• ८ पुस २०८१, सोमबार

नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण

blog

निर्माणाधीन १०८ फिट अग्लो हनुमानको मूर्ति । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, मंसिर २१ गते । भारतीय र नेपाली धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति बनाउन सुरु गरेको उपमहानगरले जनाएको छ ।

सो मूर्तिको फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माले बताउनुभयो । 

उहाँले हनुमानको खुट्टा ढलानको काम सम्पन्न भएको जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका –२ बागेश्वरी मन्दिरनजिक रहेको हनुमानगढीमा १०८ फिट अग्लो अनुमानको मूर्ति निर्माण भएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाले जम्बुदिप कन्स्ट्रक्सन प्राली वसुन्धरा काठमाडौँलाई दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी निर्माणको जिम्मा दिएको छ । सो मूर्ति निर्माणका लागि १७ मार्च २०२३ मा सम्झौता भएको थियो । मूर्ति निर्माणका लागि भ्याटसहित १० करोड ११ लाख ५२ हजार ४९४ रुपियाँ २९ पैसामा ठेक्का सम्झौता भएको इन्जिनियर शर्माले जानकारी दिनुभयो । 

नेपालगन्जमा धार्मिक पर्यटन प्रवर्धनका लागि हनुमानको मूर्ति बनाउन थालिएको नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले बताउनुभयो । उहाँले भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई  एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई ‘टाइअप’ गर्ने उद्देश्यसाथ हनुमानको मूर्ति निर्माण भइरहेको बताउनुभयो । 

यसले नेपालगन्जको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने मेयर विष्टको विश्वास छ । यहाँ रहेको बागेश्वरी मन्दिर र जुँगे महादेवको दर्शन गर्न यसअघि बर्षौबाट ठुलो संख्यामा भारतीय धार्मिक पर्यटक आउने गरेका छन् । उपमहानगरका इन्जिनियर शर्माले अयोध्यासँगको आध्यात्मिक ‘कनेक्सन’ मा मूर्ति कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।