौँको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुने छ भने चैत ३० गते मुगुको राराताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुने छ ।

चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, र नेपाल उद्योग वाणिज्य महासङ्घलगायत विभिन्न सरकारी र गैरसरकारी निकायको सहकार्यले महोत्सवलाई थप बलियो बनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रवर्धनको महत्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राख्नुभयो । बोर्डका वरिष्ठ प्रबन्धक रोहिणीप्रसाद खनालले राज्यले चलचित्र पर्यटन प्रवर्धनका लागि आवश्यक नीतिगत व्यवस्था गरिरहेको बताउनुभयो ।  उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रले चलचित्र र पर्यटनलाई सधैँ सघाउँदै आएको उल्लेख गर्नुभयो । अभिनेता शिव श्रेष्ठले  हामीले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाएको बताउनुभयो ।

महोत्सवले जलवायु परिवर्तन जस्तो विश्वव्यापी समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ । महोत्सवले जलवायु संरक्षणका लागि चलचित्र क्षेत्रमार्फत जनचेतना फैलाउने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।