• १३ साउन २०८१, आइतबार

नवनिर्वाचितलाई शुभकामना

blog

नयाँ संविधान कार्यान्वयनमा आएपछि मुलुकले दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गरेको छ । यो निर्वाचन निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण तवरले सम्पन्न भएको देखिएको छ । निर्वाचन सम्पन्न भएको एक सातासम्म नतिजा आउने क्रम जारी छ । यो निर्वाचन बिना व्यवधान, विवादरहित तरिकाबाट एकै चरणमा सम्पन्न गर्न सक्षम हुनु वर्तमान सरकारको सफलता हो ।

निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले गरेको भगीरथ प्रयास मननीय छ । आवधिक निर्वाचनका रूपमा स्थानीय तहको यस निर्वाचनलाई मुलुकभरि नै उत्साह र उमङ्गका साथ लिइएको थियो । निर्वाचनसम्बद्ध निकायका अतिरिक्त राजनीतिक दल, आमजनता निर्वाचन प्रक्रियाप्रति निकै उत्साह देखियो । फलस्वरूप सबैको अथक मिहिनेत तथा परिश्रमका कारण सफलतापूर्वक सम्पन्न यो निर्वाचन देशका ७५३ स्थानीय तहलाई आफ्नै सरकार दिएको छ । 

अन्तर्राष्ट्रिय क्षेत्रले समेत बडो चासो एवं अभिरुचिका साथ यो निर्वाचनलाई हेरेको थियो । यो निर्वाचन सन्तोषजनक हुन नसक्दा अन्तर्राष्ट्रिय जगत्मा नेपालको लोकतान्त्रिक छविमा प्रतिकूल प्रभाव पर्नसक्ने थियो । यसमा सरकार सजग रह्यो । सरकार, निर्वाचन आयोगलगायतका निकायको इमानदार प्रयत्नकै फलस्वरूप शान्तिपूर्ण माध्यमबाट जनताले आफ्नो मताधिकार प्रयोग गर्न सक्षम भए ।

स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा उत्तरी छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । यसैगरी निर्वाचनको मतगणना हुँदै गरेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक नेपाल भ्रमण हुनु पनि निर्वाचन प्रक्रियाप्रतिको सकारात्मक अवधारणाका रूपमा लिन सकिन्छ । 

समग्रमा निर्वाचन प्रक्रिया तथा गतिविधिका सम्बन्धमा सकारात्मक अवस्था रह्यो तर अझै खड्किएका केही विषय पक्कै छन् । निर्वाचन सम्पन्न भएको झन्डै एक साताको अवधिसम्म पनि मुलुकका सबै ७५३ स्थानीय तहका निर्वाचन परिणाम आउन नसक्नु पक्कै पनि उत्साहजनक विषय होइन ।

राजधानी काठमाडौंँ महानगर जस्तो हरेक दृष्टिकोणबाट सक्षम अनि सुविधासम्पन्न स्थानको दुई लाख हाराहारी मत गणना गर्न अझै केही दिन प्रतीक्षा गर्नुपर्ने नियतिले समग्रमा निर्वाचन व्यवस्थापनको कमजोरीलाई आँैंल्याइरहेको छ । निर्वाचन नतिजाको यो ढिलाइले वर्तमानको वैज्ञानिक युग तथा प्रविधिको उपहास गरिरहेको अर्थका रूपमा बुझ्दा अतिशयोक्तिपूर्ण नहोला । त्यसै गरी बदर मतको सङ्ख्यासमेत अनपेक्षित रूपमा बढ्नु राम्रो होइन । यस्ता विषयमा सुधारको जरुरी देखिएको छ ।

कमजोरी केवल कमजोरी मात्र हुँदैन । त्यसले शिक्षा र सन्देश दिइरहेको हुन्छ । वर्तमान अवस्थाबाट राम्रो शिक्षा लिएर निर्वाचन आयोगलगायतका निकायले आउँदा निर्वाचनहरूमा छिटोछरितो तरिकाबाट परिणाम सार्वजनिक गर्न आधुनिक प्रविधिको प्रयोगमा गरिनु राम्रो हुन्छ । विकसित मुलुकका मतगणना पद्धति एवं प्रविधि हेरेर सिकेर पनि यस दिशातर्फ गम्भीर कदम चाल्नु अपरिहार्य देखिन्छ ।

परम्परागत तौरतरिकाबाट मतगणना कार्यलाई निरन्तरता दिँदा राजनीतिक दल, आमजनतामा अन्योलको वातावरण छाएको अवस्था महसुस भएको छ । आउँदो संसदीयलगायतका अन्य निर्वाचनमा यही स्थिति दोहोरिन नदिने सम्बन्धमा सरकार तथा निर्वाचन आयोगबीच रचनात्मक समन्वय हुनु अपरिहार्य देखिन्छ । 

जेठ ५ गते बिहीबार पहिलो स्थानीय तहले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गरेको छ । कानुनतः शुक्रबारका दिनदेखि स्थानीय तहमा नयाँ नेतृत्वले कार्यभार सम्हाल्नुपर्ने थियो तर सबै ७५३ स्थानीय तहका मतपरिणाम सार्वजनिक नहुँदा केही दिनका लागि रिक्तताको महसुस हुने भएको छ । मुलुकभरका छ महानगरपालिकामध्ये हालसम्म कुनै पनि महानगरपालिकाको नतिजा सार्वजनिक हुन सकेको छैन भने ११ उपमहानगरपालिकामध्ये अधिकांशको स्थिति पनि यस्तै छ । २७५ नगरपालिका तथा ४६० गाउँपालिकामध्ये पनि अझै थुप्रै पालिकाको नतिजा सार्वजनिक हुन थप केही दिन लाग्ने निश्चित छ ।

अब ढिलोमा लगभग एक साताभित्र सबै स्थानीय निकायको नतिजा सार्वजनिक हुने अपेक्षा भने गर्न सकिन्छ । केही कमजोरी रहे पनि मुख्य कुरो स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । लोकतान्त्रिक व्यवस्था अनि पद्धति थप सुदृढ बन्ने आधार तयार भएको छ । यसमा सम्पूर्ण नेपालीले गौरवानूभूति गर्नुपर्छ । स्थानीय निकायहरूले नयाँ जोश, जाँगर अनि सोच भएका जनप्रतिनिधिहरू पाइरहेका छन् । आशा गरौंँ गाउँगाउँमा सिंहदरबारको अवधारणामा । नवनिर्वाचित जनप्रतिनिधिलाई नयाँ कार्यकालको हार्दिक शुभकामना ।