• ९ पुस २०८१, मङ्गलबार

बजारमा सिसिटिभी जडान

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर २३ गते । बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको छ । बुटवल क्षेत्रमा हुने चोरी, सवारी दुर्घटनालगायतका अपरापधिक घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले सिसिटिभी क्यामरा जडान गरिएको हो । उपमहानगरपालिकाले बुटवल वडा नं. ४, ५, ७ र ८ का मुख्य स्थानमा १२५  वटा सिसिटिभी क्यामरा जडान गरेको हो । बुटवलको बसपार्क, मिलनचोक, हस्पिटल लाइन, नेपालगन्ज रोड, ट्राफिक चोक, पाल्पा बसपार्क र गोलपार्क क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको उपमहानगरपालिकाले जनाएको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आइटी शाखामा सिसिटिभी क्यामराको उद्घाटन गर्दै बुटवल उपमहानगर र वडाको संयुक्त बजेटमा क्यामरा जडान गरिएको बताउनुभयो । मुख्य बजार क्षेत्रमा क्यामरा जडान गरिएको र अरू वडामा पनि आवश्यकता अनुसार सिसिटिभी क्यामरा जडानको तयारी गरिएको उहाँले बताउनुभयो । सिसिटिभी क्यामराको इलाका प्रहरी कार्यालय बुटवलबाट नियमित अनुगमन हुने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले अपराध नियन्त्रण तथा बजार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सिसिटिभी क्यामरा सहयोगी हुने बताउनुभयो ।