नेपालगन्ज समाचारदाता
नेपालगन्ज, मङ्सिर २३ गते । बर्दियाको बासगढी नगरपालिका–९, कुनैठीका १५ वर्षीय बालक अमित कुमाल गत १५ दिनदेखि बेपत्ता छन् । घरबाट रिसाएर निस्किएका कुमाल अहिलेसम्म नफर्किएपछि खोजी कार्य चारैतिर गरिए पनि अझै फेला नपरेकोले कुमालको परिवारका सदस्य ठुलो पीडा भोगिरहेका छन् ।
कुमालकी आमा सकिला कुमालले सन्तान हराउँदा आमालाई जत्तिको पीडा अरूलाई हुन नसक्ने बताउनुभयो । १५ वर्षीय छोरो अमित १५ दिनअघि बेपत्ता भएपछि आमा सकिला घरी घरी भक्कानिनुहुन्छ । छोरा हराएदेखि उहाँको आँखा ओभाएको छैन । खाना खानेबेला छोराको यादले थालीमा पस्केको खाना नखाएर छाडिदिनुहुन्छ । यो जाडोमा कहाँ सुत्छ होला ? के खान्छ होला भन्दै उहाँ कुराकानी गर्दागर्दै भक्कानिनुहुन्छ ।
सकिलाका अनुसार गत मङ्सिर ७ गते अमित घरमै थिए । एक्कासि रिसाउँदै उनी गाउँतिर लागे । गाउँमा नाचगान चलिरहेको थियो । छोरा गाउँमा होला भन्ने विश्वासले सकिला ढुक्क हुनुहुन्थ्यो तर अमित अबेर रातसम्म घरमा आएनन् । छोरा घर नफर्किएपछि उहाँको मनमा चिसो पस्यो । हतार हतार खोजीका लागि नाचगान भइरहेको ठाउँमा जानुभयो । छोराका बारेमा सोधीखोजी गर्नुभयो तर त्यहाँ छोरा नगएको जानकारी पाइयो । त्यस दिनदेखि उहाँले आफ्नो तागतले भ्याएसम्म छोराको खोजी गरिरहनुभएको छ । प्रहरीलाई पनि जानकारी गराउनुभएको छ । प्रहरीले अमित कसैसंग लागेर भारत गएको आशङ्का गरेको छ । उहाँले छोरा अमितलाई खोजी गरिदिन सबैसंग आग्रह गर्दै छोरालाई पनि घर फर्किन अनुनय विनय गर्नुभएको छ ।