काठमाडौँ, मङ्सिर २१ गते । इङ्लिस ब्याट्सम्यान रवि बोपाराको अर्धशतकीय पारी खेलेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई जितका लागि एक सय ३१ रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो ।
चितवनका लागि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाउनुभयो । कप्तान कुशल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिनुभयो । जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो ।