विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर २१ गते । कोशी प्रदेशका बालबालिकाहरुको श्रवणशक्ति जाँच तथा उपचारका लागि किओच दमक बाल अस्पतालले पहिलो पटक सुविधायुक्त मोबाइल अडियोमेट्री भ्यान (एम.ए.भि.) सञ्चालनमा ल्याएको छ । उक्त भ्यानको प्रयोग गरेर श्रवण परीक्षण घुम्ती सेवा पनि सुरु गरेको छ।
किन्ड एन ओर (नेदरल्याण्ड) र करुणा फाउन्डेसन नेपालको सहयोगमा किओच दमक बाल अस्पतालले नेपालमा नै पहिलो पटक मोबाइल अडियोमेट्री भ्यानको प्रयोग गरेर बालबालिकाहरु लक्षित श्रवण परीक्षण घुम्ती सेवा सुरुवात गरेको हो । यो ध्वनिरोधी सवारीसाधन भएकाले जुनसुकै ठाउँमा गएर पनि बालबालिकाको कान तथा श्रवण जाँच गर्न सकिने बताइएको छ ।
जाँचका लागि आवश्यक उपकरणहरू गाडीभित्रै जडान रहेको किओच दमक बाल अस्पतालमा डा. जयमणि श्रेष्ठले बताउनुभयो । उक्त ध्वनिरोधी भ्यान अर्थात् सवारी साधनले श्रवण मूल्याङ्कनको विश्वसनीयता बढाउने बताउनुभयो । विद्यालयस्तरमा तथा ग्रामीण क्षेत्रहरुमा कानको स्वास्थ्य जाँच कार्यक्रमहरू आयोजना गर्न यसले धेरै नै सहज हुने श्रेष्ठको भनाइ छ ।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का संस्थापक प्राध्यापक डा. भगवान कोइरालाको पहलमा विशेष गरी विपन्न बालबालिकाहरूमा श्रवण अक्षमता निम्त्याउने कानको अवस्थाहरू पहिचान गर्ने अभियान चलाउँदैछौं र यसले सहयोग पुग्ने विश्वास छ, श्रेष्ठले भन्नुभयो । मोबाइल अडियोमेट्री भ्यानको प्रयोगबाट नमुनाको रुपमा केही विद्यालयका बालबालिकाहरुको कान परीक्षण गरिसकिएको छ ।
अभियान अन्तर्गत पहिलो चरणमा विद्यालयका नर्स र शिक्षकहरूको सहयोगमा बालबालिकाहरूको पूर्व–स्क्रिनिङ गरिनेछ । थप जाँच गर्नुपर्ने अवस्थाका बालबालिकाहरुका लागि विद्यालयमा नै पुगेर मोबाइल अडियोमेट्री भ्यान प्रयोग गरी बाल अस्पतालका अडियोलोजिस्टहरूको टोलीद्वारा कान परीक्षण र श्रवण जाँच गरिनेछ ।
यसपछि थप उपचार तथा शल्यक्रिया आवश्यक भएमा बाल अस्पतालमा ल्याएर अन्य जाँच र समस्या सामधानका लागि प्रयास गरिने श्रेष्ठले जनाउनुभयो। विपन्नहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको किओच दमक बाल अस्पतालले जनाएको छ । कोशी प्रदेशका सुगम तथा पहाडी जिल्लामा जाँच अभियान तीव्र बनाइने जानकारी गराइएको छ ।
बाल अस्पताल रहेको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका पूर्व अध्यक्ष लीला गुरागाईंका अनुसार नेपालमा नै पहिलो पटक कोशी प्रदेशलाई लक्षित गरेर किओच दमक बाल अस्पतालले विभिन्न दाताहरुको सहयोगमा यस प्रकारको सेवा सुरु गरेकाले धेरै बालबालिका लाभान्वित हुने अपेक्षा लिइएको बताउनुभयो । बालबालिकाको श्रवण जाँच र उपचार यहीँ हुनु गौरवको विषय भएको उहाँको भनाइ छ ।