• ७ पुस २०८१, आइतबार

अवसरवादी प्रेमी [कथा]

blog

नमस्कार हजुर ! म समीर । हजुरले चिन्न सक्नुभएन कि ? मैले हजुरलाई पहिलेदेखि चिनिरहेको छु । हाम्रो भेट तपाईंको पसलमा भएको थियो । तपाईं साहुनी, म एउटा कस्टमर । सम्झना आउँदैन सीमालाई उसको नाम, रूप र भेटेको समय । आखिर आओस् पनि कसरी ? पसलमा दैनिक सयौँ मान्छे आउने जाने हुन्छन् । अँ अनि भन्नुस्, के कति कामले कल गर्नुभयो ? मैले त पसल बेचिसकेँ । पसलमा तपाईंलाई नदेखेर फोन गरेको हुँ । तपाईंको विषयमा पसलमा सोधेँ र त्यहीँबाट नम्बर लिएर गर्दै छु । अनि फोन गर्नुको कुनै उद्देश्य पनि होला नि, एकचोटि तपाईंलाई भेट्न मन छ, अनि मेरो कुरा भन्छु । तारन्तारको फोन र मेसेजले दिक्क भएर सिमा घरनजिकैको चौरमा भेट्न पुग्छे । उसको मनमा को मान्छे रहेछ, किन मलाई भेट्न खोज्दै छ भन्ने जिज्ञासा थियो नै । एक पटक भेट्दा के फरक पर्छ त ? किन भेट्न खोज्दै छ भन्ने कौतूहल पनि थियो नै । यसअघि देखेको या पसलमा आएको त्यस्तो केही लागेन उसलाई तर ऊ परिचित जसरी हाउभाउ देखाउँदै थियो । मिठो मुस्कानसहितको उसको नमस्कारले परिचित महसुस गराइरहेथ्यो । मुस्कान नै एउटा सशक्त हतियार हो जसले जोसुकैलाई आफूतिर आकर्षित गर्ने सामथ्र्य राख्छ ।  

समीरले सहानुभूतिका शब्द ओकल्दै सुरु गर्छ कुराकानीको मेसो । दुःखी छु यथार्थ थाहा पाउँदा, खुसी छु भेट्न पाउँदा । जिन्दगी यस्तै हो, सोचेको कहाँ हुन्छ र ? अब नयाँ बाटोबाट सोच्नु पर्छ । आगामी जीवनका बारेमा सोच्नु पर्छ । म छु तपाईंका लागि । तपाईंका हरेक सुखदुःखमा साथ दिन्छु । जीवनसाथी बनाउन चाहन्छु, बिर्सिदिनुस् बितेका कुरा । 

सीमाका श्रीमान् यो संसारबाट बिदा भएको करिब चार महिना भएको थियो । ऊ यति धेरै हतारिएको थियो कि उसले आफ्ना मनमा भएका सबै कुरा एकैसाथ फलाकिरहेको थियो । मानौँ, ऊ धेरै समयदेखिको आपसी सम्बन्ध र चिनजानमा थियो । भेट पहिलो, चिनजान पहिलो, अवस्था दुःखदायी । त्यसको कुनै पर्वाह नगरी जीवनसाथी बनाउँछु भन्ने प्रस्ताव राखेको देख्दा सीमाको टाउको फनफनी घुम्छ । भर्खरै असह्य पीडाबाट गुज्रिरहेकी थिई । उसको मनोदशा के कस्तो चल्दै छ, सामान्य भावले पनि बुझ्नुपर्ने थियो । पूर्ण अपरिचित पुरुषले दुई सन्तानकी महिलालाई यसरी प्रस्ताव राख्नु सीमाका लागि असह्य थियो । भन्दै थियो– सङ्गीतको लाइन, गीत गाउँछु, मोडलिङ गर्छु, अविवाहित छु । बायोडाटा पेस गर्दै थियो पटटट्ट । तपाईंलाई धेरै मन पराउँछु । तपाईंसँग विवाह गर्न चाहन्छु । प्लिज मलाई स्विकार्नुस् । सीमाका प्रत्येक सुखदुःखसँग चिरपरिचित झैँ पहिलो भेटमा एफएम रेडियो जसरी भट्याइरहेको थियो । विचरीलाई एक मन हाँसो उठिरहेको थियो, अर्को मन आक्रोश । उसले जताउन खोजेको माया थियो, त्यो त खोइ कहाँ पो विलीन थियो ।

सायद जीवन पनि मोडलिङको रिहर्सल जस्तै ठानेको हुनु पर्छ उसले । एकतर्फी निर्देशकको आदेश पालना गर्ने बानी परेकाले होला, त्यही अनुभव यता पनि पस्कँदै छ बबुरो । बुझ्न चाहेन उसले सीमाको इच्छा के छ ? जानेन नाप्न सीमाको आहत हृदयको सिमाना कहाँसम्म छ । कुन हालमा, कुन पीडामा आफूलाई समालेकी छे भनेर गम्न सकेन उसले किनकि ऊ एक पुरुष मात्र थियो । अवसरवादी पितृसत्तात्मक सोच र आवरणको एक पात्र । सहानुभूतिका बाछिटाले पगाल्न खोज्दै थियो सीमाको कोमल मन । सहारा दिन्छु भन्ने आश्वासनमा सुटुक्क पस्न खोज्दै थियो उसको मुटुमा । छाम्न खोज्दै थियो बेसहारा अस्तित्व । अकल्पनीय चोट र वेदनाको मारले थिलथिलिएको उसको मुटुले चट्टानको रूप धारण गरेको हेक्का विचरा कसरी राख्न सक्थ्यो र ऊ ? यतिखेर उठ्नुपर्ने रिस पनि पटक्कै उठेन, गाला चड्काउन सलबलाएका हात पनि निरीह बने । बरु हिम्मत जाग्यो सीमालाई त्यो देह देखेर; जसले उसलाई एकल, कमजोर र निरीह देख्दै थियो । उसको विवशतालाई धज्जी उडाएर फाइदा उठाउन खोज्दै थियो ।

सधैँ मुस्कुराइरहने बानी केही महिनादेखि बिर्सिसकेकी थिई सीमाले । उसको जीवनमा सबैभन्दा मुस्किलको काम भनेकै मुस्कुराउनु थियो यतिखेर । आज भने ऊ फेरि मुस्कुराई । हृदयबाट होइन; दिमागबाट मुस्कुराई, समाजसँग लड्न र समीर जस्ता पुरुषसँग शान्तिपूर्वक जुध्न मुस्कुराई । अरूले आफूलाई नबुझ्दाको पीडाको हेक्का छ उसलाई । त्यसैले आफ्नो कुराले अरूको मनलाई सकेसम्म चोट नपु¥याओस् भन्ने जवाफको खोजी गर्नु थियो । 

अब म बोलूँ हजुर । तपाईंको प्रस्ताव नराम्रो होइन, सरी म स्विकार्न पनि सक्दिनँ । जीवनसाथी बनाउने सोच कदापि नराख्नुस् । 

ओके म बिजनेस पार्टनर बनाउन चाहन्छु जसरी हुन्छ म तपाईंको समीपमा रहन चाहन्छु । यो कुरा चाहिँ स्विकार्नुस् है ! मेरो बिन्ती छ– जवान हुनुहुन्छ, यति राम्री हुनुहुन्छ, अझै धेरै बाँच्नु छ, जिन्दगी त्यसै खेर फाल्नुहुन्छ ? सक्नुहुन्छ थामेर बस्न ? आफ्ना इच्छा आकाङ्क्षालाई मार्न सक्नुहुन्छ ? यहाँहरू जस्ताको सहानुभूति र इच्छा आकाङ्क्षामा बाँच्नुभन्दा धेरै गुणा सहज हुन्छ एक्लै बाँच्न– मनले जवाफ दिइरहेको थियो तर मुखसम्म ल्याउन उचित मानिन उसले । एक शिक्षित, बौद्धिक नारीको स्वभावले कुठाउँमा आफ्नो बोली खेर फाल्नुभन्दा मौनताभित्र अड्याउनु बेस मान्यो ।  

१०/१५ दिनमा मेरो केही पैसा आउँदै छ, त्यसपछि तपाईं र म मिलेर नयाँ बिजनेस सुरु गरौँला । मलाई आफ्नो सम्झनुस्, सबै कुरा समाल्छु । अहिले बिदा हुन्छु, जानु छ भिडियो सुटिङमा । बाई, सी यु सुन ।

नराम्रो उसले भनेको छैन । गल्ती उसको मात्रै छैन । पुरुष देहको आवेग हो । पुरुष चेतनबाट नारीलाई हेर्ने दृष्टिदोष हो; जुन पुस्तौनी उपहारका रूपमा जिनमा घोलिएर आएको छ । नारीको शरीर छाम्न अनेक बहाना खोज्ने मन त्यही नारीभित्रको भावना र अस्तित्वलाई पनि सम्मान गर्न सक्ने केही प्रतिशत जिन पुरुषत्वमा मिसाइदिएको भए के जान्थ्यो भगवान्को । मनमा धेरै कुरा खेल्छ । मानिसलाई सहारा केवल भौतिक शरीरको होइन, एकअर्काको भावना बुझ्ने र सम्मान गर्ने मनको हो । दुई भौतिक शरीर सँगै हुँदैमा साथ सहयोग र खुसी मिल्ने थियो भने आज कुनै पनि जोडीले असन्तुष्टिको श्वास फेर्नुपर्ने थिएन । दिनहुँ सयौँको सङ्ख्यामा बढिरहेका सम्बन्धविच्छेदका घटनाले अदालतको ढोका ढकढकाउने थिएनन् । सबै जोडीले पूर्ण सन्तुष्टि र सफलतामा मुस्कुराउन विकल्प खोज्ने थिएनन् । एउटै बेडमा सुत्ने श्रीमान् श्रीमतीबिच मतभेद र तनावको स्थिति उत्पन्न हुने नै थिएन । एउटै रुमभित्रका दम्पतीको बाहिरी नाजायज सम्बन्धले प्रश्रय पाउने नै थिएन । एकल महिलाको आवश्यकता शारीरिक भोग मात्र सम्झने पुरुष मानसिकताको विकार सफा गर्न कुन प्रविधि चाहिने हो ? अनेक सवालजवाफ गर्दागर्दै निद्राले लठ्याइदिएछ, पत्तै भएन ।

बिहानको प्रथम प्रहरमा गुड मर्निङ विससँगै मोबाइलमा नोटिफिकेसन बज्छ । आँखा मिच्दै हेर्छे, उही अघोषित प्रेमी । नमस्कार हजुर ! शुभ बिहानी ! चिया पिउनुभो हजुरले ? एकोहोरो मेसेज बक्समा आएका मेसेजहरू हेरिरहन्छे । हिजोको कुराले मनलाई गाँजिरहेको छ । प्रतिउत्तर दिन मन छैन । निकै समयपछि जवाफ फर्काउँछे, गुड मर्निङ । सुन्नुस् न, तपाईं मेरो मिल्ने साथी मानेर भन्दै छु । मलाई एउटा समस्या प¥यो, सहयोग गर्नुस् न । तपाईंले चाहनुभयो भने सक्नुहुन्छ । नाइँ नभन्नुहोला है । अहँ, भन्नु न मैले गर्न सक्ने के रहेछ तपाईंलाई थाहा भएको, गर्न नसके मन नदुखाउनुहोला । खासै त्यस्तो केही होइन, १०/१५ हजार पैसा अर्जेन्ट चाहिएको थियो । मकहाँ काम गर्ने भाइ आज अकस्मात् घर जान प¥यो रे । तपाईंले दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ । १०/१५ दिनमा त मेरो ३० लाख आउँछ । बर्सौंदेखिको चिनजान र पटक पटक भइरहेको कारोबार जसरी ढुक्कले पैसा माग्न कसरी सकेको होला ? ३० लाखको रवाफले स्वतः चारित्रिक सर्टिफिकेट पेस गर्दै थियो । रिसले अनुहार रातो हुन्छ । मुर्मुरिन्छे, लामो श्वास तान्दै नियन्त्रण गर्छे आफूलाई । एउटा व्यक्तिको नियत र व्यवहार देखेर समाजका अरू असल व्यक्तिको व्यवहारमाथि पनि सशङ्कित हुन्छे । एउटा पुरुष सोचाइको पराकाष्ठा र एकल नारीलाई हेर्ने दृष्टिकोणको आकलन गर्ने अवसर सम्झेर मनलाई सान्त्वना दिन्छे । आखिर उसले त्यहाँ चित्त दुःखाएर रोइकराइ गरे पनि सुन्ने र देख्ने त कोही थिएनन् । त्यसैले होला, भगवान्ले उसको मनमा सान्त्वना दिलाइदिएका । कोही किन यति भासिन्छन् टेकेको जमिनकै भेउ नपाउने गरी ? मनमनै दया जाग्छ । लाजै पचाएर भन्छ, आफूसँग नभए साथीभाइसँग खोजेर भए पनि मिलाइदिनु । म दिउँसो लिन आउँछु । उसैले ल्याएर राख्न दिएको जस्तो, रिसको पारो उच्च विन्दुमा पुग्छ । आखिर त्यसले के सोचेको छ हँ ? तत्कालै रातो बटनमा औँला टच गर्दिन्छे । आफ्नो विवशता र बितिरहेको समयलाई दोष दिन्छे जसले आज यस स्थितिमा जुध्न बाध्य तुल्याएको छ । चिच्याएर रुन्छे । चार दिवारभित्र परीक्षा लिइरहेको छ समयले । सशङ्कित आँखा उठाइरहेको छ समाजले । नाजवाफ यात्रा लम्काउनुको विकल्प छैन । हिम्मत र धैर्यको सहारा लिनुबाहेक अन्य सहयोगी नभएको अनुभूति गर्छे विचरी । रिसाउनुभयो मेम ? फोन उठाउनु न । 

फोनको घन्टी नउठेपछि इनबक्समा मेसेज गुटुङटुङ खस्न थाल्छ । सीमा आज एक्लो हुनुको पीडा र साथमा कोही नहुनुको वेदनाले कहालिन्छे । कहीँ कतै केही पो गर्ने हो कि, त्रसित हुन्छे भित्रभित्रै । नबोलेर रिस्क लिनुभन्दा सामान्य बोलचालमा सीमित राख्दा बेस होला । यसो हुँदा कुनै अप्रिय घटनाबाट बच्न सकिएला भन्ने सोच दिमागमा आउँछ । फोन गर्न छोडेको थिएन उसले, दिनमा चार÷पाँच कल आइरहेको हुन्थ्यो । धेरै दिनपछि कल रिसिभ गर्छे । तत्काल क्षमायाचना गर्दै माफी माग्छ उसले । माफी दिन्छु तर एउटा सर्तमा । के सर्त हजुर भन्नु न, हजुरको जुनसुकै सर्त पनि मान्न तयार छु म । अब आइन्दा कल, मेसेज कहिल्यै नगर्नु, बिन्ती ! त्यस्तो कठोर सजाय नदिनु न प्लिज ! फोन डिस्कनेक्ट हुन्छ । 

बाटोमा एकदुई पटक जम्काभेट हुँदा आँखा जुध्न खोज्यो तर सकेन । उठेका हात जोडिन सकेन, र त भुइँको माटो नियाल्न व्यस्त थियो ऊ ।   

Author

गङ्गा खतिवडा थपलिया