लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २४ गते । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लादोबेलाको मुस्लिम बस्तीमा ३० वर्षपहिले बिक्री गरेको जमिनमा हिस्सा खोज्न नाति आएपछि स्थानीय चिन्तित भएका छन् ।
धनुषाको जनकपुरधाम–२३ स्थित लादोबेलाका जमिनदार हरिहरप्रसाद रेग्मीले ३० वर्षअघि बेचेको १८ कट्ठाको प्लटमा रेग्मीका नाति हिस्सा खोज्न आएपछि लादोबेलाका बासिन्दा चिन्तित भएका हुन् ।
करिब महिना दिनअघि अचानक जमिनदार हरिहरप्रसादका नातिको नाम लिँदै वारिसनामा लिएर विनोद साह नाम गरेका व्यक्ति आएर १८ कट्ठाको प्लटमा १४ धुर जमिनदार रेग्मीकै नाममा छ भन्दै जग्गा छुट्याउन भनेर नापी गर्न अमिन लिएर बस्ती पुगेपछि लादोबेलाका बासिन्दा सहयोग माग्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका थिए ।
प्रहरीले उक्त विषय छलफलका लागि आगामी २६ गते समय पनि तोकेको थियो तर सोही दिन राति प्रहरीको टोली बस्तीमा पुगेर स्थानीयको घर घरमा गएर सताउन थालेपछि पुनः लादोबेलावासीले आत्तिँदै पत्रकार सम्मेलन गरेका थिए । पत्रकारसँग गुनासो गर्दै उनीहरूले भने, “छलफलका लागि समय तोकिएको छ भने किन राति प्रहरी राति घर घरमा आउनु प¥यो ? हामी सुरक्षित हुन सकेनौँ । हाम्रो घर र हामी सुरक्षित हुनु प-यो ।”
आफूले ३० वर्षपहिले खरिद गरेको जमिनमा जमिनदारका नाति हक जमाउन आएपछि त्रसित भएका लादोबेलावासीले भने, “हाम्रो रजिस्ट्री भएको जमिन र बाटो छुट्याइदिनुस् । बाँकी रहेको जमिन लैजानुस् ।”
विगतमा जमिनदार रेग्मीका कार्यकर्ताका रूपमा रहेका स्थानीय मुस्लिम राइनले भन्नुभयो, “३० वर्षअघि तत्कालीन बिन्धी गाविसका जमिनदार हरिहरप्रसाद रेग्मीबाट पैसा तिरेर जग्गा किनेर बसोबास गरेका थियौँ । रेग्मीजीकै आदेशमा मैले जग्गा रजिस्ट्रेसन गराएको थिएँ तर अहिले रेग्मीका नातिको वारिसनामा लिएर विनोद साह नाम गरेका व्यक्ति आएर १४ धुर जग्गा फिर्ता माग्दै प्रहरी प्रशासनको सहयोगमा हामीलाई लखेट्ने प्रयास गरिरहेका छन् । उतिबेला बेचेको जमिनमा मौखिक रूपमा बाटो दिए पनि नक्सामा थिएन । कति जमिन बाटोमा पनि गएको होला । हामीले भनेका छौँ कि बाटो तथा हाम्रो जग्गा छुट्याइदेऊ र बाँकी रहेको जमिन जति हुन्छ लैजाऊ ।”
यस विषयमा स्थानीय रन्जित चौधरीले पनि प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै भन्नुभयो, “जिल्ला प्रहरीले यहाँका गरिब तथा विपन्न परिवारलाई राति राति आएर धम्क्याउने र मानसिक यातना दिने कार्य उचित होइन । समस्याका विषयमा २६ गते छलफलको समय तय भए पनि प्रहरीले तनाव दिइरहेका छन् ।”
रेग्मी परिवारसँगको सहमति अनुसार लादोबेलावासीले ३० वर्षअघि १८ कट्ठा जमिन १५ परिवारभन्दा बढीले खरिद गरेका थिए । उक्त जमिनमा अहिले ४० भन्दा बढी घरपरिवार बसोबास गरिरहेका छन् ।
लादोबेलाका स्थानीयले प्रशासनसँग न्यायपूर्ण रूपमा समस्याको समाधान खोज्न आग्रह गरेका छन् । यस घटनाले स्थानीय समुदायमा प्रहरीप्रतिको विश्वासमाथि प्रश्न उठाएको छ ।