• ९ पुस २०८१, मङ्गलबार

भारत पुर्‍याइएका दुई किशोरीको उद्धार

blog

भैरहवा समाचारदाता

भैरहवा, मङ्सिर २४ गते । भारतको दिल्लीमा अलपत्र अवस्थामा फेला परेका दुई जना नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ । उनीहरूलाई शनिबार भैरहवामा ल्याई आफन्तको जिम्मा लगाइएको हो । 

धनुषा जिल्लाको सहिद नगरपालिका–४ निवासी १५ वर्षीय र १६ वर्षीय दुई जना किशोरीलाई जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो । मानव बेचबिखनविरुद्ध नेपालमा कार्यरत संस्था आफन्त नेपाल र भारतमा कार्यरत आफन्त इन्डिया फाउन्डेसनको सहकार्यमा उनीहरूको उद्धार गरी शुक्रबार साँझ भैरहवा ल्याइएको थियो ।

अपरिचित एक भारतीय महिलासँग सामाजिक सञ्जाल टिकटकका माध्यमबाट सम्पर्क भएपछि ती किशोरी घरबाट भागेर दिल्ली पुगेको र दिल्लीमा पुगेपछि टिकटकमा सम्पर्क भएकी भारतीय महिला सम्पर्कमा नआएपछि उनीहरू अलपत्र परेका थिए ।

“भारतको नयाँ दिल्ली रेलवे स्टेसनस्थित भारतीय पुलिसले अलपत्र अवस्थाका ती किशोरी भेटिएको खबर आएपछि उद्धारका लागि हामी जुटेका थियौँ,” दिल्लीस्थित आफन्त इन्डिया फाउन्डेसनका उद्धार अधिकृत मानव श्रेष्ठले भन्नुभयो, “उनीहरू बेचबिखन र अन्य जोखिममा पर्न सक्ने सम्भावना भएकाले उद्धार गरी नेपाल फर्काएर आफन्तको जिम्मा लगाइएको हो ।” उहाँका अनुसार किशोरीसँगै अलपत्र अवस्थामा फेला परेका धनुषा कमला नगरपालिका–३ का पासवान थरका एक किशोरलाई भने कानुनी प्रक्रिया पुर्‍याएर दिल्लीबाटै आफन्तको जिम्मा लगाइएको थियो ।