• ९ पुस २०८१, मङ्गलबार

विद्यार्थीले उत्पादन गरे गहत

blog

उत्पादन भएको गहत स्याहार्दै विद्यार्थी । तस्विरः इमानसिं राना

इमानसिं राना

रामपुर (पाल्पा), मंसिर २३ गते । रामपुर नगरपालिकाको सीता माध्यमिक विद्यालयका विद्यार्थीले दलहन खेती गरेका छन् । लामो समयदेखि उपयोगमा नआएको जमिनलाई सदुपयोग गर्दै विद्यार्थीलाई व्यावहारिक शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयले गहत खेती गराएको हो ।

विद्यार्थीले यस वर्षबाट तीन रोपनी क्षेत्रफलमा गहत खेती गरेका छन् । गत वर्ष कम क्षेत्रफलमा खेती गरेका विद्यार्थीले यस वर्ष झण्डै एक क्विन्टल गहत उत्पादन गरेको विद्यालयका प्रधानाध्यपक नारायणप्रसाद खनालले बताउनुभयो । गहत खेती परम्परागत खेती भएपछि पछिल्लो समय हराउने अवस्थामा पुगेको र घरेलु उपचार पद्दतिमा उत्तिकै महत्व रहेकाले बढी मूल्यमा विक्री गर्न सकिने भएपछि गहतको खेती गरिएको प्रधानाध्याक खनालले बताउनुभयो ।

रामपुर नगर सरकारका प्रमुख रमणबहादुर थापा विद्यार्थीको अतिरिक्त क्रियाकलापबाट उत्प्रेरित भएको बताउँदै आउने वर्षमा प्रविधिक सहयोग गर्ने बताउनुभयो । अतिरिक्त क्रियाकलाप अन्तर्गत गहतखेतीको माध्यम कृषिको व्यवहारिक ज्ञान सिक्ने अवसर प्राप्त भएको कक्षा १० का विद्यार्थी अनिल सिंहले बताउनुभयो । उत्पादन भएको गहत प्रतिकिलो १ सय ६० रुपियाँको दरले विक्री हुन्छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्षबहादुर सेनले आगामी वर्ष स्थानीयसँग समन्वय गरी अम्रिसो, अदुवा र बेसार खेती समेत गर्ने योजना रहेको बताउनुभयो ।