काठमाडौँ, मङ्सिर २२ गते। सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले निर्वाचन आयोगले मतदातालाई सांसदको भूमिकाबारे शिक्षा दिनुपर्ने बताउनुभएको छ। जनता समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष, पूर्व मन्त्री एवम् सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्दै यस्तो बताउनुभएको हो।
यादवको जन्म बुवा स्व. गङ्गाराम र आमा नेपुरदेवीको कोखबाट २०३० साल भदौ ६ गते (नागकिता २०३० साल साउन १७ गते) सिरहा जिल्लाको साबिक चन्द्रअयोध्यापुर गाविस १ को चनद्रगढ चरहामा भएको हो। उक्त क्षेत्र अहिले नरहा गाउँपालिका-३ मा पर्छ। उहाँ चार दाजुभाइ र दुई दिदीबहिनी मध्ये तेस्रो सन्तान हुनुहुन्छ। उहाँ अहिले काठमाडौँ महानगरपालिका-१० गौरीघाटमा बसोबास गर्नुहुन्छ।
यादवले प्राथमिक तहदेखि माध्यमिक तहसम्मको पढाइ चरहाकै स्थानीय चन्द्र माध्यमिक विद्यालयबाट पूरा गर्नुभयो। २०४८ सालको एसएलसीमा चन्द्र माध्यमिक विद्यालयको पहिलो ब्याचको रूपमा ६० जनाले परीक्षा दिँदा उहाँ एक्लै उर्तीण हुनुभएको थियो। यादवको उच्च शिक्षाको सुरुवात महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट भयो।
विज्ञान सङ्कायतर्फ आइएसी (कक्षा ११ र १२) पढाइ सकेर उच्च शिक्षाका लागि उहाँ भारत पुग्नुभयो। यादवले पञ्जाब एयरकाफ्ट मेन्टिनेन्स इन्जिनियरिङ कलेज, पटियालाबाट एरोनोटिकल इन्जिनियरिङ पूरा गर्नुभएको हो। भारतमा इन्जिनियरिङ सकेर नेपाल फर्किनुभएका यादवले सुरुमा नेपाल एयरलाइन्समा तालिम लिनुभयो। उहाँसँग नेपाल एयरलाइन्स र सीता एयरलाइन्समा अढाई वर्ष काम गरेको अनुभव छ। एयरलाइन्समा काम गर्नुको अतिरिक्त उहाँले अनौपचारिक रूपमा विज्ञान विषय पढाउनेकामसमेत गर्नुभयो। शिक्षण पेसामा धेरै चासो नभएपछि उहाँ सामाजिक आन्दोलनको अगुवाका रूपमा राजनीतिमा सक्रिय हुनुभएको हो।
२०६२/०६३ सालको जनआन्दोलनसँगै यादवले औपचारिक रूपमा राजनीति सुरु गर्नुभयो। विशेषत यादव २०६३/०६४ को मधेस आन्दोलनले जन्माएको नेता हुनुहुन्छ। उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको वुद्धिजीवी परिषदबाट उहाँले पार्टीगत राजनीति सुरु गर्नुभएको हो। यादव २०६४ सालमा सम्पन्न संविधान सभाको पहिलो चुनावमा सिरहा क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको हो। उहाँसँग २०६८/०६९ सालमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेर काम गरेको अनुभवसमेत छ। २०७४ सालमा सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएका यादव पछिल्लो २०७९ सालको निर्वाचनमा एमालेसँग गठबन्धन हुँदा सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो।
यादव २०६७ मा मधेशी जनअधिकार फोरम गणतान्त्रिक फोरम सह-अध्यक्ष बन्नुभयो। २०६८ साल फागुनमा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष (तत्कालीन सञ्चारमन्त्री) जेपी गुप्ता भष्ट्राचार आरोपमा जेल चलान भएपछि यादवले पार्टीको कार्यवाहक अध्यक्ष बनेर काम गर्नुभयो। गुप्ता जेल गएपछि उहाँ सञ्चारमन्त्रीको रूपमा छोटो समय सरकारमासमेत सहभागी हुनुभयो। त्यसपछि उहाँले लगातार पार्टीको नेतृत्व गर्नुभयो।
२०७४ साल वैशाखमा मधेश केन्द्रित पाँच दल (महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक) मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो। राजपामा उहाँले अध्यक्ष मण्डलमा बसेर नेतृत्व गर्नुभयो। जनता समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष यादव अहिले सङ्घीय संसद्को प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापति हुनुहुन्छ।
प्रस्तुत छ-सांसद राजकिशोर यादवसँग गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको ‘सांसदलाई सवाल’: