गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । चलचित्र ‘कार्साङ’ को टिजर सार्वजनिक गरिएको छ । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निःसन्तानपनले दिएको सास्ती र त्यसले दाम्पत्य जीवनमा सिर्जना गर्ने श्रीमान्श्रीमतीबिचको ठाकठुक देख्न सकिन्छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ । टिजरले गरिबीका कारण कसरी आममान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् भन्ने कथालाई प्रस्तुत गरेको छ । सन्तान नजन्मिएपछि श्रीमान्श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपणलाई पनि टिजरमा उतारिएको छ । यम शेर्पाले ‘डेब्यु’ निर्देशन गर्नुभएको चलचित्रको कथा पनि निर्देशक आफैँले लेख्नुभएको हो । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।